कालको ‘छाँया’

242

झल्याँस्स बिउँझिएँ । आफ्नो वरिपरी हेरें । आफूलाई खाटमा भएको महशुस त भयो । कोठा र बाहिर अन्धकार शिवाय केही देखिएन । मध्यरात भएकोले कुकुर पनि निदाइरहेका थिए । हावा चलेको संकेत पनि थिएन । बाहिरको कुनै आवाज सुनिएन । यो बेला सियो खसाल्यो भने पनि कोठाभरी सुनिन्थ्यो ।

चकमन्न रात, सुनसान वातावरण । तर, मेरो मनमा भने खैलाबैला मच्चिएको थियो । एउटा कुरा तरङ्गीत ध्वनी सरह कानमा गुञ्जिरहेको थियो । कसैले भनेको थियो ‘घर बनाउनु तर काल ननिम्त्याउनु ।’

बुबाको आवाज ठम्याउन धेरै समय लागेन । स्वर्गेबास बुबा मेरो सपनामा आउनु भएको थियो । मलिन अनुहारमा उहाँ भन्दै हुनुहुन्थ्यो ‘म त उमेरले पक्का थिएँ, मैंले बनाएको घर कच्चा ठहरियो, तँ कच्चा उमेरकै छस् तर घर पक्का बनाउनु ।’
मेरा ओठ चल्न खोजे तर आवाज निस्किएन । जिब्रो बर्बरायो, सास रोकियो । लाग्यो म कुनै विपदमा परेको छु र कसैसँग गुहार माग्न पनि सकिरहेको छैन । या मैंले गरेको ठूलै गल्ती कसैले पत्ता लगाएर सार्वजनिक गर्दैछ । मैंले सबैको अगाडी स्पष्टिकरण दिनु पर्नेछ ।

तर, अवस्था त्यो थिएन । भूकम्पमा घरले थिचिएर स्वर्गेबास हुनुभएका बुबाले सपनामैं मलाई मार्गदर्शन गर्दै हुनुहुन्थ्यो । उहाँसँग दोहोरो सम्बाद गर्ने हिम्मत ममा थिएन । उहाँ एकोहोरो बोलिरहनुभयो, म नतमष्तक भएर सुनिरहें । उहाँले जे जति कुरा गर्नुभयो, सुरक्षित निर्माणको कुरा गर्नुभयो । उहाँको हरेक शब्दमा हामी भूकम्पबाट बाँचेकाहरु प्रतिको गम्भीर चासो मिसिएको थियो ।
२०७२ बैशाख १२ गतेको मध्यान्ह मेरो मानसपटकमा चलचित्रका दृश्य झैं नाच्न थाले । त्यो कम्पनपछिको विनाश, उजाडिएको गाउँ बस्ती, उजाडिएका परिवार र सहारा, उजाडिएको भविष्य । बुढापाकाले भनेको कलि सायद त्यहि दिनमा आएको हो की ? धर्मकर्मका कुरामा खासै विश्वास नलागे पनि भूकम्पपछि घरले थिचिएर बुबा, भाउजु र सानी छोरीको ईहलिला समाप्त हुँदा त कलिको झल्को आएको पनि हो ।
भूकम्पको एक वर्षपछि बुबा सपनामा आउनु भएपछि मन गह्रुङ्गो भयो । कतिखेर उज्यालो होला र सपनामा बुबाले भनेका कुरा परिवारका सबै सदस्यलाई सुनाउ झैं भयो । मन हलुङ्गो बनाउने सोचाईसहित विहानीको प्रतिक्षा गरें ।

‘एक वर्ष बितिसक्दा पनि छाप्रोमैं बस्नु परेको र अझै घर बनाउन ढिला गरेको’ भनेर विहान उठ्ने बित्तिकै आमाले हकार्नुभयो । मैंले सपनामा बुबालाई देखेको कुरा सुनाउन त के सोच्न पनि भ्याइन । घाँटीसम्म आइपुगेका शब्दहरुलाई रोक्नु पर्यो । हिमाल झैं शान्त भएर उहाँको कुरा सुनिरहनु बाहेक मसँग बिकल्प छैन । किनकी घर बनाउने सुरसार नैं भएको थिएन ।
‘गाउँमा केहिले घर बनाइसके । छाप्रोमैं प्राण जाने हो की ? सरकारले पनि केहि गरेन, छोरो पनि उस्तै । दुईवटा वर्षा र एउटा जाडो रुझ्दै, भिज्दै र चिसो मैं बित्यो । अझै कति समय यसरी बिताउनु पर्ने हो ?’ आमाको हरेक बोलीमा आक्रोस मिसिन्थ्यो ।

