इन्द्रेणी न्युज,काठमाडौं। नायिका तथा निर्मात्री रेखा र जाजरकोटकी चौध वर्षिय कमला ओलीको मुख्य भूमिका रहेको चलचित्र मालिका अहिले धमाधम छायाँकन भैरहेको छ । तिहारको अवसर पार्दै लक्ष्मीपूजाबाट सार्वजनिक प्रदर्शनमा आउने यस चलचित्रको हाल जाजरकोटमा छायांकन भैरहेको चलचित्र निर्माण युनिटले जानकारी गराएको छ।
मालिका छायाँकनका लागि जाजरकोट पुगेकी नायिका तथा निर्देशक थापाले केही दिनदेखि जाजरकोट दरबार प्राङ्गणमा गीतको छायाँकन भैरहेको पनि बताइन्। अबको दुई दिनमा गीतको छायाँकन सकिन्छ, रेखाले भनिन्, काम एकदम राम्रोसँग भैरहेको छ । एकदिन पनि सुटिङ रोक्नु परेको छैन् । काठमाण्डौबाट छायाँकन सुरु गरेर रेखा कोहलपुर हुँदै जाजरकोटसम्म पुगेकी हुन् । अबको दश दिनमा फिल्मको सम्पूर्ण छायाँकन सकिने रेखाको भनाई छ । चालिस दिनको तालिका बनाएका थियौं ।दश दिन अगाडी नै सकिने भयो ।
जाजरकोट दरबारमा छायाँकन गरिएको गीतको बारेमा रेखा थप्छिन्, जिल्लाको स्थानीय भेष–भुषा र संस्कृति झल्किने मेलाको दृश्य बनाएर र्दुइ सय ६८ वर्ष अघि निर्माण गरिएको जाजरकोट दरबारको प्राङ्गणमा ‘मालिका’ को गीत छायांकण गरिएको हो । रामजी लामिछानेको कोरियोग्राफी रहेको गीतमा एक सय बढी त कोरस मात्रै रहेको रेखा बताउँछिन् ।
सुरेश अधिकारीको संगीत रहेको लोक लयको गीतले दर्शकको मन जित्नेमा रेखा ढुक्क छिन् । दर्शकको रोजाइकै गीत छ, रेखाको विश्वास छ, भिडियोमा पनि हामीले मिहेनत गरेकछौं । जीवन रुपान्तरणका विश्व प्रशिक्षक नरवहादुर कार्कीको परिकल्पनामा तयार भएको ‘मालिका’ फिल्मको विषय वस्तु महिला हिंसा र बालबिवाह मुक्त नेपाल निर्माणको अभियानमा केन्द्रित छ ।