मिथिला चित्रकलामा नयाँ पहिचान बनाउँदै पुनम

98

काठमाडौँ, १३ जेठ/मीना घोरसाइने

मिथिला चित्रकलाका क्षेत्रमा पुनमकुमारी दासको पहिचान छुट्टै छ ।
बत्तीय वर्षीया दास मिथिला चित्रकलामा आफू अब्बल भएको जिकिर गर्नुहुन्छ । रासससँगको कुराकानीमा उहाँले भन्नुभयो, “महिलालाई विशेष गरी आफ्नो काममा अघि बढ्न परिवारको साथ हुनु एकदमै आवश्यक हुन्छ ।” विवाहपछि श्रीमान्ले नै आफूलाई व्यावसायिक रुपमा आफ्नो लक्ष्यमा पुग्न सफल गराउनुभएको उहाँले बताउनुभयो ।

भारतको मधुवनी जिल्ला, विहारमा जन्मनुभएकी दासको १४ वर्षका उमेरमा नेपालको महोत्तरी जिल्लामा विवाह भएको थियो । विवाहपछि घरपरिवारमै व्यस्त दास पहिले आफ्नो सपनालाई त्यसै लत्याउन बाध्य हुनुुहुन्थ्यो ।

विवाह भएको दुई वर्षपछि श्रीमान्ले गर्नुभएको सहयोगलाई उहाँ यसरी सुनाउनुहुन्छ, “केही दिन अगाडि मात्र श्रीमान्सँग ठूलै झगडा परेको थियो र चित्र बनाएर पनि एक्लै जिउन सक्छु भन्ने विचार पनि आएको थियो, तर श्रीमान्बाट झनै हौसला पाएँ ।” श्रीमान्ले आफ्नो क्षमतालाई देखेपछि उहाँबाट झनै सहयोग भएकामा उहाँ आफूमा गौरव महसुस गर्नुहुन्छ ।

“बाह्र वर्षको उमेरमा हजुरआमाले बनाउनुभएको चित्र देखेर भित्तामा लुिकलुकी बनाउने गर्थेंँ”, उहाँले भन्नुभयो । बजारमा शुरुमा रु २०० बाट बिक्री गर्नुभएकी दासले हाल एउटा चित्रबापत रु ५० हजारसम्म लिने गर्नुभएको छ । पहिलो पटक ठमेलमा लगेर चित्र बिक्री गर्दागर्दै आफूलाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान(नाफा)मा प्रदर्शनी गर्ने प्रेरणा मिलेको उहाँले बताउनुभयो । किरण मानन्धर नाफाको कुलपति हुँदा प्राज्ञ शारदा चित्रकारले उहाँको चित्रलाई पनि छनोट गरेपछि आफूलाई हौसला मिलेको उहाँले स्मरण गर्नुभयो ।

दासले पहिलो पटक २०७१ सालमा ठहिटीमा एक पटक, २०७२ सालमा पाटन सङ्ग्रहालयमा दुई पटक, २०७३ मा रुपेन आर्ट ग्यालरीमा एक पटक र पाटन सङ्ग्रहालयमा एक पटक तथा २०७५ मा सर्वनाम थिएटरमा एक पटक गरी हालसम्म छ पटक एकल तस्वीर प्रदर्शनी गरिसक्नुभएको छ । दास पहिलो पटक विसं २०६९मा रु सात हजारले विशेष पुरस्कारबाट पुरस्कृत हुनुभएको थियो । त्यस्तै उहाँले २०७३ मा रु ५१ हजारको पहिलो पुरस्कार प्राप्त गर्नुभएको थियो भने नन्दादेवी पुरस्कारबाट पनि पुरस्कृत हुनुभएको थियो ।

राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रिय रुपमा चीन, पाकिस्तान, अष्ट्रेलियालगायत देशमा भएो प्रदर्शनीमा पनि दासले बनाएका चित्र छनोट भइसकेका छन् । उहाँले बनाउनुभएको चित्र बंगलादेश, दक्षिण कोरिया र अष्ट्रेलियाका म्युजियममा समेत राखिएका छन् ।

एउटा प्रदर्शनीबाट कम्तीमा पनि आफूले रु दुई लाखसम्म लिने गरेको उहाँले बताउनुभयो । उहाँले ‘रामायण’, ‘महाभारत’सँग सम्बन्धित, ग्रामीण क्षेत्रको जनजीवन, अरिपनलगायत चित्र बनाउँदै आउनुभएको छ ।