मसँग आमालाई दिने धेरै जवाफ थिएन । भूकम्पपछिको पुनर्निर्माणका लागि भैरहेका कामको सूची बेलिबिस्तार लगाउन सकिन्थ्यो । ‘भूकम्पको पराकम्पन अझै रोकिएको छैन । हतार गरेर पहिलेको जस्तै घर बनाउदा बुबा, भाउजु र सानी छोरी झैं अरु सदस्य पनि गुमाउनु पर्ने हुनसक्छ आमा ।’ यसै गरी सम्झाउन पनि सक्दिन । बुबाको नाम लिने बित्तिकै उहाँ डाँको छोडेर रुनुहुन्छ । वार्षिकीमा कुस समातेर तर्पण दिनका लागि बाहुन बाजेले बुबाको नाम लिँदा पनि उहाँ ढल्नुभएको सम्झें ।
बुबाले त भन्नुभएको थियो ‘आमालाई केहि नभनेस् बाबु उसको मन कमलो छ, रोएर चौपट गर्छे ।’ एक पटक हर्टट्याक भएर उपचार भईसकेको छ, उहाँको । डाक्टरले पनि मनमा चोट पर्ने बित्तिकै दोहोरिन सक्छ भनेका कारण उहाँको भनाईमा सायदै जवाफ फर्काउने गरेको छु ।

बुबाले पनि सुनाउनु भएको थियो ‘सरकारले २ लाख रुपैंयाँ अनुदान दिँदै छ’ । ‘२ लाख रुपैंयाँले घर बन्छ र ?’ बुबाको कुरा सुन्ने बित्तिकै मैंले सोधें । उहाँले मुस्कुराउँदै भन्नु भयो, ‘तँ त पढेको मान्छे रेडियो सुन्छन्, पत्रिका पढ्छस् । थप १५ प्रतिशत लगानीले सुरक्षित घर बन्छ भनेको सुनेनस् ? सरकारको अनुदान घर बनाउन होइन, सुरक्षित बनाउन हो ।’
‘सरकारले पैसा कहिले दिने हो ? कति कुर्नु त हामी ?’ म पनि झोक्किएँ उहाँसँग मानौं हामी एउटै खाटमा बसेर बातचित गर्दैछौं । मेरो निराशामा उहाँको कुनै प्रतिक्रिया थिएन । बरु उल्टै सम्झाउनुभयो ‘मैंले त जीवनभर तिमीहरुको सबै कुरा पुरा गर्न सकिन । सरकारले हाम्रो परिवारलाई मात्रै हेर्ने हो र ? संविधान कार्यान्वयन, शान्ति प्रक्रिया, पुनर्निर्माण, गरीबि निवारण सरकारको प्राथमिकतामा धेरै कुरा छन् ।’
उहाँको बोली सुन्दा लाग्थ्यो प्रधानमन्त्रीले संसदमा सम्बोधन गरे झैं । प्रतिपक्षको पश्नको जवाफ दिए झैं । उहाँसँग डकर्मी काम गरेको १५ वर्षको अनुभव थियो र त मेरो हरेक प्रश्नको जवाफ विज्ञले झैं दिँदै हुनुहुन्थ्यो ।

‘तपाई आफैंले सुरक्षित घर किन नबनाएको त ?’ फेरी प्रश्न तेरस्याएँ, यक्षले युधिष्ठिरलाई सोधे झैं । उहाँ एकछिन मौन बस्नुभयो । उहाँलाई पनि सुरक्षित घर बनाउन नसकेकोमा पछुतो रहेछ । भन्नुभयो, ‘मसँग घर बनाउने सीप थियो, सुरक्षित बनाउने सीप थिएन । अहिले सरकार र विभिन्न संघ संस्थाले भूकम्प प्रतिरोधी घर बनाउने तरिका सिकाउँदै छन् । अहिले हो भने म पनि त्यहि सीप सिकेर घर बनाउँथें ।’ उहाँको उत्तरले मलाई नाजवाफ बनाइदियो । अनुहारमा क्वारक्वार्ति हेर्न बाहेक अरु प्रतिक्रिया जनाइन ।

