साढे ३३ किलो सुन प्रकरणबारे गोरेले दिए, सनसनीपूर्ण बयान

195

काठमाडौँ, १३ जेठ। गायब साढे ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा पक्राउ परेका चूडामणि उप्रेती गोरेले सनम शाक्यको हत्यापछि डीएसपी प्रजित केसीले रकमको डिल गरेको बताएका छन् । अदालतमा दिएको बयानमा उनले बालकृष्ण सञ्जेललाई आफूले मामा भन्ने गरेको र उनीसँग बेलाबेला सम्पर्क भइरहने उल्लेख गरेका छन् ।

तर उनले सनम शाक्य हत्यापछि पैसाको डिल नगरेको बयान दिएका छन् । ‘निज९बालकृष्ण सजेल०को घर पूर्व नै भएकाले म मामा भन्थेँ । हामीबीच कहिलेकाहीँ फोन सम्पर्क भइरहन्थ्यो । निजले काठमाडौँ गोठाटारमा घर बनाउँदै गर्दा मसँग ३५ लाख मागेका थिए । सो रकम मैले दिएँ । पछि २५ लाखजति फिर्ता गरिसकेका छन् । अब रु १० लाख लिन बाँकी छ ।’

उनले बयानमा भनेका छन्, ‘बालकृष्ण सञ्जेलले सुरुमा पैसाको लेनदेनको कुरा गरेनन् । पछि डीएसपी प्रजित केसी र सई सञ्जेल काठमाडौँबाट हिँडेपछि बाटोमा सञ्जेलको मोबाइलमा डीएसपी प्रजित केसीले रकमको डिल गरेका थिए । मैले घटनाको बारेमा पहिलो जानकारी बालकृष्ण सञ्जेललाई दिएको हुँ । निजले आत्तिनुपर्दैन, म सहयोग गर्छु हल्ला नगर्नू भनेकाले मैले अन्त कतै खबर गरिन ।’

गोरेले सुन तस्करीमा प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला नेताको मिलेमतो रहेको बताएका छन् । उनले अदालतमा दिएको बयानमा यस्तो कुरा उल्लेख छ । बयानमा गोरेले भनेका छन्, ‘सुन तस्करी गर्ने कार्य प्रहरीका उच्च अधिकारी र राजनीतिक पार्टीका ठूला मानिसको मिलेमतोमा हुने गर्छ ।

को को संलग्न छन्, यकिन भन्न सक्दिन । तस्करीबाट आउने सुन सबै इण्डिया जान्छ । म सुन तस्करीमा सहयोग गर्ने तल्लो लेबलको मानिस भएकाले लेखिएबमोजिमको बिगो कायम हुने होइन’, उनले बयानमा भनेका छन्, ‘मभन्दा माथिल्लो लेयरका सुन तस्करीका नाइके, प्रहरीका उच्च अधिकारी तथा राजनीतिक दलका ठूला नेता पक्राउ परेका बखत नै सुन तस्करीको असली कुरा पर्दाफास हुन्छ । मृतक सनम शाक्यलाई कसैले अपहरण गरेको छैन । निजलाई मैले करेन्ट लगाएको समेत छैन ।’

गोरेले भनेका छन्– ‘प्रतिवादी दिवेश लोहनीलाई मैले चिनेको छैन । उनीसँग मेरो कुनै सम्र्पक र सम्बन्ध छैन ।’ गोरेले अपराध महाशाखाका डिएसपी प्रजित केसीलाई पनि सुरुमा आफूले नचिनेको र सनमको मृत्युपछि सई बालकृष्ण सञ्जेलमार्फत् चिनेको बताएका छन् ।

बयानमा गोरेले भनेका छन्– ‘सनमको मृत्युपछि मैले बालकृष्ण सञ्जेललाई मृत्युको खबर गरेपछि प्रतिज केसी र सञ्जेलले मलाई सहयोग गर्छौं भन्दै आएका हुन्, डिएसपी केसीले मसँग रकमको डिल गरेको हो । तर उनीहरु मलाई बचाउन आएका हैनन्, मलाई झुक्याउन रकमको डिल भएको जस्तो लागेर उनीहरुलाई झुक्याएर इन्डियातर्फ गएको हुँ ।’

Comments

comments