अब नेपाल लोडसेडिङ मुक्त देश

121

इन्द्रेणी न्यूज्, काठमाडौं। सोमबारदेखि नेपाल लोडसेडिङमुक्त भएको छ । सोमबारदेखि औद्योगिक क्षेत्रमा पनि लोडसेडिङ हटेको नेपाल विद्युत प्राधिकरणले दावी गरेपछि पुरै देश लोडसेडिङमुक्त भएको हो । औद्योगिक क्षेत्रमा आइतबारसम्म रहँदै आएको तीनघण्टे लोडसेडिङ सोमबारदेखि अन्त्य भएसँगै अब लोडसेडिङ अन्त्य भएको प्राधिकरणले घोषणा गरेको हो ।

ससँगै १५ वर्षपछि लोडसेडिङ समाप्त भएको पनि प्राधिकरणले जनाएको छ । सन् २००३ मा सुरु भएको लोडसेडिङ दैनिक १८ घण्टासम्म पुगेको थियो ।प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त भएपछि कुलमान घिसिङको प्रयत्नमा २०७३ सालको तिहारको लक्ष्मीपूजाका दिनबाट काठमाडौं उपत्यकालगायत मुख्य शहरमा लोडसेडिङमुक्त भएको घोषणा गरिएको थियो ।

ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गर्न निर्देशन दिए अनुसार औद्योगिक क्षेत्रको लोडसेडिङ पनि अन्त्य गरिएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताउनुभयो ।
खोला र नदीमा पानीको वहाव बढेसँगै रन अफ रिभर आयोजनाको उत्पादन बढेको, अर्ध जलाशययुक्त आयोजनाको कुशलतापूर्वक सञ्चालन, कुलेखानी जलाशययुक्त आयोजनाको उपयोग, संरचनागत सुधार र अपुग बिजुली भारतबाट आयात गरी लोडसेडिङ अन्त्य गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

अहिले हिउँदमा भन्दा १२ देखि १५ प्रतिशतसम्म बिजुली उत्पादन बढेको प्राधिकरणले जनाएको छ । यस्तै, चुहावट पनि ६ प्रतिशत घटाएकाले बिजुलीको माग धान्न सहज भएको प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणले विभिन्न कारणले केहीबेरका लागि बिजुली जाने क्रम लोडसेडिङ नभएको बताएको छ । प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले अहिलेको प्रसारण तथा वितरण संरचनाको क्षमता र अवस्था, उत्पादन केन्द्र तथा प्रसारणरबितरण प्रणालीमा आउनसक्ने प्राविधिक समस्या, मर्मतसम्भार तथा विकास निर्माणका कामका कारण कहिलेकाँही केही समयका लागि विजुली नआउन सक्ने तर त्यसलाई लोडसेडिङ भन्न नमिल्ने बताउनुभयो ।

Comments

comments