देश विखण्डन गर्न केही आन्तरिक बाह्य शक्ति सक्रिय रहेको गृहमन्त्री थापाको भनाई

139

काठमाडौं : गृहमन्त्री रामबहादुर थापाले देश विखण्डन गर्न केही आन्तरिक तथा बाह्य शक्ति सक्रिय रहेको बताउनुभएको छ । उहाँले स्वतन्त्र मधेश , स्वतन्त्र पूर्व , स्वतन्त्र पश्चिम जस्ता उपनाम दिएर राष्ट्रलाई विखण्डन गर्न खोजिएको दावी गर्नुभयो ।

गृह मन्त्रालयद्वारा सोमबार आयोजित गृह प्रशासन सुधार कार्ययोजना सार्वजनिकीकरण कार्यक्रममा १० सुधार क्षेत्र पहिचान गरि गृहमन्त्री थापाले ८२ बुँदे सुधार योजना—२०७४ सार्वजनिक गर्नुभएको छ । उहाँले राष्ट्रको एकतालाई भङ्ग गर्न धर्म जाति , लिङ्गको विषय उठान गरिएको र मधेशबाट सिके राउतहरु देशमा अस्थिरता उत्पन्न गरिरहेको मन्त्री थापाले बताउनुभयो ।

मन्त्री थापाले सम्पूर्ण सुरक्षाकर्मी युनिटलाई राष्ट्रिय अखण्डतामाथि कुदृष्टि लाउने जो कोहीलाई तत्काल कारवाही गर्न निर्देशन दिनुभएको छ । सुधार योजना अनुसार २०७५ असार मसान्तसम्ममा हरेक स्थानीय निकायमा एक प्रहरी ईकाइ रहने व्यवस्था मिलाइने भएको छ ।

यस्तै २०७५ वैशाखदेखि सुरक्षा बाहेकका प्रयोजनमा खटिएका सुरक्षाकर्मीलाई फिर्ता समेत बोलाइने भएको छ । सुधार योजना अन्तरगत जनताको गुनासो सुन्न निशुल्क टेलिफोन लाइनको व्यवस्था गरिने छ भने दुर्घटना न्यूनीकरण गर्न राजमार्गको प्रत्येक सय किलोमिटरमा एक आराम केन्द्रको व्यवस्था गरिने भएको छ ।

Comments

comments