पार्टी एकता बराबरीको अनुपातमा हुनुपर्छ – प्रचण्ड

90

चितवन, १९ चैत : नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बराबरी सिद्धान्तका आधारमा पार्टी एकता गर्नुपर्ने बताएका छन् ।

भरतपुर विमानस्थलमा सोमबार पत्रकारसँग कुराकानी गर्दै उनले भने, “पार्टी एकता सिद्धान्ततः प्रतिशतका आधारमा हुँदैन । चुनावजस्तो होइन भन्न खोजिएको मात्रै हो । बराबरी सिद्धान्तको आधारमा पार्टी एकता गर्नुपर्छ भन्न खोजिएको हो ।ु

यसले पार्टी एकतामा अप्ठ्यारो पर्ने स्थिति नभएको बताउँदै उनले एकपटक छलफल गरेपछि सबै कुरा टुङ्गिने स्पष्ट पारे । प्रधानमन्त्रीको भारत भ्रमणअघि पार्टी एकता सम्भव नभएको बताउँदै अध्यक्ष दाहालले कार्यदलले दिएको प्रतिवेदनअनुसार नै आगामी वैशाख ९ गते पार्टी एकता हुने ठोकुवा गरे ।

अध्यक्ष दाहालले मंगलबार पार्टी एकता संयोजन समितिको बैठकमा दुईवटै कार्यदलको प्रतिवेदन औपचारिक ढंगले प्रस्तुत हुने जानकारी दिँदै संयोजन समितिमा मंगलबारदेखि नै प्रतिवेदनलाई अन्तिम रूप दिनका लागि छलफल शुरु हुने बताए ।

फरक प्रसंगमा उनले प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा केही छलफल भएको बताउँदै भने, “यस बारेमा पनि मंगलबार संयोजन समितिमा छलफल हुन्छ ।” पत्रकारले “तपाईंको सम्पर्क कार्यालयमा नेकपाले वारेन्ट पूर्जी जारी गरेको छ नि ?” भन्ने प्रश्नमा अध्यक्ष दाहालले भने, “यो वाहियात कुरा हो, जवाफ दिन चाहन्न ।”

Comments

comments