इन्द्रेणी न्युज, काठमाडौं। असार २९ गतेदेखि सार्वजनिक प्रदर्शनमा आउने चलचित्र ‘वीराङ्गना’को दोस्रो गीत सार्वजनिक गरिएको छ। शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘तिम्रो हाम्रो मायामा’ बोलको गीत सार्वजनिक गरेको हो।
सार्वजनिक गीतमा नायिका शिल्पा पोखरेल र नायक पृथ्वी राज प्रसाईंलाई रोमान्टिक मुडमा देख्न सकिन्छ । दिपक शर्माको संगीत र रघु परियारको शब्द रहेको गीतमा कृष्ण काफ्ले र रेश्मा पुनको स्वर रहेको छ । सुरेन्द्र बसेलको कोरियोग्राफी रहेको गीतलाई रामेश्वर कार्कीले खिचेका हुन् ।
राजबहादुर सानेको लेखन तथा निर्देशन रहेको चलचित्र वीराङ्गना फोर्थ आई मुभिजको ब्यानरमा बाबुराम दास, श्यामबहादुर थापा, रघु परियार, देव तामाङ र बिमला भट्टले निर्माण गरेका हुन् । सुमी चामलिङ राई सह निर्माता रहेका छन् ।
नारी प्रधान एक्शन लभ जनरामा निर्माण गरिएको चलचित्रमा शिल्पा र पृथ्वीका अलावा अनुपविक्रम शाही, प्रज्वल गिरी, प्रिया रिजाल, धिरेन शाक्य, सुशील पोखरेल, कृष्ण शिवाकोटी, ध्रुव कोइराला, अंशु थापा, अमृत सापकोटा लगायतको अभिनय रहेको छ ।