‘भारतीय प्रधानमन्त्रीको भ्रमणबाट नेपाल–भारत सम्बन्ध प्रगाढ’

69

इन्द्रेणी न्यूज,डटकम
२०७५ बैशाख २८,काठमाडौँ। नेपाली काँग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले भारतीय प्रधानमन्त्रीको नेपाल भ्रमणबाट दुई देशबीचको ऐतिहासिक सम्बन्ध अझ प्रगाढ हुने बताउनुभएको छ ।

विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमण विशुद्ध सांस्कृतिक र धार्मिक भए पनि भ्रमणका समयमा विगतमा भएका सन्धिसम्झौता कार्यान्वयन हुनुपर्नेमा जोड दिनुभयो ।

नेता गच्छदारले भारतले नेपालको संविधानलाई मान्यता दिएको प्रष्ट पार्दै संविधानप्रति स्थानीय जनतामा रहेका केही असन्तुष्टि संसद्बाटै समाधान हुने धारणा व्यक्त गर्नुभयो ।

फरक प्रसंगमा नेता गच्छदारले पार्टी सभापति शेरबहादुर देउवाले आफ्नो अधिकारको प्रयोग गरी उपसभापति, महामन्त्री र सहमहामन्त्री नियुक्त गरी जिम्मेवारी पूरा गरेको धारणा व्यक्त गर्नुभयो ।

उहाँले नेपाल लोकतान्त्रिक फोरमसँग विगतमा भएको सम्झौताअनुसार आगामी जेठ १५ गतेभित्र केन्द्रीय उपभापतिलगायत भातृसंगठन र वडादेखि केन्द्रीयस्तरसम्मका कार्यकर्ताहरुलाई काँगेसको विधानको धारा ५० को बाधा अड्काउफुकाउलाई टेकेर पद समायोजन गरिने बताउनुभयो ।

Comments

comments