बैशाखबाट जलमार्गबारे अध्ययन, यातायात क्षेत्र उद्योगको रुपमा विकसिन गरिने

75

काठमाडौं : भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जलमार्ग निर्माणबारे एक साताभित्रै विशेष महाशाखा बनाएर सम्भाव्यता अध्ययन सुरु गर्ने स्पष्ट पारेका छन् । उनले भने, ‘प्रधानमन्त्री केपी शर्मा ओलीको पानीजहाजको सपना साकार हुन्छ, हामी एक हप्ताभित्रै जलमार्ग निर्माणबारे सम्भाव्यता अध्ययन सुरु गर्छौं, आउने बैशाखबाटै सम्भाव्यता अध्ययनबारे महाशाखा बनाएर काम थाल्छौं, यो नेपालीहरुको लागि ठूलो उपलब्धि हो ।’

भने, ‘प्रधानमन्त्रीको भारत भ्रमणको दौरानमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले मिडियासामू सगरमाथाको देशमा सागरको पहुँच पुर्याउँछु भन्नुभयो, उहाँले सार्वजनिक रुपमै बोल्नुभएको छ।’

भारत भ्रमण दलका सदस्य समेत रहेका मन्त्री महासेठले प्रधानमन्त्री ओलीको भ्रमणको क्रममा दुवै प्रधानमन्त्रीले अहिलेसम्म भएका सन्धि÷सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएकोले आफूहरु भारतसँग भएका सम्झौताहरु कार्यान्वयन हुन्छ भन्नेमा विश्वस्त रहेको सुनाए ।

मन्त्री महासेठले रेलमार्ग र जलमार्ग बनाउनेबारे भारतसँग भएको सहमतिलाई ठूलो उपलब्धिको संज्ञा दिए । कृषि क्षेत्रमा पनि द्धिपक्षीय साझेदारी गर्नेबारे यो पटकको भ्रमणमा कुरा भएको उनको भनाइ थियो ।

उनले आफूहरुले भ्रमणको दौरान भारतसँग राष्ट्रिय हित, सार्वभौमसत्ता, राष्ट्रिय एकता, अखण्डता र स्वतन्त्रतालाई ध्यानमा राखेर सहमति गरेको स्पष्ट पारे । भ्रमणको अवधिमा प्रधानमन्त्री ओलीले सबै कुरा उठाएको उनले सुनाए । उनले भ्रमणमा ‘क्रस–बोर्डर क्राईम’, पशुपति, कालापानी लगायतका विषयमा कुरा भएको जनाए ।

उनले टकनपुरको सवालमा २२ वर्षसम्म पनि १।२ किलोमिटर सडक बनाउन नसक्नु बिडम्बना भएको गुनासो आफूहरुले भारतीय पक्षसँग राखेको जनाए । उनले थपे,‘भारतमा प्रत्येक दिन २६ किलोमिटर सडक निर्माण भैरहेको छ ।’

जयनगर–जनकपुर, जनकपुर–बर्दिवास, बर्दिवास–बिजलपुरा, बिजलपुरा–सिमरा रेलमार्गको डिपीआर सम्पन्न भएको उनले सुनाए । महासेठले थपे, ‘सन् २०१८ भित्र जयनगर–जनकपुर–बर्दिवासमा रेलमार्ग निर्माण सम्पन्न गर्छौं, रेल आउँछ, अर्को साल बर्दिवास–बिजलपुरा, अर्को साल बिजलपुरा–सिमरा निर्माण सम्पन्न गर्छौ।’ त्यस्तै मेची–महाकाली पूर्व–पश्चिम रेलमार्गको डिपीआर सम्पन्न गर्ने चरणमा रहेको सुनाए ।

त्यस्तै पानी ट्याँकी–जलपाईगुडी, जोगबनी–विराटनगर, नेपालगन्जरोडदेखि नेपालगञ्जसम्म जोड्ने दोस्रो फेजमा डिपीआर हुने उनले जनाए ।

त्यस्तै उनले यातायातमा व्याप्त रहेको सिण्डीकेटले बस व्यवसायी, यात्रु र सरकार कसैलाई पनि फाईदा नभएको सुनाए । उनले भने, ‘सिण्डिकेट रोक्न सरकारले पहल गरेको छ, हामीले सिण्डकेट खारेज गर्न निर्देशन दिईसकेको छ, अझ हामीले भन्दापनि सर्वोच्चको निर्णयबाट सिण्डिकेट खारेज गरेको हो ।’ सिण्डिकेटका कारण बस मालिकहरु नै मार्कामा परेको उनको भनाई थियो ।

सिण्डिकेटका कारण देशमा राजश्व पनि नआएको बताउँदै महासेठले भने, ‘हामी अब यातायात क्षेत्रलाई उद्योगजस्तै रुप दिन चाहन्छौं, व्यवसायीहरुलाई प्रतिफल मिलोस् भन्ने हाम्रो चाहना छ ।’ उनले आफूहरुलाई व्यवसायीहरुबाट सहयोग प्राप्त भएको पनि जनाए ।

Comments

comments