आलोचकलार्इ उद्घाटनमा लगेर यही वर्ष नेपाली पानीजहाज चलाएर देखाउछु-प्रधानमन्त्री ओली

79

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले पानी जहाजको कुरा त्यत्तिकै नआएको दोहोर्याएका छन् । उनले यसै वर्ष नेपाली पानी जहाज चलाउने र सोको उद्घाटन कार्यक्रममा अहिलेका आफ्ना आलोचकलार्इ समेत सँगै लैजाने दाबी गरेका छन् ।

सरकारले युगान्तकारी परिवर्तन गर्ने कुरा बजेटमा ल्याएको दाबी गर्दै नेकपाका अध्यक्ष समेत रहेका ओलीले रेलमार्ग र जलमार्गलाई हल्का रूपमा नलिन आग्रह गरे । उनले भने, ‘हाम्रो आफ्नै पानीजहाज उद्घाटनमा आलोचकलाई पनि सँगै लानेछु ।’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को बुधबार बसेको बैठकमा सम्बोधन गर्दै प्रम ओलीले भने, ‘जलमार्ग र रेलमार्गका कुरा गर्दा कसैकसैलाई सह्य भएको छैन, हेर्दै जाऔँ यसै वर्ष बंगालको खाडीबाट नेपाली पानीजहाज सञ्चालन भए अनौठो मान्नुपर्दैन ।’

कोलकाता बन्दरगाहबाट चाँडै मालसामान ओसारपसारका लागि पानीजहाज चल्ने उनले बताए । आफूले रेलमार्ग र जलमार्गको कुरा गर्दा केही मान्छेमा ‘यो काम गर्न सकिन्छ भन्ने कुराको आत्मविश्वास नै नहुने’ भन्दै ओलीले असन्तुष्टि जनाए ।

बजेटबारेका असन्तुष्टिप्रति असन्तुष्टि जनाउँदै उनले भने, ‘यो बजेट हावादारी हो भन्ने पनि सुनियो, तर बजेटलाई हावादारी भन्नु सबैभन्दा हावादारी कुरो हो ।’ विकासमा पछि परेको समुदाय, क्षेत्रको युगान्तकारी परिवर्तन गर्ने विषय बजेटमा आएको उनको दाबी छ ।

उनले रेल र जलका कुरा पटकपटक उठाए । पूर्व–पश्चिम, उत्तर–दक्षिण, वीरगन्ज–काठमाडौं रेल बनाउने कुरालाई सामान्य अर्थमा लिन नहुने बताउँदै प्रम ओलीले भने, ‘रेल बनाउने कुरा एउटा मान्छे ट्रेकिङमा हिँडेको जस्तो होइन । हामी अहिले नेपाल बनाउने अभियानमा छौं ।’ काम गरेर देखाउने उनले प्रतिबद्धता समेत गरे ।

Comments

comments