काँग्रेस सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्छः प्रमुख सचेतक खाँड

96

काठमाडौँ, १९ जेठ- नेपाली काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले काँग्रेसले संसदमा सशक्त प्रतिपक्षको भूमिका निर्वाह गरिरहेको बताउनुभएको छ ।

नेपाली काँग्रेस लमजुङ–काठमाडौँ सम्पर्क समितिको अधिवेशनका क्रममा आज यहाँ आयोजित कार्यक्रममा कम्युनिस्ट एकतालाई अवसरका रुपमा लिएर काँग्रेस अगाडि बढ्नुपर्ने बताउनुभएको हो । “काँग्रेसभित्र संघर्षका दिन शुरु भएका छन्, एक आपसमा दोषारोपण गर्नुभन्दा पनि संगठन निर्माणमा लाग्नुपर्ने बेला आएको छ,”– उहाँले भन्नुभयो ।

उहाँले नेपालको प्रजातान्त्रिक मूल्य मान्यता धरापमा पर्दै गएको भन्दै काँग्रेसलाई बलियो बनाएर अगाडि लैजानुपर्ने बेला आएको बताउनुभयो ।

काँग्रेसका पूर्व केन्द्रीय सदस्य दीलबहादुर घर्तीले कम्युनिस्टले संसदमा दुईतिहाइको बहुमत देखाएर अधिनायकवाद लाद्न खोजेको आरोप लगाउनुभयो । आदर्श र सिद्धान्तमा काँग्रेस कहिल्यै विचलित नहुने भन्दै उहाँले हरेक चुनौतीको सामना गर्न काँग्रेस तयार रहेको स्पष्ट पार्नुभयो ।

काँग्रेस लमजुङका सभापति भेषबहादुर पौडेलले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर अगाडि बढेमात्र काँग्रेसको विजय सुनिश्चित हुने बताउनुभयो । “गल्तीलाई स्वीकार गरेर अगाडि बढेमात्र सफल भइन्छ”,– उहाँले भन्नुभयो ।

पूर्व राज्यमन्त्री रामबहादुर गुरुङले काँग्रेसले निर्वाचन हारेको बेला संसदमा सशक्त रुपमा प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । “काँग्रेस सरकारले ल्याएको नीति तथा कार्यक्रममा समेत बोल्न सकेन,”– उहाँले भन्नुभयो ।

सो अवसरमा नेपाल सांस्कृतिक संघका सभापति तीर्थबहादुर थापा, सम्पर्क समितिका उपाध्यक्ष हरि गुरुङ, पूर्व सहायकमन्त्री रामचन्द्र अधिकारी, लमजुङ पूर्वपार्टी सभापति एवं सांसद चन्द्रबहादुर कुँवर, लमजुङ पूर्वसभापति तुलसीनारायण श्रेष्ठ, काँग्रेस लमजुङका सचिव हरि बराल, महाधिवेशन प्रतिनिधि गर्जबहादुर गुरुङलगायतले लमजुङमा बलियो काँग्रेस निर्माण गर्न गुट उपगुटको अन्त्य गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो ।

विसं २०३८ सालमा स्थापना भएको लमजुङ–काठमाडौँ सम्पर्क समितिले लमजुङमा जन्मेर काठमाडौँलाई कर्मथलो बनाई बस्ने प्रजातन्त्रवादीको साझा थलोका रुपमा विकास गरिँदै लगिएको सम्पर्क समितिका अध्यक्ष डा लक्ष्मीकान्त पौडेलले जानकारी दिनुभयो ।

Comments

comments