विपक्षले चिन्ता नलिनुस्,वृद्धभत्ताको आर्किटेक्ट म हुँ-अर्थमन्त्री

154

इन्द्रेणी न्युज, काठमाडौं। अर्थमन्त्री डा.युवराज खतिवडाले वृद्धभत्तालगायत सामाजिक सुरक्षाको स्वामित्व नेपाल कम्युनिस्ट पार्टीको भएकाले यसलाई आफूहरुले बिर्सनै नसक्ने बताए। ०५१ सालमा सुरु भएको वृद्धभत्ता आर्किटेक्ट आफू भएको भन्दै विपक्षीले उक्साउन जरुरी नरहेको जवाफ दिएका छन् ।

बजेटमाथि राष्ट्रियसभामा उठेको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सामाजिक सुरक्षा भत्ता ०५१ सालमा एमालेले शुरुवात गरेको स्मरण गराउदै उनले भने, ‘अकस्मात चिन्ता भयो प्रतिपक्षका माननीयज्यूहरुलाई । यसका लागि म धन्यवाद पनि दिन्छु । तर, २०५१ सालमा मनमोहन अधिकारीको प्रधानमन्त्रीत्व कालको पहिलो बजेट बनाउदै थियौं । संयोगले म त्यसको एउटा आर्किटेक्ट पनि हुँ । त्यो हाम्रो स्वमित्वको विषय हो, त्यसलाई बिर्सने कुरै आउँदैन ।’

सामाजिक सुरक्षाको स्वरुप दायरा भएको र सबैभन्दा प्रभावकारी हुने भएर नै सरकारले ७० वर्ष उमेर पुगेकालाई स्वास्थ्य विमा र आवासको योजना अघि सारेको उनले बताए । उनले भने, ‘अब नगदै दिने कुरामा पर्खनुस्, हेर्दै जानुस् । हामीले बिर्सिएका छैनौं र क्षमता विकास गरेर त्यसलाई पनि सम्बोधन गर्छौं ।’

कसैले वायुपंखी भन्दैमा उक्साहटमा नलाग्ने र कछुवा जस्तो ढिलो पनि नहिड्ने उनले प्रष्ट पारे । ‘यो बजेट वायुपंखी घोडा पनि होइन । यो बजेट कछुवा पनि होइन’ उनले भने, ‘कसैले वायुपंखी हो भन्दैमा उक्साहटमा हावा दौडिने पनि हामी होइनौं र कछुवाजस्तो ढिलो हिँड्ने पनि हामी होइनौं । हाम्रो आफ्नै गति छ ।’

‘अब नगदै दिने कुरामा पर्खनुस्, हेर्दै जानुस् । हामीले बिर्सिएका छैनौं र क्षमता विकास गरेर त्यसलाई पनि सम्बोधन गर्छौं ।’

८ प्रतिशत आर्थिक वृद्धि, ५ लाखलाई रोजगारी, ३ वर्षमा खानेपानी र सिञ्चाई सुविधाजस्ता योजनालाई कसैले कछुवा गति भने अझ गर्नुपर्छ भन्ने शुभकामनाका रुपमा लिने उनले बताए । अर्थमन्त्री खतिवडाले अघि भने, ‘वायुपंखी भन्ने हो भने यति पनि नगरे हामी अल्पविकसित अवस्थामै रहन्छौं ।’

बजेटको आकारबारे ठूलो भ्रम रहेको उनले बताए । नेपालमा स्थानीय, प्रदेश र संघीय सरकार गरी ७६१ सरकार रहेको भन्दै उनले चालु आर्थिक वर्षको बजेटसँग दाँजेर सानो भन्न नहुने बताए ।

प्रदेश र स्थानीय तहमा गएका अधिकार, राजश्व, बजेटलाई बिर्सिएर बजेटको आकार तुलना गर्नु स्याउ र सुन्तलाको तुलना गरे जस्तै हुने उनले बताए ।

चालु आर्थिक वर्षको बजेट १२ खर्ब ७९ अर्बको भए पनि २ खर्बको स्रोत नभएको र संशोधित अनुमान १० खर्ब ४६ अर्ब रहेको भन्दै उनले भने, ‘यो ४० प्रतिशत ठूलो छ र यसले आर्थिक वृद्धिलाई सघाउ पुर्‍याउँछ भन्ने हाम्रो अनुमान छ ।’

चालु आवको बजेटमा ७३० अर्बको राजश्व लक्ष्यबाट बढाएर अहिले ८३१ अर्बको लक्ष्य राख्दा मात्र १४ प्रतिशतको ? भन्ने तर्क पनि आउन सक्ने उनले अनुमान गरे । करको अधिकार प्रदेश र स्थानीय तहमा पनि गएको भन्दै उनले भने, ‘राजस्वको वृद्धि करिव ३५ प्रतिशत वृद्धि हो । त्यसैले हामी ठूलो फड्को मार्दैछौं । तर, हाम्रो खुट्टा चाहिँ जमिनमा टेकेका छौं, हावामा टेकेका छैनौं ।’

कसैले वायुपंखी हो भन्दैमा उक्साहटमा हावा दौडिने पनि हामी होइनौं र कछुवाजस्तो ढिलो हिँड्ने पनि हामी होइनौं । हाम्रो आफ्नै गति छ ।’

यो लक्ष्य हासिल गर्न कर प्रणालीमा सुधार गर्न खोजिएको तर, भ्याट फिर्ता लिएर मोज गर्नेहरुले विरोध गर्दा निजी क्षेत्रलाई पाखा लगाइयो भन्न नहुने उनले बताए । अर्थमन्त्री खतिवडाले भने, ‘राष्ट्रिय उद्योगलाई संरक्षण दिने नीति पहिलो पटक बजेटले ल्याएको छ ।

उद्योगले आफ्नो नाफालाई पुनःलगानी गरे कर छुट दिन्छौं भनेका छौं । भन्सार अन्तशुल्कका कारण हिजो संरक्षण नपाएका उद्योगलाई संरक्षण दिने भनेका छौं । यो निजी क्षेत्रलाई संरक्षण गर्ने बजेट हो ।’

धेरै पैसा कमाउने व्यक्तिलाई कर लगायो भनेर निजी क्षेत्रलाई जोड्न जरुरी नरहेको अर्थमन्त्रीले बताए । व्यक्तिगत आम्दानी धेरै गर्नेले बढी कर नतिर्ने हो भने समाजवादतर्फको यात्रा अघि नबढ्ने उनले बताए ।

अर्थमन्त्री खतिवडाले प्रधानमन्त्री कार्यालयका नाममा छुट्याएको बजेटले अधिनायकवाद नआउने प्रष्टीकरण दिए ।

कांग्रेस सांसदहरुले संघीयताको मर्म विपरीत प्रधानमन्त्री कार्यालयमा बजेट धेरै राखेको भन्दै आलोचना गरेका थिए । त्यसतर्फ संकेत गर्दै उनले प्रधानमन्त्री कार्यालयमा डेढ खर्ब जति पुनर्निर्माणकै बजेट रहेको भन्दै अघि भने, ‘भूकम्प पीडितको लागि छुट्याइएको बजेटले अधिनायकवाद आउँदैन ।’

Comments

comments