विराटनगर : प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशमा १ वर्षभित्र काम देखाउनेगरी योजना अघि बढाइएका छन्। प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले देश समृद्ध बनाउँछु भनेर भाषण गरिरहेका बेला राईले भने प्रदेश नम्बर १ लाई विकासको नमूना बनाउने कार्ययोजना अघि सारेका हुन्।
उद्योग संगठन मोरङका प्रतिनिधि, उद्योगी व्यवसायी, प्रदेश सरकारका मुख्य मन्त्री, मन्त्री र सचिवहरुबीच प्रदेश नम्बर १ लाई विकास र समृद्धिमा मुलुककै नमूना बनाउने विषयमा छलफल र बहस गरी उनले कार्ययोजना अघि सारेका हुन्।
प्रदेश १ का मुख्यमन्त्री राईले विज्ञहरुले तयार पारेको कार्ययोजनाअनुसार बुलेटको गतिमा काम गर्ने बताए । मुख्यमन्त्री राईले भने, ‘सबै क्षेत्रमा एकैपटक हात हालेर भन्दा पनि दुई–चार वटा योजना छनौट गरी काम अगाडि वढाउने सोचमा प्रदेश सरकार रहेको छ, त्यसैको जगमा टेकेर क्रमशः प्रदेश सरकार विकास र समृद्धिको बाटोतर्फ उन्मुख हुनेछ ।’
उनले निजी क्षेत्रलाई एउटा नमूना योजना शुरु गर्न आग्रह गर्दै भने, ‘तपाईहरु निजी क्षेत्रले यहाँ यस्तो नमूना योजनाको काम अघि बढाउनु पर्यो, कुनै नमूनाको योजना विदेशीको सहयोगमा मात्र सम्भव छ भन्ने भ्रम अब निजी क्षेत्रले चिर्नु पर्यो ।’
पाँच वर्षभित्र प्रदेश १ लाई लोडसेडिङमुक्त बनाउने योजना समेत सरकारको रहेको उनले सुनाए ।