‘सपना हजार’ गीति एल्बम विमोचन

119

काठमाडौँ, २६ जेठ। गीति एल्बम ‘सपना हजार’ विमोचन गरिएको छ । डा केशव शर्माको रचना र सन्तोष श्रेष्ठको संगीतमा निर्माण गरिएको उक्त एल्बममा आधुनिक, गजल र राष्ट्रिय गरी तीनवटा गीत रहेका छन् ।
राप्ति साहित्य परिषद्ले आज आयोजना गरेको कार्यक्रममा वरिष्ठ साहित्यकार तुलसी विवसले एल्बमको विमोचन गर्नुभएको हो ।

विमोचन गर्दै उहाँले एल्बममा भएका गीतले राष्ट्रभावलाई समेटिएको बताउनुभयो । उहाँले गीत–संगीतले नै संस्कृतिको जगेर्ना गर्दै मानिसलाई आनन्द दिलाउने धारणा राख्नुभयो ।

संगीत र साहित्य एक अर्काका परिपूरक रहेकाले दुवै जोगाउन आवश्यक रहेको उहाँको भनाइ छ ।

कार्यक्रममा वरिष्ठ गीतकार डा कृष्णहरि बरालले एल्बममा समेटिएका गीतको भाव स्रोतालाई ऊर्जा दिनेखालको रहेको बताउनुभयो । उहाँले गीतमा एउटा रसमात्र नभएर धेरै रस समेटिएको बताउनुभयो ।

ती गीतहरुमा निशा देशार, शिव परियार, विष्णु नेपाली, इन्द्र बानियाँलगायतले स्वर दिनुभएको छ भने गीतमा नानी थापा, दीपसर्शनजंग थापा, कमल कोइरालालगायतको मोडलिङ रहेको छ ।
गीतकार डा शर्माले मानिसले आफ्नो भविष्यका लागि देख्ने सपनालाई गीतका रुपमा प्रस्तुत गरिएको बताउनुभयो ।

Comments

comments