नाचगान गरेर जुटाएको पैसाले सामुदायिक भवन

142

२०७५ बैशाख २५,बाबियाचौर, म्याग्दी। म्याग्दीको धौलागिरि गाउँपालिका–६, मराङको कुम्रीमा महिलाले नाचगान गरेर जुटाएको नगद परिचालन गरेर सामुदायिक भवन निर्माण गरेका छन् ।

प्रगतिशील आमा समूहमा आबद्ध महिलाले रु ३० लाखको लागतमा तीनकोठे भवन निर्माण गरेका हुन् । प्रवासबाट गाउँमा आएका लाहुरेलाई स्वागत, विवाह, छेवार, व्रतबन्धको अवसरमा नाचगान गरेर जुटाएको नगद परिचालन गरेर भवन निर्माण गरिएको समूहकी अध्यक्ष रत्नकला जुक्जालीले जानकारी दिनुभयो ।

अध्यक्ष जुक्जालीका अनुसार समूहको कोषबाट रु १० लाख ८२ हजार ३२१, गाउँपालिका, वडा, जिल्ला समन्वय समिति, सांसद विकास कोष र प्रवासीको रु नौ लाख ७६ हजार २५ र ४५ घरधुरीले ३० दिनका दरले रु नौ लाख ५० हजार बराबरको श्रमदानमा भवन निर्माण भएको हो ।

भवन परिसर घेराबारका लागि चालू आर्थिक वर्षमा गाउँपालिकाले रु तीन लाख ५० हजार उपलब्ध गराएको थियो । यसैगरी प्रवासमा रहेका मराङका बासिन्दाले रु तीन लाख २६ हजार २५ सहयोग गरेका छन् । भवन परिसरमा गाउँपालिका र वडाको थप रु दुई लाख अनुदानमा सार्वजनिक शौचालयसमेत निर्माण गरिएको समूहकी सचिव टकमती पुनले जानकारी दिनुभयो ।

आमा समूहले मराङमा प्रवासबाट गाउँमा आएका लाहुरेलाई सांस्कृतिक कार्यक्रम गरेर स्वागत गर्छन् । यसैगरी विवाह, छेवार, व्रतबन्धमा परम्परागत खेली गीत, पुख्यौली नाच र भजनकीर्तन गर्छन् । गाउँमा कसैको मृत्यु भएमा किरिया कर्ममा आमा समूहले सघाउँछन् । भोज भतेरका लागि भाँडा भाडामा लगाउँछन् ।

आमा समूहले भवनको दुईवटा कोठा वडा कार्यालय सञ्चालनका लागि उपलब्ध गराएका छन् । संस्कृति संरक्षण, विकास निर्माण र विकृति न्यूनीकरणमा आमा समूहको प्रभावकारी भूमिका रहेको वडाध्यक्ष राजाराम सुवेदीले बताउनुभयो । उक्त भवनको सोमबार पूर्व सांसद नवराज शर्माले उद्घाटन गर्नुभयो ।

“सरकारी निकायको न्यून सहयोगका बाबजुद दुर्गम गाउँका महिलाले नाचगान गरेर जुटाएको नगद परिचालन गरेर सामुदायिक भवन बनाई विकासमा नमूना काम गरेका छन्” शर्माले भन्नुभयो ।

गाउँपालिकाका उपाध्यक्ष रेशम छन्त्याल र प्रमुख प्रशासकीय अधिकृत अर्जुन शर्माले सामाजिक रुपान्तरणका लागि आमा समूहसँग सहकार्य गरिने बताउनुभयो।

Comments

comments