किन दु:खी हुन्छ धेरै ​फेसबुक चलाउने व्यक्ति ? यस्तो छ कारण !

276

काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा धेरै समय बिताउने बालबालिका खुशी नहुने एक अध्ययनले देखाएको छ ।

बेलायतको शेफिल्ड विश्वविद्यालयका अर्थशास्त्रीहरूको एक टोलीले गरेको अध्ययन अनुसार फेसबूक, स्न्यापच्याट, ह्वाट्सयाप र इन्स्टाग्राममा बालबालिकाले जति बढी समय च्याट गरेर बिताउँछन्, उति कम उनीहरू विद्यालयको काम गर्न, विद्यालय जान, आफ्नो लवाइखवाइ, आफ्नो परिवार र आफ्नो समग्र जीवनप्रति खुशी हुन्छन् ।

सामाजिक सञ्जालमा जम्मा एक घण्टा मात्र बिताउँदा पनि बालबालिकाले जीवनप्रतिको खुशी १४ प्रतिशतले घटाउने अर्थशास्त्रीहरूले अध्ययनको क्रममा पत्ता लगाएका छन् । एकल मातापिताका सन्तान हुनुको बेफाइदा र विद्यालय हाप्न मन लाग्नेभन्दा यो तीन गुणा बढी खतरनाक भएको उनीहरूको निष्कर्ष छ ।

यो निष्कर्षले सामाजिक सञ्जालका राम्रा र नराम्रा पक्षसम्बन्धी बहस चर्काउने सम्भावना छ ।सोह्रदेखि २४ वर्ष समूहका ९० प्रतिशतभन्दा बढी व्यक्तिले सामाजिक सञ्जाल प्रयोग गर्छन् । धेरै साइटले कम्तीमा १३ वर्ष भनी प्रयोगकर्ताको उमेरहद तोकेपनि कमैले मात्र नियन्त्रणका उपाय अपनाउँछन् ।

हिजोआज त तीनदेखि चार वर्षका बालबालिकाको आफ्नै ट्याब्लेट हुने र सामाजिक सञ्जालमा अकाउन्ट पनि हुने देखिएको छ । अहिलेका टीनएजरहरू एक हप्तामा टिभी हेर्नुभन्दा करीब साढे तीन घन्टा बढी समय अनलाइनमा बिताउँने गर्छन् ।

Comments

comments