ओली सरकारविरुद्ध फोरम फायर, यादवले लगाए गम्भीर आरोप

199

वीरगञ्ज-केपी शर्मा ओली नेतृत्वको केन्द्र सरकारले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई अमेरिका भ्रमणमा रोक लगाएकोमा संघीय समाजवादी फोरम नेपालले कडा आपत्ति जनाएको छ। राउत फोरमबाटै प्रदेश २ मा सरकारको नेतृत्व गरिरहेका छन्।

सोमबार वीरगञ्जमा पत्रकार सम्मेलन गर्दै संघीय समाजवादी फोरम नेपालका सांसद प्रदीप यादवले मुख्यमन्त्री राउतको अमेरिका भ्रमणमा रोक लगाएकोमा आपत्ति जनाए।

फोरम पर्साका अध्यक्षसमेत रहेका सांसद यादवले भ्रमणमा रोक लगाउनु मधेस विरोधी काम भएको र प्रदेश नम्बर २ लाई कसरी कमजोर बनाउने भनेर संघीय सरकार लागेको आरोप लगाए । ‘प्रदेश नम्बर २ लाई कसरी कमजोर बनाउने भन्नेमा लागेका छन् । मुख्य मन्त्रीको अमेरिका भ्रमण रद्द गर्ने काम निन्दनीय हो । यसलाई सच्याउनुपर्छ ।’

मन्त्रिपरिषदको आइतबार बसेको बैठकले मुख्यमन्त्री राउतलाई अमेरिका भ्रमणमा जान अनुमति नदिने निर्णय गरेको थियो ।

मुख्यमन्त्री राउतले जनरल कन्भेन्सन अफ मधेसी एसोसिएसन इन अमेरिका नामक कार्यक्रममा भाग लिन जान पाऊँ भनी संघीय सरकारसमक्ष अनुमति मागेका थिए । तर सरकारले प्रदेशस्तरमा कानून, बजेट, नीति तथा तर्जुमा गर्न बाँकी रहेको र त्यसका लागि मुख्यमन्त्री आवश्यक पर्ने भन्दै राउतको भ्रमण रोकेको थियो ।

Comments

comments