आईपीएल र फुटबलमा करोडौंको सट्टेबाजी, ‘१२डी’ का मालिकदेखि डन दावासम्म

195

काठमाडौं , १५ जेठ। अन्डरवल्र्ड डन डन दाउद इब्राहिम विश्व बजारमा खेल सट्टेबाजीका ‘बादशाह’ नै हुन् । उनै दाउदले भारतको चर्चित क्रिकेट प्रतियोगिता आईपीएलदेखि फुटबलका विभिन्न लिग र प्रतियोगितामा सट्टेबाजीदेखि ‘म्याच फिक्सीङ’सम्म गराउँदै आएका छन् । अन्डरवल्र्ड डन डन दाउद इब्राहिमले आफ्ना एजेन्टमार्फत् अनलाइन सट्टेबाजी, म्याच फिक्सिङ गराउने गर्छन् ।

आईपीएलमा सट्टेबाजी लगाउने अन्डरवल्र्ड डन दाउद इब्राहिमका एक विश्वासपात्र हुन् अमित अग्रवाल अर्थात् नागराज । प्रहरीको खोजी सूचीमा रहेका नागराजले नेपाल र भारतका सट्टाबाज समूहसँग समन्वय गरी क्रिकेट प्रतियोगिताका हारजितमा जुवा खेलाउँदै आएको नेपाल प्रहरीले पटक–पटक बताउँदै आएको छ ।

नागराजको समूहले नेपालमा बसेर भारत, दुबई र पाकिस्तानका सट्टाबाजले धन्दा चलाउने गरेको प्रहरी बताउँछ । मंगलबार काठमाडौं प्रहरी परिसरले आईपीएल र कयौं फुटबल प्रतियोगितामा सट्टेबाजी गर्ने ६ जनालाई सार्वजनिक गर्यो । प्रहरीले सार्वजनिक गरेका एक थिए, २७ वर्षीय गौरव तिवारी । काठमाडौं प्रहरीका एसएसपी विश्वराज पोखरेलले गौरव पूर्व नागराज समूहको सदस्य भएको बताए । गौरव सुन्धारास्थित सिभिल मलमा सञ्चालित ‘१२ डि’ सिनेमा हलका मालिक पनि भएको पोखरेलले बताए ।

पछिल्लो समय तिवारीले नागराजसँगको सम्बन्ध तोडेर आफ्नै कमाण्डका अनलाइन सट्टेवाजीको अवैध धन्दा सुरु गरेका थिए । प्रहरी अनुसन्धानबाट तिवारीले लन्डनबाट आफ्नो अनलाइन मास्टर एकाउन्ट खोलेर २४ ओटा अन्य एसी खाता खोलेका थिए । जसबाट उनले एजेन्ट समूह निर्माण गरेर ७ करोड ४७ लाखको कारोबार गरेका छन् । प्रहरीले यो सट्टेबाजीमा संग्लन भएको आरोपमा तिवारीसहित काभ्रे भुण्डु गाउँपालिकाका ३८ वर्षीय भुपेन्द्र शम्शेर कुँवर, ललितपुर एकान्तकुनाका पूर्व राष्ट्रिय फुटबल खेलाडी अञ्जन केसी, नुवाकोट ककनीका २७ वर्षीय दिनेश वोगटी, भक्तपुर बोलाछैका २६ वर्षीय विजय श्रेष्ठ, र भक्तपुर बोलाखुका ३१ वर्षीय नरेन्द्र सुवाललाई पक्राउ गरेको छ ।

उनीहरुले क्रमशः तीन करोड २२ लाख ९७ हजार, २ करोड ७७ लाख ५ हजार, १ करोड ७० लाख,र ७७ लाख कारोबार गरेको खुलेको छ । पक्राउ परेका वोगटी भने तिवारीको सहयोगीको रुपमा काम गर्दै आएका थिए । यही गिरोहसँग सट्टेवाजी लगाउने कार्यमा संलग्न गुण्डा नाइके दावा लामा भने फरार रहेको एसएसपी पोखरेलले बताए ।

पक्राउ परेका मध्ये पूर्व राष्ट्रिय खेलाडी अन्जन केसी यसअघि फुटबलको म्याच फिक्सिङ काण्डमा पक्राउ परेर धरौटीमा छुटेका थिए । उनीहरुले फुटबल र खासगरी आइपीएलका जित हात, चौका छक्का, विकेट, क्याचलगायतका कुरामा सट्टा लगाउने गरेका थिए । सट्टेवाजीमा प्रायः नेपाली नागरिक त्यसमा पनि व्यापारीको संग्लनता हुनसक्ने प्रहरी अनुमान छ ।

Comments

comments