‘कथामाण्डु -एक स्मृती’

71

चार बजे अघिनै पुर्याउछु भने पनि कोटेश्वर ओर्लदा बेलुकीको पाँच बजिसकेको थियो।
देशकै केन्द्र, जहाँ जिन्दगी बनाउने र भत्काउनेहरू त्यहि भेटिन्छन् । देश बनाउने र भत्काउनेहरू पनि त्यहि भेटिन्छन् । अझ आमाको नाङ्गो नाच हेर्नेदेखि ब्यक्तिगत हितकोलागि राष्ट्रघाती सम्झौता गर्नेहरू सम्म, भाउ नपाएर साउ गुमाउनेहरू, हाकाहाकी लुटेर साहु बनेका भुसधोक्रेहरू, माइक्रोको खलेदेखि म्यानपावर दले सबै भेटिने ठाउँ रहरै रहरको सहर काठमाण्डु उर्फ कथामाण्डु ।
व्यंग्यात्मक संज्ञा धुलोमाण्डु पनि भन्ने गर्छन् कोहि । देशको राजधानी अर्थात महानगरको पहिचान, बिशेषता, शोभा या श्रृङ्गार जे भने पनि धुलो ।

हायसबाट ओर्लने बित्तिकै एउटा गुदपाकवाला हाजिर भए । “सर ! गुदपाक, चिजबल्स, पानी, पुस्तकारी केहि लिनुहुन्छ ?”
आफूले सानोतिनो काम गर्न परे इज्यत र प्रतिष्ठा हेर्ने तर अरूले गरेको चाहि भाडा माझ्ने होस् या कपाल काट्ने, श्रमको सम्मान गर्नु पर्छ भन्ने नेपालीमध्य म पनि पर्छु ।
पकेट मार्ने, देहब्यापार गर्नेहरू पनि छन् तर आफ्नो जाँगर र विवेकले पानी र पुरी बेचेर गुजारा चलाउनेहरू सम्माननिय हुन् ।
एउटा पानी दिनुस् ! बोतलको कति ?
जवाफ आयो -रू २५/-
बाफ्रे ! जलश्रोतमा विश्वको दोस्रो धनि देश जहाँ एक लिटर पिउने पानीको मुल्य पच्चीस रूपैया ।
दूई दिनमा एक पटक पिउने पानी डेलिभरी लिने हाम्रो घर त्यसैले पानीको मुल्य बारे मलाई थाहा थियो । २० लि. जारको रू ५०/-, १२ लिटर कार्टुनको रू १२०/- । यशर्थ, प्रति बोतल पानीको बिक्री मुल्य रू १० पर्न जान्छ तर तिनले खाएको नाफा देखेर हैरान ।
फ्रान्श, टर्की, अस्ट्रेलियाले जस्तै नेपालले पनि विभिन्न गुणस्तरको पानी अन्य मुलुक निर्यात गर्न सके नेपालको आर्थिक स्तर यति माथि पुग्ने थियो कि चादीकै चप्पल लाएर हिड्ने हैशियत बन्ने थियो प्रत्यक नेपालीको । विडम्बना जलस्रोतमा विश्वकै दोस्रो धनी देश तर विजुली मात्र हैन पिउने पानी पनि विदेशबाटै आयात हुन्छ ।
कोशी, कर्णाली, गण्डकी, भेरी, राप्ती छन् भन्नु मात्रै शुन्य छ प्राप्ती । धानखेतमा खडेरी, बस्तीमा भलबाढी भारतराई उपलब्धी ।

पैसा फिर्ता लिएँ अनि नयाँ बसपार्क जाने बस कुर्न थालेँ ।
एउटा ठिटो चिच्याए “शाहुजी यो माक्सको कति ?”
३५० हो भाई ।
राम राम ३५० ! ३५० मा त एउटा भेस्ट पो आउँछ । नाथे एउटा मुख छोप्ने माक्सलाई पनि ३५० रे !
ठिटो जंगिनु स्वभाविक हो । मौका मिल्ने बित्तिकै चौका छोप्ने कालोबजारी ब्यापारीहरू टन्न चौरीको रगत चुसेर ढाडिएको खरी जुगा जस्ता भएकाछन् ।
अर्कोले कुरा थपे, ३५० ले त नेवारी होटलमा ऐला-छोएला पो आउँछ ।”
सरकारले भुस्याहा कुकुरलाई जसरी गोली ठोकेर मारे पनि दश लाख क्षतिपुर्ती त दिने गरेको छ त । सरकारी मोल दश लाख तोकिएको ज्यानले नाथे ३५० रूपैया को के लोभ गरेका होलान् ! ज्यानभन्दा ठूलो ३५० पनि त हैन ।