‘सुरक्षित घरका लागि सरकारले १७ वटा डिजाइन दिएको छ । त्यसमध्ये एउटा रोजेर बनाउनु’ उहाँले भन्दै गर्दा म सानो बालक झैं सुनिरहें । उहाँले सुरक्षित ठाउँमा सलाईको बट्टा जस्तै आयातकार घर बनाउन, जगदेखि छानोसम्म विभिन्न ठाउँमा बन्धन राख्न, प्राविधिकको सल्लाह सुझाव लिन, दक्ष कालिगढ र गुणस्तरीय सामाग्री प्रयोग गर्न सुझाउनुभयो ।
शंका पनि लाग्यो कतै उहाँले पनि डकर्मी तालिम त लिनुभएन ? स्वर्गबास भैसकेको व्यक्तिका बारेमा बेकारको शंका गर्नु थिएन । तर, उहाँको हामी प्रतिको चासो जायज थिए । उहाँ हाम्रो सुरक्षाको बारेमा संवेदनशील हुनुहुन्थ्यो । म पनि परिवारको सुरक्षाका बारेमा सचेत छु । बाँकी छ त आमालाई सम्झाउन । ‘पैसा नभएर होइन आमा सुरक्षित नहोला भन्ने पिरले ढिला भएको हो ।’ यही अर्थमा सम्झाउने पो कसरी ? यस्तै सोच्दै थिएँ । ‘सानुभाइ’ आमाको आवाज कानमा गुञ्जियो ।

मेरो जेठो दाई बाहेक धेरै पटक आमाले नैं यो शब्दबाट मलाई बोलाउनुहुन्थ्यो । धेरै बेर सोचमग्न अवस्थामा बसेको देखेर होला आमा पनि नजिकै आएर बस्नु भएको रहेछ । सायद उहाँ आफ्नो प्रश्नको जवाफ खोज्दै हुनुहुन्थ्यो । अबको यति महिनाभित्र नयाँ घरमा बस्न पाउनुहुन्छ भनेको सुन्न चाहनुहुन्थ्यो ।
मलाई बुबाका शब्दहरुले फेरी झकझकाए । खोजिरहेको उपयुक्त मौका पाएजस्तो भयो । मन बलियो पारेर भनें, ‘आमा, बुबा बित्नुको कारण भूकम्प थिएन हामीले बनाएको घर थियो । फेरी त्यस्तै घर बनाउन हुन्न ।’
भूकम्पका बेला संसार हल्लिएझैं मेरो शरिर पनि हल्लिँदै थियो । त्यहि भएर होला सबै एकै सासमा भनि सिध्याएछु । आमाले पनि के सोच्नु भयो कुन्नी प्रतिप्रश्न गर्नु भएन ।

यही मौकामा सपनामा बुबासँग भएको बातचित आमालाई जस्ताको त्यस्तै सुनाएँ । त्यसपछि उहाँ मलाई अंगालो हालेर रुनुभयो । केहि बेर म पनि रोएँ उहाँसँगै । पछि सम्हालें आफुलाई । ‘अबको हिउँदमा निर्माण सुरु गर्छु । बुबाको सुझाव अनुसारकै सुरक्षित घर बनाउँछु । जहाँ तपाई, म र हाम्रा सन्ततीलाई कुनै जोखिम हुने छैन’ । यति सुनेपछि आमा विश्वस्त हुनुभयो क्यारे, अरु कुरा सोध्नु भएन । उहाँको अनुहारमा विहानको भन्दा अलि बढी चमक देखियो । खाना खान जाने संकेत गर्नुभयो ।

मैंले फेरी बुबालाई सम्झिएँ र मन मनै प्रण गरें ‘सुरक्षित घर बनाउँछु कालको छायाँसम्म पर्न दिन्नँ’ ।

Comments

comments