सिंहदरबार चहार्ने ‘दलाल’हरू जो सुन तस्करीका अभियुक्त छुटाउने खेलमा छन्

69

काठमाडौं- राजनीतिक दलमा एकथरीका ‘दलाल’हरू हुन्छन् जो सेटिङको कारोबार गरेर गुजारा चलाउने गर्छन् । शक्तिकेन्द्रको नजिक रहने र तल्लो तहका मानिसँग काम गराउने सर्तमा बिचौलियाको भुमिका खेल्नेहरूको कामै दिनभरी मन्त्रालय धाउने, फाइल हेर्ने र बार्गेनिङ गर्ने हुन्छ ।

यहि प्रवित्तिका धेरै अहिले साढे ३८ क्विन्टल सुन तस्करी काण्डको अभियोगमा पूर्पक्षमा रहेकाहरूलाई छुटाउन सरकारका प्रतिनिधि, अदालत र वकिलसम्मको मध्यस्ततामा व्यस्त रहेका छन् ।

सनम हत्या भवितव्य भएको तस्करीका मुख्य अभियुक्त भनिएका चुडामणी उप्रेतीले बताइसकेका छन् । तर सुन तस्करी हुने गरेको स्वीकार गरेका उनले ठूलो व्यक्तिको पनि संलग्नता रहेको विभिन्न भिडियोमा खुलाइसकेका छन् । नेपालको विमानस्थलमा सेटिङ मिलाएर सुन बाहिर निकाल्ने चुडामणीले प्रहरी अधिकारीमात्र होइन, राजनीतिक दलमा आवद्ध उपल्लो तहसम्म सम्बन्ध राख्नेहरूसँग संगत बढाएका थिए । जसका प्रमाणहरू विस्तारै बाहिर आउन थालेको छ ।

गृहमन्त्री रामबहादुर थापा बादलले यी भुरा माछा समातिएको र ठूला माछाको पनि पहिचान भइसकेको बताएका थिए । तर ठूला माछाको सिधा कनेक्सन सिंहदबारमा विभिन्न मन्त्री, मन्त्रालय र शक्तिकेन्द्रका दुई पिल्लर बालुवाटार र खुमलटारसम्म रहेको छ ।

‘अभियुक्तको तर्फबाट मुद्दा लड्ने वकिलहरूको पृष्ठभुमी, अभियुक्तका तर्फबाट जवानी बस्ने र सहयोग गर्नेहरूको पृष्ठभुमीले नै को कहाँ सक्रिय छन् भन्ने खुल्छ, हामी प्रमाणको खोजीमा छौं । उनीहरूको प्रत्यक्ष सम्बन्ध सुनसँग जोडिएको प्रमाण भेटिनासाथ गिरफ्तारी हुनेछ’, गृह मन्त्रालयको छानबिन टोलीका एक सदस्यले भने,‘केही दिन बाँकी छ हामीले निगरानी राखेका राजनीतिक दल, नेतासँग सिधा सम्पर्क राख्नेहरू र तस्करसँग सम्बन्ध बनाउनेको निगरानीमा छौं ।’

कतिपय व्यक्ति नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड नजिक भएकाले पनि गृह मन्त्रालयलाई राजनीतिक सम्बन्धलाई स्पष्ट खुलाउन सकस भएको छ । त्यस्ता व्यक्तिलाई बलियो प्रमाणका आधारमा मात्र खुलाउने प्रयास भएको बताइन्छ ।

तस्करीमा संलग्न भएको अभियोगमा जिल्ला अदालत मोरङले पूर्पक्षका लागि थुनामा राखेका प्रहरी, थाई एयर विमान कर्मचारी, विमानस्थलका अन्य कर्मचारी छुटाउनका लागि अदालतदेखि उच्च तहका नेतासम्म सेटिङ भइरहेको स्रोतको दाबी छ ।

मोरङ जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माले दोषी ठहर गर्दै पूर्पक्षका लागि थुनामा पठाएका अभियुक्तलाई उच्च अदालत र सर्वोच्चसम्म पनि सेटिङ मिलाउनका लागि सिंहदरबारमा चलखेल सुरु भएको हो । अदालतको सेटिङ मिलाउने र गोरेसँग प्रत्यक्ष सम्बन्ध रहेका कारण राम तिवारीलाई पक्राउ गरिसकिएको छ । ‘हामी ठोस प्रमाणका आधारहरू खोजीरहेका छौं, जसरी तिवारीलाई पक्राउ गर्न सहज भयो त्यसरी नै अन्यका पनि प्रमाण खोजी भइरहेको छ’, छानबिन समिति स्रोतले भन्यो,‘आशा छ समयावधि रहेसम्म हामी धेरै सफल हुनेछौं ।’

त्यसो त गृहमन्त्री रामबहादुर थापा बादलले जस्तोसुकै कनेक्शन भए पनि यस प्रकरणका दोषीलाई कुनै हालतमा नछाड्नका लागि छानबिन टोलीलाई निर्देशन दिइसकेका छन् । बादलको विश्वासका कारण नै यस मुद्दामा निक्कै गहिरोसँग अध्ययन गरी अनुसन्धानमा यत्तिको सफलता मिलेको बताइएको छ ।

Comments

comments