चाबेल, चक्रपथ, सामाखुशी, गोङ्गबु, कलङ्की, ओ दाई जाने हो ?
सोधेँ ” नयाँ बस पार्क जानु छ सिट खाली छ ?”
बाह्र छत्तिस मान्छे कोचाकोच यात्रा त्यसैले बसभन्दा ट्याक्सीबाट यात्रा गर्न मन पराउँछु म ।
एउटी मित्रले नेपाल यातायातको बसबाट अफिश आउने जाने गरेको कुरा केही महिना अघि सुनाइन् त्यस बेलादेखि काठमाण्डु टेक्ने बित्तिकै नेपाल यातायातको बस सम्झन्छु ।
खै कुन्नी, त्यो बस कुन यातायात समीतिको थियो । बीच भागमा रहेको खाली सिटमा गएर बसेँ । एक-एक गर्दै बस भरियो, पेरूङ्गोमा सुँगुरको पाठो चेप्टिएझैं यात्रुहरू च्यापिन थाले ।
भाडा दिने ठाउँमा एउटा केटो आत्तिए । खल्तीमा भको पैसा कुन सइदुवाले सुइकाईदिएछ बिचराले थाहै पाएनछन् । बसभित्र हल्लाखल्ला भयो । त्यतिकैमा एउटी युवतीले फोन बोल्दै गर्दा दूईजना केटाहरूले आफ्नो ह्याण्ड ब्याग खोसेर भागेको अनुभव सुनाउँन थालिन् । यसो ति युवती तर्फ फर्केर हेरेको, रूप रंग मिलेको मिनिस्कर्ट छोटा छोटा, नितम्ब मोटा मोटा हेर्दै खाइलाग्दी रहेछिन् ।
धन चोरहरू ब्याग तान्छन्, यतिकी खाइलाग्नी केटीलाई मनचोर मर्दले त सिधै हात तान्छ नि !
तिनको ओठ र नितम्ब हेरेर मर्दवाला कल्पना गर्नु अगावै झल्यास्स सम्झेँ, हैट् साउनको महिना पो होत । यस्तो फोहरी सोचले शिवजी रिसाएर मरे पछि चित्रगुप्तको अदालती कठघरामा उभ्याए भने ! मरेपछि पनि दु:ख भोग्नुभन्दा तिन तिघ्रा नहेरेकै बेश, पुन: यथास्थितीमा फर्किएँ ।

बाटोको खानाले पेटामा समुन्द्री ज्वारभाटा उर्लिरहेथ्यो, हतार हतार मामाघर दोडदै थेँ, बिजीमल अगाडी काँधमा बच्चा च्यापिरहेकी एउटी महिलाले मलाई विदेशबाट फर्केको भन्ठानेर मेरो छेउ आएर भन्न थाली, “शाहेव दूई दिनदेखि मेरा बच्चाले केही खाएका छैनन्, रियाल, दिराम, डलर जे छ दिनोस न ! हजुरले राम्री अप्शरा जस्ती जोडी पाउँनु हुनेछ ।” त्यनिनै बेला उनको छोरो पनि आएर मेरो खुट्टा समातेर घोप्टिन थाल्यो, तिनीहरू प्रति दया जाग्यो पेट पनि काटिरहेको छ जतिसक्दो त्यहाबाट दौडेँ मामाघरतिर ।
“ठूलो बाबाले बोलाउँनु भएको छ यता आउनुस् रे !” बहिनीले फोन गरी ।
आमा पछिको मामा उसै त विदेश जान लागेको भान्जो मानसम्मान मेजमान, मामाघर जिन्दावाद ।
खानपान पछि गनथन शुरू भो । परिचयपत्रमा हिन्दु उल्लेख गरिए पनि हाम्रो संस्कार छुट्टै छ ।
न हाम्रो हजुरमाहरूले तीजको ब्रत बस्नु भयो न त आमाहरूले दर नै खानु भयो तर मामाको छोरीहरूको हरीयो चुरा मोह बेजोड्को ।
संस्कृती र चाडबाड राष्ट्रको परिचय जसले हर्षोल्लास मात्र हैन सामाजिक एकता पनि स्थापित गराउँद छ । तर बर्तमान नेपाली समाजमा अर्थात् हरीयो, पहेलो रंग र दर खाने ढंग(चलन) एक भयानक बिकृती बन्दै गएको छ भन्दा कसैको दूईमत नहोला ?
समाजमा बिकशित बन्दै गएको चाडबाड मनाउँने भड्किलो तरिकाले कमजोर आर्थिक हैशियत हुनेहरूलाई पिरोलेको छ । फलत: धर्म परिबर्तनको कारक बन्न पुगेको छ ।
तथ्याङ्क अनुसार १ रूपैयाको सामान निर्यात गरेर ९ रूपैयाको सामान आयात गर्ने देश हाम्रो प्रतिब्यक्ती ऋण र ब्यापारघाटा चुलिदो छ ।
साउन महिना/ तीजमा प्रयोग गरिने हरीयो चुरा, मेहेन्दी रंग र पहेलो वस्त्र स्वदेशी उत्पादन हैनन् सब आयातित हुन् । यदि मेरो आँकडा सही छ भने एक करोड ५२ लाख नेपाली महिलाले बार्षिक २५ रूपैयाको मात्र मेहेन्दी लाउँदा पनि एक अर्ब १४ करोड नेपाली रूपैया विदेशिन्छ । अब आफै सोचौँ, हाम्रो परम्परा मान्ने आधुनिक शैली राम्रो कि नराम्रो ? धेरै नलेखौँ, पहिचान र अग्राधिकारको वकालत गर्ने आधुनिक नारिवादले घोक्रेठ्याक लाउछन्, डरै पो मान्नु पर्छ ।

