पाली भाषा र संस्कृतिको संरक्षण गर्नुपर्छ ः उपराष्ट्रपति

88

काठमाडौँ, ९ जेठ- उपराष्ट्रपति नन्दबहादुर पुनले नेपाली भाषा र संस्कृतिको संरक्षण गर्नुपर्ने बताउनु भएको छ ।

युगकवि सिद्धिचरण श्रेष्ठको १०७औँ जन्मजयन्तीको अवसरमा सिद्धिचरण श्रेष्ठ प्रतिष्ठानले आज यहाँ आयोजना गरेको पुरस्कार वितरण तथा ‘आत्म बिलौना’ खण्डकाव्य विमोचन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपाली भाषा र संस्कृतिलाई बाहिरबाट अतिक्रमण भइरहेकाले संरक्षण गर्न आवश्यक रहेको बताउनुभयो ।

उहाँले नेपाली भाषा र संस्कृतिको संरक्षण गर्न नसक्ने हो भने मुलुक नै नरहने स्पष्ट पार्नुभयो । “नेपाली भाषा र संस्कृतिलाई अन्य भाषा र संस्कृतिले हस्तक्षेप गरिरहेको छन्”–उपराष्ट्रपतिले भन्नुभयो, “समयमा नै ती हस्तक्षेपबाट बचाउनु पर्दछ ।” उहाँले नेपाली भाषा र संस्कृतिलाई बचाउन साहित्य क्षेत्रमा क्रियाशील स्रष्टा एकताबद्ध भएर लाग्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

सोही अवसरमा उपराष्ट्रपति पुनले कवि तुलसी दिवसलाई यसवर्षको ‘युगकवि सिद्धिचरण श्रेष्ठ पुरस्कार’ र पत्रकार गणेश राईलाई ‘युगकवि सिद्धिचरण युवा पत्रकारिता पुरस्कार’ प्रदान गर्नुभएको थियो । दिवसलाई रु एक लाख र राईलाई रु २५ हजार राशिको पुरस्कार प्रदान गरिएको थियो ।

प्रतिष्ठानका अध्यक्ष रविचरण श्रेष्ठले नेपाली भाषाको साहित्यबाट संरक्षण गर्न भूमिका खेलेकालाई जन्मजयन्तीका अवसरमा पुरस्कार प्रदान गरिएको बताउनुभयो ।

सो अवसरमा युगकवि सिद्धिचरण श्रेष्ठले लेख्नु भएको ‘आत्म बिलौना’ खण्डकाव्यको उपराष्ट्रपति पुनले विमोचन गर्नुभएको थियो ।

Comments

comments