‘जनयुद्ध’ र ‘बराबरी’ बाधक १ एकता समितिको बैठक आज

114

काठमाडौँ : ‘जनयुद्ध’, चुनाव चिह्न र भागबन्डामा सहमति जुट्न नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण अगावै गर्ने तयारी गरिएको एमाले–माओवादी केन्द्रबीचको पार्टी एकता पर धकेलिने भएको छ । मंगलबार अपराह्न बस्ने पार्टी एकता संयोजन समिति र दुवै कार्यदलको संयुक्त बैठकले नमिलेका विषय टुंग्याउने र ९ वैशाखमा पार्टी एकता गर्ने तयारी गरिरहेको कार्यदलका सदस्यले जानकारी दिए ।

खासगरी विधानको प्रस्तावनामा ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने भन्नेमा सहमति जुट्न नसकेको एमाले पोलिट्ब्युरो एवम् कार्यदलका सदस्य वेदुराम भुषालले जानकारी दिए ।
“राजनीतिक प्रतिवेदनमा जनक्रान्ति शब्द राखेपछि जनयुद्ध राख्नुपर्दैन भन्ने धारणा हो,” उनले भने, “यसलाई पार्टी एकता संयोजन समितिले टुंग्याउँछ ।”
एकीकृत पार्टीको पहिलो विधान भएकाले ‘जनयुद्ध’ शब्द राख्नुपर्ने अडान माओवादीको भएकाले विधान मस्यौदामा सहमति जुट्न नसकेको भुसाल बताउँछन् ।

चुनाव चिह्न के ?

विधान मस्यौदामा एकीकृत पार्टीको चुनाव चिह्न के राख्ने भन्ने विषयमा पनि कार्यदलका सदस्य एकमत हुन सकेका छैनन् ।

सात बुँदामा हस्ताक्षर हुनुपूर्व सूर्य चिह्नमै चुनाव लड्न माओवादी केन्द्र राजी थियो । तर १७ असोजमा हस्ताक्षर हुँदा सूर्य चिह्नमा चुनाव लड्ने बुँदा हटाइयो र दुवै पार्टी आ–आफ्नै चुनाव चिह्नमा चुनाव लडे ।

अहिले विधानमा पनि त्यही विषय पेचिलो बनेको छ । “हामीले जनतामा स्थापित भइसकेको सूर्यलाई नै चुनाव चिह्न राखौँ भनेका छौं, उहाँहरूले सूर्यभित्र हँसिया हथौडा पनि अटाऔँ भन्नुभएको छ । विकल्पमा तेस्रो चुनाव चिह्नको कुरा पनि उठेको छ, यही विषयले एकता अल्झाउँदैन ।”

नेतृत्वमा बराबरी

एकीकृत पार्टीमा केपी शर्मा ओली र पुष्पकमल दाहाल दुवै सहअध्यक्ष रहने, ओलीले सरकार सञ्चाल गर्ने र प्रचण्डले पार्टी सञ्चालन गर्ने, बैठकको अध्यक्षता आलोपालो गर्ने समझदारी यसअघि नै भइसकेको छ ।

चुनावी भागवण्डाको अनुपातको आधारमा नभइ बराबरीको सिद्धान्तमा आधारित रहेर केन्द्रीय कमिटीको संख्या टुंग्याउनुपर्ने तर्क माओवादी केन्द्रले गरेको छ । २९९ को केन्द्रीय कमिटी र दश तहका कमिटीको खाका विधानले कोरेको छ । केन्द्रीय कमिटीमा आधाआधा प्रतिनिधित्व हुनुपर्ने अडान माओवादी केन्द्रले लिएकाले यसविषयमा सहमति हुन बाँकी रहेको कार्यदलका सदस्यले जानकारी दिएका छन् ।

सकेसम्म मंगलबार बस्ने कार्यदलको बैठकले टुंग्याउने र कदाचित विषय किनारा नलागे प्रधानमन्त्रीको भ्रमण पछाडि ९ या १० वैशाखमा पार्टी एकता गर्ने गरी टुंग्याउने कार्यदलका सदस्यले जानकारी दिए ।

Comments

comments