नेपाली क्रिकेटमा उदाए अर्का प्रतिभा,एकैदिन ह्याट्रिक र शतक

1258

काठमाडाै‌, १६ जेठ –   नेपाली क्रिकेटमा अर्का अलराउन्डर प्रतिभा उदाएका छन । काठमाडाैमा जारी प्रधानमन्त्रीकप क्रिकेटमा प्रदेश नम्बर ४ बाट खेलेका हरिबहादुर चाैहानले कमालको प्रतिभा देखाएका छन् ।हरिबहादुर चौहानले  ब्याटिङतर्फ शतक र बलिङतर्फ ह्याट्रिक लिएसहित ४ विकेट लिँदै सानदार प्रदर्शन गरेका हुन्।

हरिको उत्कष्ट प्रदर्शनसँगै प्रतियोगितामा समूह ‘ए’ बाट प्रदेश नम्बर ४ ले आफ्नो तेस्रो खेलमा पहिलो जित दर्ता गरेको छ। खेलमा प्रदेश ४ ले प्रदेश १ लाई १२९ रनले पराजित गरेको हो । यसअघि पहिलो खेलमा एपिएफसँग ५ विकेट र प्रदेश २ सँग ६७ रनले पराजित भएको प्रदेश ४ ले प्रतियोगितामा पहिलो जित निकालेको हो ।

कीर्तिपुरस्थित टियू मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश ४ ले मध्यक्रमका ब्याट्सम्यान हरिबहादुर चौहानको शतकीय योगदानमा निर्धारित ओभरमा ७ विकेट गुमाएर ३ सय १० रनको विशाल योगफल बनाएको थियो ।

चौथो नम्बरमा ब्याटिङमा आएका चौहान ४६.४ ओभरमा प्रदेश १ का सन्दीप ढुंगानाको बलमा क्याटआउट हुनुअघि १ सय १५ बल खेलेर १०० रन बनाए।  उनले ८ चौका र १ छक्का प्रहार गरेका थिए। प्रतियोगितामा शतक प्रहार गर्ने उनी पहिलो खेलाडी हुन् । यसअघि एपिएफबिरुद्धको खेलमा पनि चौहानले ५७ रनको अर्धशतकीय पारी खेलेका थिए ।

३ सय ११ रनको लक्ष्य पछ्याएको प्रदेश एक ३५ ओभरमा १८१ रनमै समेटियो। उसका लागि ओपनर सन्दीप ढुंगानाले ७१ रनको अर्धशतकीय योगदान दिए पनि अन्य ब्याट्सम्यानले उनलाई साथ दिएनन् । प्रदेश १ का लागि मिनास थापाले १९, राजन मगरले १०, फिर्दोस अन्सारीले १३ तथा श्रवण यादवले अविजित १९ रन बनाए ।

बलिङतर्फ प्रदेश ४ का हरिबहादुर चौहानले ४ तथा विपिन खत्री र राजु गुरुङले २–२ विकेट लिए। हरिले प्रदेश १ का अन्तिम तीन ब्याट्सम्यानलाई पेविलियनको बाटो देखाएका थिए । ३४.४ ओभरमा फिर्दोस अन्सारीलाई क्याचआउट गराएका उनले ३४.५ ओभरमा मनोज तामाङलाई एलबीडब्ल्यू धरापमा पारे । ओभरको अन्तिम बलमा उनले प्रदेश १ का अन्तिम ब्याट्सम्यान अभ्यास तिमल्सिनालाई बोल्ड गर्दै ह्याट्रिक पूरा गरे। अलराउण्ड प्रदर्शन गरेका चौहान खेलको म्यान अफ द म्याच चुनिए ।

Comments

comments