पाहुना कोठा, पुस्तेनी उडुस, मरेको किरामा कमिलाको तातीझैं उडुसको मलामीले गर्दा रातभर जाग्राम परियो ।
भोलीपल्ट साथीले बोलाएको बहाना पारेर होटलमा कोठा बुक गरेँ ।
नबुझेको कुरो, मासु चाहि स्वादिष्ट पकाउँने होटलहरूले दाल चाहि किन हात धोएको पानी जस्तो खानै नहुने पकाउँछन् ? दाल मीठो पकायो भने मासु बिक्दैन भनेर तिनीहरूको ब्यापार नीति हो कि ?
भोलीपल्ट मध्यान्न १२:१० मा कोठा छोड्दा रूम चार्ज दोब्बर भैसकेछ । १० मिनेटको पनि फुल चार्ज तिर्नु पर्यो । देशको कानुन, सर्बोच्चको फैशला त उल्लंघन हुने, कार्यान्वयन नहुने देशमा होटलवालाहरूको काउण्टरे नियम चाहि मान्नै पर्ने ?
होटलबाट फर्कदै गर्दा कान्तिपुरमल अगाडी हिजोकै माग्ने महिला भेटिइन्, हिजोकै डायलग दोहोराइन्, तिनको छोरो पनि हिजोकै जसरी खुट्टा समातेर घोप्टिए । त्यतिबेला थाहा भयो, माग्नेहरूको पनि कसरी माग्नु पर्छ भन्ने आ-आफ्नो रेडिमेड फर्मुला हुदोरहेछ ।
सडकमा नोट माग्ने र मञ्चमा भोट माग्नेबीच औकात र हैशियत मात्र फरक तर नियत र तरिका उस्तै, बनावटी रेडिमेड कहानी र भाषण सुनाएर सोझा सिधा जनता लुट्ने ।