उहाँल चित्रका लागि आवश्यक रङ भारतबाट तथा कपडा, कागजलगाय नेपालमा नै खरिद गर्दै आउनुभएको छ । हाल काठमाडौँमा नै बसोबास गर्दै आउनुभएका दासलाई शुरुमा बजार पाउन निकै कठिन थियो भने हाल अरुले नै उहाँलाई खोज्दै आउने गरेका छन् ।

महोत्तरीमा रहँदा उहाँले राति चित्र बनाउने गर्नुभएको थियो । काठमाडौँ आएपछि भने उहाँलाई चित्र बनाउन सहज छ । कम्तीमा पनि आफूले रु छ लाखदेखि सात लाखसम्म चित्र बिक्री गरिसकेको उहाँले बताउनुभयो । मासिक रुपमा उहाँले २० देखि २५ वटासम्म चित्र बिक्री गर्दै आउनुभएको छ ।
चित्रकलामा निपुण दास अहिले ‘संस्कृति’ विषयमा स्नातकोत्तर गर्दै हुनुहुन्छ । एसएलसीपछि विवाह बन्धनमा बाँधिनुभएकी उहाँले पाँच–पाँच वर्षको अन्तरमा आफ्नो अध्ययनलाई पनि निरन्तरता दिँदै आउनुभएको छ । उहाँले कक्षा १२ सम्मको पढाइ भारतमा नै गएर पूरा गर्नुभएको थियो भने स्नातक तह जनकपुर क्याम्पसबाट पूरा गर्नुभएको थियो ।

त्यस्तै हाल स्नातकोत्तर तह निजी क्षेत्रबाट गर्दै हुनुहुन्छ । विशेषगरी श्रीमान्को सहयोग भए जस्तोसुकै कठिन परिस्थितिमा पनि आफ्नो लक्ष्यमा पुग्न सफल हुने उहाँको अनुभव छ । पुनमका पति राम एकवाल भन्नुहुन्छ, “महिलाको सफलताको लागि उसको श्रीमान्को जति सहयोग हुन्छ, त्यो अरु कसैले पनि गर्न सक्दैन ।” पुनम चित्रकलालगायत पारिवारिक जीवनमा पनि सक्षम रहेको उहाँले बताउनुभयो ।

पुनमको शुरुआतीलाई उहाँ यसरी बयान गर्नुहुन्छ, “विवाह गरेको दुई वर्षसम्म मलाई पुनमको क्षमता थाहै थिएन भने उनले मसँग भनेकी पनि थिइनन् ।” पहिलो पटक आफू बर्दिवासमा कार्यरत हुँदा उनलाई पनि बाहिरी दुनियाँ चिनाउनुपर्छ भन्ने उद्देश्यले बर्दिवास ल्याएको र त्यहीँ आएपछि मात्र उनको क्षमताबारे आफूले थाहा पाएको उहाँले बताउनुभयो ।

एकवालले शुरुको त्यो क्षणलाई यसरी वर्णन गर्नुहुन्छ, “बर्दिवास आएपछि पुनमलाई बाहिर जानुपर्छ भनेर सिकाउन दुई सय रुपैयाँ दिएर बजारबाट केही किनेर ल्याउन आग्रह गरेको थिएँ, त्यो पैसाले उनले चित्र बनाउन रङ, कपडा र ब्रस खरिद गरेर ल्याएकी रहिछन्,” उहाँले थप्नुभयो, “बाहिरबाट म आउँदा उनी कोठाको कुनामा बसेर चित्र बनाउँदै रहिछन्, अचानक उनले चित्र बनाएको देख्दा मेरो भोक तिर्खा नै हरायो भने मलाई देखेर केही भन्ने पो हो कि भनी पुनम निकै आत्तिएकी थिइन् ।”

विवाह गरेको त्यो समयसम्म लामो समय नछुट्टिएकामा पुनमको क्षमता देखेपछि भने उनलाई चित्रकला सिक्न छ महिना माइती पठाइदिएको एकवालले बताउनुभयो । भारतमा मात्र नभई काठमाडौँमा आइसकेपछि पनि पुनमलाई तालीमको अवसर जुटाइदिएको उहाँले जानकारी दिनुभयो । “अहिले म चित्रकारबाट चिनिन पाएकीमा निकै खुशी छु ”, उहाँले भन्नुभयो ।

Comments

comments