मदन भण्डारीको जिप दुर्घटनाबारे कांग्रेसले उठायो प्रश्न, २५ वर्षपछि ओलीलाई नयाँ चुनौती

57

काठमाडौं, १८ चैत : प्रमुख विपक्षी दल नेपाली कांग्रेसले मदन भण्डारी सवार जिप दुर्घटनाबारेमा छानविन गर्न सरकारसँग आग्रह गरेको छ ।

कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले मदन भण्डारीको दुर्घटनामा मृत्यु भएका बारेमा सत्य तथ्य बाहिर ल्याउने उपयुक्त अवसर वर्तमान सरकारलाई रहेको सुझाव दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी ओलीप्रति लक्षित गर्दै मदन भण्डारी सवार जिप दुर्घटना र मृत्युका बारेमा सत्यतथ्य बाहिर ल्याउने योभन्दा उपयुक्त समय कहिल्यै नआउने व्याङग्य गरेका हुन् ।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीले मदन भण्डारीको जिप दुर्घटनालाई हत्या भएको भनेर २५ वर्ष अगाडि नै भनिसकेको कांग्रेस नेता लेखेकले सामाजिक सञ्जालमार्फत जनाएका छन् ।

‘महामहिम राष्ट्रपतिजीले २५ वर्षपछि मदन भण्डारीजीको दुर्घटनाबारे छानविन गर्न माग गर्नु भयो’, कांग्रेस नेता लेखकले सामाजिक सञ्जालमा लेखेका छन्, ‘घटनाको छानविन गर्न तत्काल पार्टी आयोगका अध्यक्ष रहेका वर्तमान प्रधानमन्त्री ओलीजीले यो हत्या हो र हत्यारालाई सार्वजनिक गर्ने भन्नु भएको थियो ।’

नेता लेखकले अगाडि लेख्छन्, ‘ओलीजीका लागि सत्य तथ्य सार्वजनिक गरी आफ्नो बोलीको विश्वसनीयता देखाउने अवसर आएको छ । हेरौँ उहाँका बोली कति भरपर्दा हुँदा रहेछन् ?’

मोरङ जिल्लामा भएको एक सार्वजनिक कार्यक्रममा राष्ट्रपति भण्डारीले मदन भण्डारीको जिप दुर्घटनाका बारेमा अनुसन्धान हुनेपर्ने माग गरेकी थिइन् । त्यस लगत्तै कांग्रेसले सो घटनाको छानविन गर्ने उपयुक्त समय रहेको भनेर टिप्पणी गरेको छ ।

Comments

comments