मयूर यातायातको रुट विरुद्ध यातायात व्यवसायीको विरोध, देशैभरको यातायात ठप्प पार्ने चेतावनी

64

काठमाडौं : बनेपा–चक्रपथ रुटमा मयुर यातायातका २४ वटा बसले पाएको रुट इजाजतविरुद्ध सिन्डिकेटमा सवारी चलाउँदै आएका त्यस क्षेत्रका विभिन्न यातायात समितिले विरोध जनाएका छन् ।

कोटेश्वरपूर्व यातायात समन्वय समितिले यसैको विरोधमा बुधबार बिहानैबाट समितिमा आवद्ध १३ वटा समितिका सवारी साधन चलाएको छैन ।

उक्त रुटमा यातायात व्यवस्था कार्यालय बाग्मतीले सवारी साधनको संख्या र यात्रुको चापको निरीक्षण नै नगरी कार्यालयले मयूरलाई रुट इजाजत दिएको भन्दै उनीहरुले आपत्ति जनाएका हुन् ।

त्यस रुटमा मयूर यातायात सञ्चालन भएपछि सिन्डिकेटमा सवारी साधन चलाउँदै आएका यातायात व्यावसायीहरुको वर्षौंदेखिको एकाधिकार तोडिने भन्दै विरोध जनाएको यातायात व्यवस्था विभागका एक अधिकृतले बताए ।

“मयुर होस् वा अरु जुनसुकै कम्पनी होस्, छिटो, छरितो, यात्रुमैत्री र सरकारले तोकेको भाडादरमा जुनसुकै रुटमा पनि सवारी साधन सञ्चालन गर्न पाइन्छ,” विभागका महानिर्देशक रुपनारायण भट्टराईले भने, “अब विभागको पञ्जीकरणबिना रुट इजाजत पाइँदैन ।”

व्यावसायीहरुले रुट इजाजतका लागि विभागमा पञ्जीकरण गराउने व्यवस्था आफूहरुलाई ठिक नलागेको र व्यावसायीहरुलाई हित हुनेगरी यस व्यवस्थाको संशोधन हुनुपर्ने माग गरेका छन् ।

मयूर यातायातले सम्पूर्ण सरकारी प्रक्रिया पूरा गरी रुट इजाजत पाए पनि सिन्डिकेटमा सवारी साधन चलाउँदै आएका त्यस रुटका यातायात समितिहरुले विरोध जनाएकाले भक्तपुर, दुवाकोट, चाँगुनारायण, झौखेल, छालिङ, सिपाडोल, बागेश्वरी, तेलकोट, नगरकोट, सिपाडोल डोलेश्वर, बालकोट सिरुटार, च्यामासिङ, ताथलीलगायत भक्तपुरका ग्रामीण रुटमा सञ्चालित यातायात सेवा बुधबार बिहानैबाट पूर्ण प्रभावित बनेको छ ।

उनीहरुले वर्षौंदेखिको आफ्नो एकाधिकार हट्ने भएकाले मयुर यातायातले पाएको रुट इजाजत तत्काल खारेज गर्न माग राख्दै बुधबार बिहानैबाट कोटेश्वरपूर्व समन्वय समितिमा आवद्ध १३ वटा समितिले कोटेश्वरपूर्वबाट छुट्ने सवारी साधन नचलाएका हुन् ।

“हामीले हाम्रा समितिका गाडीहरु ग्यारेजमा थन्क्याएका छौं,” समन्वय समितिका अध्यक्ष बलराम त्वनाबासुले भने, “हाम्रो माग पूरा नभएसम्म चलाउँदैनौं ।”

मयुर यातायातलाई चक्रपथ रुटमा चल्न दिने तर चक्रपथबाहिर र कोटेश्वरपूर्व चल्न नदिने भन्दै विरोधमा उत्रिएको समन्वय समितिका अध्यक्ष त्वनाबासुले बताए ।

यसका साथै सवारी साधनले पाउने रुट इजाजतसम्बन्धी नयाँ कार्यविधिविरुद्ध पनि उनीहरुको असहमति रहेको छ ।

विभिन्न स्थानमा खुलेका यातायात समितिहरुले सवारी साधनलाई आफूखुसी रुट इजाजत दिँदा भाडादर वैज्ञानिक नहुने, यात्रुको चापअनुसार सवारीको संख्या नमिल्ने र यात्रुले सहज रुपमा सवारी साधन उपयोग गर्न नपाएकाले रुट इजाजतमा कडाइ गरिएको विभागको भनाइ छ ।

अब कम्पनीमा दर्ता गराएपछि र यातायात व्यवस्था विभागमा पञ्जीकरण गराएपछि मात्र सवारी साधनहरुले रुट इजाजत पाउने नयाँ व्यवस्था लागु गरिएको विभागका निर्देशक तुलसीराम अर्यालले बताए ।

“सरकारले जारी गरेको कार्यविधि मान्दिनँ भन्नु, सरकारी नियमविरुद्ध उत्रिनु अराजक गतिविधि हो,” अर्यालले भने, “विभागको नयाँ व्यवस्थाअनुसार सवारीको रुट इजाजतका लागि विभागमा आवश्यक कागजातसहित अनिवार्य पञ्जीकरण गराउनुपर्नेछ, हामी यातायात समितिहरुलाई चिन्दैनौं ।”

यातायात व्यावसायीहरुले भने यातायात व्यवस्था विभागलगायत व्यवस्था कार्यालयका सरकारी कर्मचारीले आफूहरुले तिरेकै करबाट तलब खाने गरेको तर हाल आएर व्यावसायीलाई हित नपुग्ने गरी नियम बनाएको दाबी गरेका छन् ।

“हामीले तिरेको करबाट तलब खाने तर हामीलाई नै फाइदा नपुग्ने गरी नियम बनाउने ?,” त्वनाबासुले भने, “मयूर यातायातले कोटेश्वरपूर्व पाएको रुट तत्काल खारेज हुनुपर्छ र व्यवसायीको हित हुने गरी रुट इजाजतको व्यवस्था गरिनुपर्छ ।”

यातायात व्यावसायीहरुले सरकारले आफ्ना माग पूरा नगरे देशैभरका सार्वजनिक यातायात ठप्प पार्ने चेतावनीसमेत दिएका छन् ।

बुधबार काठमाडौंमा नेपाल ट्रक व्यवसायी महासंघ, नेपाल ट्याङ्कर व्यवसायी महासंघ, नेपाल टिपर व्यवसायी महासंघ र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघको छलफल बसी सवारी साधनले पाउने रुट इजाजतका विषयमा छलफल गरी थप कार्यक्रमको तयारी गरिने महासंघका अध्यक्ष योगेन्द्र कर्मचार्यले बताए ।

Comments

comments