जीवनभरको कमाइ समाजसेवामा

248

बागलुङ/रामबहादुर थापा
लामा सेतै फुलेका दाह्रीजुँगा, बुढ्यौली झल्कने अनुहार, पुराना लुगाले छोपिएको शरीर, ठेला परेका हत्लेका र पैताला, एक जोर पुराना चप्पल देख्दा जीवनको उत्तरार्धमा पुगिसक्नुभएका होमबहादुर क्षेत्री धेरै काम गर्न सक्नुहुन्न तर ६८ वर्षीय क्षेत्रीको लेखाजोखा एकै हेराइमा गर्न खोजियो भने त्यो गलत हुन्छ ।
नौ वर्षमै घरबार त्यागेर फिरन्ते जीवन रोज्नुभएका क्षेत्री हेर्दा सामान्य लागे पनि उहाँ सामाजिक व्यक्तित्वका धनी हुनुहुन्छ ।

काठेखोला गाउँपालिका–३ धम्जामा जन्मनुभएका क्षेत्री हाल जैमिनी नगरपालिका–७ जैदीमा बस्नुहुन्छ । जैदीमा आफ्नै कमाइले बनाएको सानो घर छ, त्यहाँ पनि उहाँ बस्नुहुन्न । उहाँकै बोलीमा धन र जायजेथा जोड्नु ‘गलत कर्म’ हो । क्षेत्री सामाजिक काम गर्नुहुन्छ, गाउँलेको पिरमर्कामा सघाउनुहुन्छ, गाउँलेकैमा खाने र सुत्ने गर्नुुहुन्छ । स्थानीय संस्कृत मावि बेलबगरमा अझै कार्यालय सहयोगी रहनुभएका उहाँ दिनभर विद्यालयको सेवा गर्दै आउनुभएको छ ।

क्षेत्रीले विद्यालयमा काम गर्न थालेको ४१ वर्ष पुगिसकेको छ । अचम्म लाग्दो त के छ भने उहाँले विद्यालयबाट आउने तलब एक रुपैयाँ पनि आफूले राख्नुभएको छैन । “मेरो कमाइजति सबै विद्यालय र संघसंस्थालाई दिएँ”, क्षेत्री भन्नुहुन्छ, “मेरो साथमा एक रुपैयाँ छैन ।” साथमा धन आउनेबित्तिकै अरुलाई दिइहाल्ने उहाँ बताउनुहुन्छ, “धनसम्पत्तिको लोभ गर्दिनँ साथमा भयो कि दिउँदिउँ लाग्छ । ”

कार्यालय सहयोगीका रुपमा आफैँले काम गर्ने संस्कृत माविको पहिलो संस्थापक चन्दादाता क्षेत्री नै हुनुहुन्छ । उहाँले श्रमदानबाहेक विद्यालयलाई रु एक लाख नगद चन्दा दिनुभएको छ । संस्कृत माविसँगै अर्जेवाको जनशिक्षित माविलाई रु ७५ हजार, छिस्तीको वसन्त माविलाई रु २५ हजार, जैदीकै शारदा प्राविलाई रु १५ हजारलगायत गरी गाउँका दर्जनभन्दा बढी विद्यालयलाई क्षेत्रीले चन्दा सहयोग गर्दै आउनुभएको छ ।

जैदी बोरको जनप्रिय युवा क्लब र सयपत्री युवा क्लबलाई हालसम्म रु ७५ हजार सहयोग दिनुभएका उहाँ भन्नुहुन्छ “सबै कुरा मलाई सम्झना छैन, मेरो कमाइजति सबै समाजलाई दिएको छु ।” चन्दा सहयोगको कुनै हिसाब नभए पनि उहाँले हालसम्म रु १४ लाखभन्दा बढी सहयोग गरेको क्षेत्री बताउनुहुन्छ ।

विसं २०३४ मा विद्यालयमा जागिर शुरु गर्दा क्षेत्रीको तलबमात्र रु १५० थियो । पछि उहाँको तलब बढेर रु १६ हजारसम्म पुग्यो । बढेको तलबमा पनि क्षेत्रीलाई कुनै लोभ जागेन बरु सामाजिक कामकै लागि खर्चनुभयो । उमेर हदका कारण तीन वर्षअघि विद्यालयको कार्यालय सहयोगी पदबाट अवकाश पाए पनि उहाँ अहिले पनि विद्यालयको सेवामा हुनुहुन्छ । नियमले जागिरबाट निस्कनु परे पनि सक्ने बेलासम्म विद्यालयको सेवा गर्ने सोचमा क्षेत्री हुनुहुन्छ ।

“अठ्ठाइस वर्षको उमेरमा विद्यालयमा छिरेँ अहिले ६८ वर्ष भयो सेवामै छु”, क्षेत्री भन्नुहुन्छ, “यही विद्यालय र यही गाउँको माया बढी छ ।” क्षेत्रीले जैदी, छिस्ती छिमेकी पर्वत जिल्लाका कर्नास, बाच्छालगायतका गाउँ डुल्दै, काम गर्दै जीवन गुजारी रहनुभएको छ । दिनभर विद्यालयको काम र बिहान बेलुका गाउँलेको काम धन्दा सम्हाल्नु उहाँको दैनिकी हो । “बिहान ४ बजे उठ्छु, गाउँलेकोमा जे काम पर्छ म गर्छु, त्यही खान्छु हिँड्छु”, उहाँ भन्नुहुन्छ े, “मेरो घर भनेकै सिङ्गो गाउँ हो, समाज हो ।”

जैदीकै बेलबगरमा आफैँले बनाएको घरमा पनि क्षेत्री बस्न रुचाउनुहुन्न । न त घरमा खाना नै बनाउनुहुन्छ । गाउँलेकै काम धन्दा गर्ने र उतै खाने, बस्ने गरेर क्षेत्रीले जीविका चलाउनुभएको छ । उहाँ खेतबारीको कामदेखि घाँसदाउरा सबै गर्न सक्नुहुन्छ । गाउँमा कोही बिरामी परे बोक्नेमा क्षेत्री नै अघि सर्नुहुन्छ । “अहिलेसम्म एक हजारभन्दा बढी बिरामी बोके हुँला”, उहाँ भन्नुहुन्छ, “अरुको सेवा गर्दा आनन्द मिल्छ, जीवनको सार यही हो ।” अहिलेसम्म जटिल बिरामी नपर्नुभएका क्षेत्रीले आफूलाई गाह्रोसाह्रो पर्दा समाज र भगवान्ले हेर्ने तर्क गर्नुहुन्छ ।

एक्ला छोरा रहनुभएका क्षेत्रीले वर्षौंपछि जन्मथलो पुगेर आफ्ना स्व बुबाआमाको किरिया गर्नुभएको थियो । धम्जामा उहाँका आफन्त र इष्टमित्र छन् । विवाह गरेकी श्रीमतीसँग सम्बन्ध बिग्रेपछि क्षेत्री एक्लै बस्दै आउनुभएको हो । विद्यालयबाट अवकाश पाए पनि निवृत्तिभरणको रकम भने क्षेत्रीले पाउन सक्नुभएको छैन । निवृत्तिभरण र सञ्चयकोषको रकम आए सामाजिक काममै खर्चने उहाँको योजना छ । आफूले काम गर्ने संस्कृति मावि क्याम्पस भयो भने रु पाँच लाख चन्दा दिने सोच बनाएको क्षेत्री बताउनुहुन्छ ।

Comments

comments