सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीलाई बालुवाटार छिर्न रोक

62

काठमाडौं, १८ चैत : नेपाली प्रहरीको नयाँ आइजीपीका लागि तीव्र दौडधुप बढिरहँदा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिस्पर्धीहरुलाई बालुवाटार प्रवेशमै रोक लगाएका छन् ।

यही चैत २९ गतेदेखि प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित १५ जना एआइजीले अवकाश पाउँदैछन् । ३० बर्षे सेवा अवधिका कारण उनीहरुले स्वतः अवकाश पाउन लागेका हुन् । नयाँ आइजीपीका लागि दुई सातामात्रै बाँकी रहँदा आइजीका दौडमा रहेका डीआइजीहरु सर्वेन्द्र खनाल, रमेश खरेल र पुष्कर कार्कीको दौडधुप पनि बढेको छ । उनीहरुले बिभिन्न शक्ति केन्द्रहरुसँग भेट गरिरहेको स्रोतको दाबी छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले भने उनीहरुलाई भेट दिएका छैनन् । आईजीपीका तीनै जना प्रतिस्पर्धीले प्रधानमन्त्री ओलीलाई भेट्न पटक पटक प्रयास गरेका छन् । तर, उनीहरुलाई बालुवाटार प्रवेशका लागि ढोकामै रोक लगाइएको स्रोतले बतायो ।

प्रधानमन्त्रीलाई भेट्न उनीहरुले विभिन्न शक्ति केन्द्रहरुमार्फत कोशिस समेत गरिरहेको उच्च स्रोतले बतायो । प्रधानमन्त्री ओलीले आफूले सही, सक्षम र सवल व्यक्तिलाई नै आईजीपी बनाउने भन्दै आफूलाई भेट्न नआउन सन्देश दिएको स्रोतले बतायो ।

आइजीपीका लागि खनाल, खरेल र काकी मुख्य प्रतिस्पर्धी भए पनि पवनप्रसाद खरेल, उत्तम कार्की, मनोज न्यौपाने, छविलाल जोशीले पनि आफूलाई प्रतिस्पर्धीका रुपमा उभ्याएका छन् ।

Comments

comments