दुवै मिर्गौला फेल भएपछी सञ्जीत लावती बचाउ अभियान

94

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २६,इलाम।  दुवै मिर्गौला काम नलाग्ने भएपछि इलामको फाकफोकथुम गाउँपालिका–७, एकतप्पाका सञ्जीत लावती अस्पतालमा चार महिनादेखि अस्पतालमा छटपटाइरहेका छन् ।

एकतप्पा निवासी १० वर्षीय सञ्जीत जनकल्याण मावि कक्षा–७ मा अध्ययनरत थिए । अकास्मात् बिरामी परेपछि उनलाई मंसिर १२ गते झापाको बिर्तासिटी अस्पतालमा भर्ना गरियो । त्यहाँ उपचार गर्दा दुवै मिर्गौला काम नलाग्ने भएको थाहा भएपछि उनलाई त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, काठमाडौँमा लगेर उपचार गरिरहेको उनका बुबा रोमनाथ लावती बताउनुहुन्छ ।

छोराको उपचारमा अहिलेसम्म करीब रु आठ÷नौ लाख सिद्धियो, अब पनि कति खर्च लाग्ने हो कुनै टुंगो छैन, बुबा रोमनाथले भन्नुभयो “छोराको उपचारका लागि सहयोग गरिदिनुप¥यो ।”

आर्थिक अवस्था कमजोर भएको लावती परिवारलाई छोराको उपचार खर्च जुटाउन यतिबेला धौधौ परेको छ । स्थानीय समाजसेवी पञ्चबहादुर योङहाङको अध्यक्षतामा ‘सञ्जीत लावती बचाउ अभियान’ सञ्चालन गरिएको छ । अभियानले स्थानीयस्तरमा चन्दा संकलन समेत शुरु गरेको छ ।

अहिलेसम्म यो अभियानमा करीब रु २१ हजार संकलन भएको छ, अध्यक्ष पञ्चबहादुर योङहाङले रासससँग भन्नुभयो “अबका दिनमा यस अभियानलाई जिल्लाव्यापी र देशविदेशसम्म पु¥याउने लक्ष्य छ ।”

सञ्जीतको नियमित उपचार गरेमा सफल हुने चिकित्सकले सल्लाह दिएपछि परिवारमा आशा पलाएको रोम लावती बताउनुहुन्छ । उनको उपचारका लागि आर्थिक सहयोग गरिदिन परिवारले समेत अपिल गरेको छ ।

Comments

comments