यस्तो छ मोदीको नेपाल भ्रमणको कार्यतालिका

74

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २२,काठमाडौँमा। प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको दुईदिने राजकीय भ्रमणमा यही वैशाख २८ गते काठमाडौं आउने भएका छन् ।

प्रधानमन्त्री मोदीलाई सोही दिन स्थानीय टुँडिखेलमा विशेष समारोहमा स्वागत गरिनेछ । भ्रमणका क्रममा प्रधानमन्त्री मोदीले राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुनसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सोही दिन प्रधानमन्त्री ओलीले आफ्ना भारतीय समकक्षीसँग औपचारिक वार्ता गर्दै पारस्परिक हितका विविध विषयमा विचार आदान प्रदान गर्नेछन् । साथै दुवै प्रधानमन्त्रीले संयुक्त रूपमा अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास गर्नेछन् ।

भारतका प्रधानमन्त्री मोदीसँग परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले शिष्टाचार भेट गर्नेछन् । नेपालमा रहँदा प्रधानमन्त्री मोदीले जनकपुर र मुक्तिनाथको भ्रमण गर्नेछन् । साथै काठमाडौँ महानगरपालिकाले काठमाडौँमा र जनकपुर उपमहानगरपालिकाले जनकपुरमा उहाँको नागरिक अभिनन्दन गर्नेछन् । प्रधानमन्त्री मोदीको यो तेस्रो नेपाल भ्रमण हो । सन् २०१४ मा उनी दुई पटक नेपालको भ्रमणमा आएका थिए ।

मोदीको भ्रमणलाई लिएर जनकपुर पोखरा र मुस्ताङमा तयारी तिवै पारिएको छ । मोदीले मुक्तिनाथको दर्शन गर्दै केही समय पोखरामा बिताउने छन् । केही समय पोखरा आउने कुरा सँगै पोखरामा उच्च सुरक्षा व्यवस्था गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताएका छन् ।

मुक्तिनाथ दर्शनका क्रममा प्रधानमन्त्री मोदी पोखरा आउने र केही समय भारतीय पेन्सन क्याम्पमा बस्ने छन् । मोदीको मुक्तिनाथ दर्शनलाई लक्षित गरी मुस्ताङमा प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलको संयोजकत्वमा तीनवटै सुरक्षा निकायका प्रमुख रहनुभएको सुरक्षा समितिले उच्च सुरक्षा प्रबन्धको काम शुरु गरिसकेको छ ।

भ्रमणलाई लक्षित गरी सरसफाइ, स्वागतद्वार निर्माण जस्ता कामलाई अघि बढाइएको छ । इतिहासका पाना पल्टाउने हो भने यसअघि सन् १९६१ मा बेलायती महारानी एलिजाबेथ द्वितीयाले भ्रमण गर्नुभएको पोखरामा सन् १९६३ मा भारतीय राष्ट्रपति सर्वपल्ली राधाकृष्णनले पनि यहाँको भ्रमण गरेको पाइन्छ ।

२०७२ चैत १ गतेदेखि ४ गतेसम्म पोखरामा सञ्चालित सार्क मन्त्रिपरिषद् बैठक ९मिनी सार्क सम्मेलन० मा सहभागी सार्क राष्ट्रका विशिष्ट पाहुनाले निकै अभिरुचीपूर्वक हेरिएको पोखरामा र त्यसको लगत्तै बेलायती राजकुमार ह्यारी २०७३ जेठ ८ गते पोखरा आएका थिए ।

सार्क मन्त्रिपरिषद्को बैठकमा आएका सार्क राष्ट्रका विशिष्ट पाहुनाले मुक्तकण्ठले पोखराको प्रशंसा गरेका थिए । भारतीय विदेशमन्त्री शुष्मा स्वराजले भगवानले फुर्सदमा बनाएको ठाउँका रुपमा पोखराको चर्चा गरेकी थिइन् ।

राजकुमार ह्यारीको भ्रमणपछि भारतीय राष्ट्रपति प्रणव मुखर्जी २०७३ कात्तिक १९ गते पोखरा आएका थिए । भारतीय पेन्सन क्याम्पमा नेपाली भूतपूर्व भारतीय गोर्खा सैनिकलाई गरेको ११ मिनेटको सम्बोधनको शुरुमा नै राष्ट्रपति मुखर्जीले पोखराको सुन्दर नगरीको अवलोकनका लागि अवसर जुट्नु आफ्ना लागि सन्तोषको विषय भएको बताएका थिए ।

उता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आसन्न जनकपुर भ्रमणलाई लिएर त्यहाँ पनि तयारी गरिएको छ । आठ वटै जिल्लाको सीमा क्षेत्रमा सतर्क भएर बस्नका लागि सुरक्षा निकायलाई निर्देशन दिइएको छ । होटल र लजमा निगरानी राखी भारतबाट नेपाल तथा नेपालबाट भारततर्फ जाने यात्रु र सवारी साधनलाई निगरानी गरी जाँच गर्नेबारे छलफल भएको जानकारी दिए ।

Comments

comments