काठमाडौँ- नवगठित नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी भित्र वरीयतामा आफूमाथि भएको अन्याय विरुद्ध खुलेरै संघर्ष गर्ने बताएका छन्।
उनले भने,’ पार्टीभित्र वरीयतामा भएको अन्याय विरुद्ध न्याय नपाए सम्म खुलेरै संघर्ष गरी राख्छु।’ उनले थप्दै भने,’ म पार्टीभित्रै न्यायका लागि संघर्ष गर्छु’ नेता खनालको यो भनार्इले पार्टीभित्र एक नयाँ तरङ फैलिएको छ।
स्रोतका अनुसार नेता खनालले पार्टी भित्र मिलाउने कुरा सार्वजनिक रुपमै भाषण गर्दै हिड्नले प्रधानमन्त्री तथा नवगठित नेकपाका अध्यक्ष केपी शर्मा ओलीलार्इ तनावित बनाएको छ। नेता खनालको यस्तो भनार्इले पार्टी भित्रै नेताहरुबीच खैलाबैला मच्चिएको छ।
चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको मार्क्सको २०० वर्षको शतवार्षिकी कार्यक्रममा सहभागी भएर फर्किने क्रममा त्रिभुवन विमानस्थलमा पत्रकारसँग कुरा गर्दै खनालले वरीयतामा आफूलाई तल पारेर अन्याय गरेको गुनासो गरेका हुन्।
‘वरीयतामा भएको अन्यायका विरुद्धमा पार्टीभित्र भिन्न मत राखेको छु, उनले भने, ‘न्याय पाउनका लागि आफ्नो लडाइँलाई जारी राख्छु तर बाहिर भन्ने कुरा म गर्दिनँ।’
उनले पार्टीलाई एकजुट र बलियो बनाउन आफ्नो योगदान रहने पनि बताए।
एमाले र माओवादी एकता घोषणा हुँदा खनाल चीनमा थिए । उनको वरियता त्यसबेला नै खोसिएको थियो । उनी तत्कालीन एमालेमा अध्यक्ष केपी शर्मा ओलीपछिको वरियतामा थिए । तर, नेकपामा अध्यक्षद्वय ओली र प्रचण्डपछिको वरियतामा माधवकुमार नेपाल आएका छन्। खनाल त्यसपछि छन्।