विदेश जान पाएनन् मुख्यमन्त्री राउत , केन्द्र सरकारले अमेरिका भ्रमण रोकिदियो

79

काठमाडाैं, ७ जेठ – प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतकाे अमेरिका जाने प्रस्ताव संघीय सरकारको मन्त्रीपरिषद् बैठकले अस्विकृत गरेको छ । अाइतबार बेलुका बसेकाे मन्त्रीपरिषद्को बैठकले राउतको भ्रमण रोकेको हो ।

  ‘जनरल कन्भेन्सन अफ मधेसी एसोसियसन इन अमेरिका’ भन्ने एनजिओको निम्तामा मुख्यमन्त्री राउतलाई अमेरिका पठाउन प्रदेश २ को मन्त्रिपरिषदबाट आएको प्रस्ताव अस्वीकार गरेको सरकारका प्रवक्ता गोकुल बास्कोटाले जानकारी दिनुभयो ।

‘अहिले प्रदेश भित्रै आर्थिक वर्ष ०७५/७६ को नीति र बजेट निर्माण कार्य लगायतका संगठनात्मक संरचनाका महत्त्वपूर्ण काम गर्नुपर्ने समय परेकाले त्यहाँ जान अनुपयुक्त देखिएको टुंगो गरिएको छ’, बास्कोटाले भन्नुभयो ।

त्यस्तै मन्त्रीपरिषद्को बैठकले , मुख्यमन्त्री तथा प्रदेश मन्त्रालयहरुको परिमार्जित संगठन संरचना सम्बन्धी प्रस्ताव पनि स्वीकृति गरिएको छ। बैठकले झापाको शान्तीनगरदेखि ७ नम्बर प्रदेशको रुपालसम्म जोड्ने १२ सय किलोमिटर लामो मदन भण्डारी राजमार्ग  निर्माणसम्बन्धी प्रस्ताव पनि पारित गरेको छ ।

Comments

comments