काठमाण्डु भन्ने बित्तिकै हजारौं कथाहरू देखिन्छन्, भेटिन्छन् यशर्थ मैले कथामाण्डु भन्ने गरेको छु ।
अग्ला अग्ला घर, सडकजाम माले किराझैं लहर, धुलैधुलो, उत्ताप गर्मी, फ्यात्त कुहिएर ह्वास्स गन्हाउँने फोहर, घरमालिकको करकर, रित्तो खल्ती अनेकन रहर, स्वास्नीको गनगन, संरचनाको भग्नावशेष जस्तो मन, धारामा पानी बन्द, जिन्दावाद र मुर्दावाद, बेला बेलाको नेपाल बन्द, गुण्डालाई हप्ता, कार्यकर्तालाई चन्दा, ससुराको पट्टा र सासुको भत्ता बुहारीको हातमा हिसाब लापत्ता, दूईसन्तान इश्वरीय बरदान; अभियान,
ए भुन्टेकाबा यो मन यो तन तिम्रै त होनि, खाए खाउ नखाए घिच बर्षेनी सुत्केनी बनाउँछौ प्लिज यसरी नथिच; यथार्थ,
अड्डा अदालत, कार्यालय प्रशाशन, एटिएम, पेट्रोलको लाइन, अर्कोतिर चटपट पानीपुरीमा लाइन र त्यहि लाइनमा लाइन मार्न खोज्ने अर्को लाइन ।
छानि छानि युवतीको क्रमश: ओठ, घाटी, छाति हुदै ठुटे चुरोट टिप्ने बहाना तिनका पिंडुला धित मरिन्जेल नियालेर मनमनै कल्पिदै तरक्क कुकुरे र्याल काड्छन्, जसलाई परिवारको आधार, समाजको बफादार अनि देशको कर्णधारहरू भनिन्छ ।
आफ्नो ज्ञानलाई खुट्टामा राखेर अर्काको दर्शनलाई टोपी ठान्नेहरू अर्थात् स्कुल र कलेजको सैद्दान्तिक घोकाइले शिक्षित बेरोजगार बनेकाहरू जो युवतीको ओठ, छाती र नितम्ब ताक्ने प्रयोगात्मक अभ्याश गर्दा गर्दै व्यवहारिक जीवनमा फेल भैसक्छन् अनि कोही मुम्बई, मलेशिया पुगेर मोज गर्छन् भने कोही खाडी छिरेर जेल पर्छन् ।

अब फेरी कथामाण्डु प्रशंग,
लगभग घरैपिच्छे खानेठाउँ (होटल) भएको नगरमा कम्तिमा चोकै पिच्छे एउटा सार्बजनिक चर्पी त हुनु । ढाड सेक्ने महंगी तिरेर खायो हग्नलाई टेन्शन ।
ठमेलको सडकतिर त धान फल्न लाग्यो कि ?
नगरकोबीच डुंगा चलाएको देख्नलाई अब इटाली पुग्नै पर्दैन । हजारौं सपनाहरूमात्र बग्दैनन् त्यहा, सामाखुशीको ढलले त मान्छे पनि बगाउँन थाल्यो ।
सडक होकी खाल्डो, चारपाउ फालेर उत्तानो परेको भैंसी होकी गाडी छुट्याउँनै गाह्रो ।
सुनाउँ भने सम्बन्धितले सुन्ने हैनन् । त्यसैले मनभित्रै गुम्सिएको शवाल, पोलको तार चुडालेर सडकमा कसले लतारेको ? किर्ते हाकिमको काइते हस्ताक्षर जस्तो जेब्राक्रशिङ्ग पनि कसले खुइलाईदिएको ?
पशुपती परिशर र बाग्मती किनारलाई किन खुल्ला शौचालय बनाएका हुन् ? हुलका हुल केटाहरू किन रत्नपार्क तिर धाएका हुन् ? पुकार खैनी खाएर किन जताततै प्याच्च प्याच्च थुकेका हुन् ? त्यसरी जथाभावी थुक्नेहरूलाई नगरभरीको भुस्याहा कुकुर लाएर थानकोट किन नकटाएकाहुन् ?
जन्मदा पनि मर्दा पनि जनताले कर तिरेकैछन्, राज्यको पैसा त हो चाहे पैसा ठगुन्, चाहे पैसा नै हगुन्, चाहे आफ्नो घरको तलानै थपुन् तर बनाउँछु भने पछि बनाए जस्तो त गरे हुने !

परिवार, आफन्त र आफ्नो जन्मभूमी छाडेर विदेशिनु पर्दा खुशी मन कसको पो हुन्छ र ?
काठमाण्डु जस्तै धुलैधुलो थोत्रो ट्याक्सीको, मेरो अनुहार जस्तै मधुरो सिसा पुछिरहेका ड्राइभरले शिरदेखि पाउसम्म हेरेर सोधे, “सर ! एयरपोर्ट जाने हो ?”
दिनभरीको दौडधुपले भनेजस्तो खाजा खान पनि पाएको थिएन, एयरपोर्टमा केही खाउँ भने छोइनसक्नु भाउ छ, केही खाने इच्छा पनि लागेन । यसो ब्यागमा हेरेँ एक दर्जन केरा रहेछ ।
प्लेन टेक अफ हुनै लाग्दा ब्याथा भयिएको मनले एक पटक भन्यो, “सि यु कथामाण्डु !”

अनमोल राइ, धरान

Comments

comments