विश्वकपको अहिलेसम्मको इतिहास र तथ्यांक हेर्नुस् र भन्नुस्, को बन्ला यसपटकको विश्वकपको विजेता ?

415

एजेन्सी। विश्वकप सुरु हुन ४ दिन मात्र बाँकी छ । यसपटकको विश्वकपमा ३२ टिम भिड्दैछन् तर उपाधिका दावेदार भने युरोपियन वा ल्याटिन अमेरिकी देश मात्र छन् । अहिलेसम्म २० विश्वकप भएका छन् । सबै विश्वकप युरोपियन वा ल्याटिन अमेरिकी देशले मात्र जितेका छन् । यी दुईबाहेक अन्य कुनै पनि महादेशका टिमले विश्वकप जित्न सकेका छैनन् । यस वर्षको विश्वकपमा युरोपका १४ र ल्याटिन अमेरिकाका ५ देश सहभागी हुँदैछन् । एशियाका ५, अफ्रिकाका ५ तथा क्यारेबियन ३ टिम विश्वकप खेल्दैछन् ।

विश्वकपको उपाधिको कुरा गर्दा ल्याटिन अमेरिकाभन्दा युरोप अगाडि छ । तर, सन् २००० अगाडि भने यो संख्या बराबरी थियो । त्यतिबेलासम्म दुवै महादेशका टिमले ८–८ पटक उपाधि जितेका थिए । २१ औं शताब्दी सुरु भएपछि भने ल्याटिन अमेरिकामाथि युरोप हावी भएको छ । २१ औं शताब्दीमा भएका ४ खेलमध्ये पहिलो २००२ को उपाधि ब्राजिलले जितेको थियो । त्यसपछि २००६ मा इटली, २०१० मा स्पेन र २०१४ मा जर्मनीले विश्वकप जिते ।

२१ औं शताब्दीका खेलमा ल्याटिन अमेरिकी टिम २ पटक मात्र फाइनल पुगेका छन् । तीमध्ये २००२ को फाइनल ब्राजिलले जितेको थियो भने २०१४ मा अर्जेन्टिनाले हारेको थियो । त्यसबाहेक २००६ मा फ्रान्स, २०१० मा नेदरल्याण्डस फाइनल पुगेका थिए । युरोपको जमिनमा २००६ मा जर्मनीमा विश्वकप खेलिएको थियो । यो खेलमा दक्षिण अमेरिकाका कुनै पनि टिम सेमिफाइनल पनि पुग्न सकेका थिएनन् ।

अहिलेसम्म सबैभन्दा धेरै पटक विश्वकप जितेको रेकर्ड ब्राजिलको नाममा छ । उसले अहिलेसम्म ५ विश्वकप जितेको छ । विश्वकपका कुनै पनि चरणको खेलमा सबैभन्दा धेरै जितको रेकर्ड पनि ब्राजिलकै नाममा छन् । उसले अहिलेसम्म २० विश्वकपका १०४ म्याच खेलेकोमा ७० म्याच जितेको छ । यी सबै खेलमा ब्राजिलले २२१ गोल गरेको छ । जर्मनीले १८ विश्वकपका १०६ म्याचमा ६६ खेल जितेको छ । विश्वकपमा सबैभन्दा धेरै गोलको रेकर्ड जर्मनीकै नाममा छ । उसले विश्वकपमा २२४ गोल गरेको छ । अहिलेसम्म विश्वकपका १०० भन्दा धेरै म्याच खेल्ने टिम यी दुई मात्र हुन् ।

ल्याटिन अमेरिकाका लियोनेल मेस्सी र नेयमार फुटबलका ठूला स्टार हुन् तर पछिल्ला ४ विश्वकपमा भने ल्याटिन अमेरिकाको रेकर्ड राम्रो छैन । ४ मध्ये २००२ को एउटा मात्र विश्वकप ब्राजिलले जितेको छ । बाँकी सबै युरोपियन देशले जितेका छन् । यतिमात्र होइन युरोपियन देशमा अहिलेसम्म १० विश्वकप आयोजना भएका छन् । तीमध्ये ९ विश्वकप युरोपकै टिमले जितेको छ । ६० वर्ष पहिले १९५८ मा स्वेडेनमा ब्राजिलले विश्वकप जितेको थियो । ल्याटिन अमेरिकी देशले युरोपको जमिनमा विश्वकप जितेको यो एकमात्र अवसर हो । अहिलेको विश्वकप समेत युरोपमा हुने भएकोले युरोपेली देशलाई दावेदार मानिएको छ ।

धेरैजसो ल्याटिन अमेरिकी खेलाडी युरोपबाट खेल्ने भएकोले पनि फुटबलमा युरोपको दबदबा बढी छ । लियोनेल मेस्सी, लुइस सुआरेज, मार्सेलो, नेयमार, हिगुअन, डिमारियाजस्ता स्टार ल्याटिन अमेरिकी खेलाडी युरोपका क्लवबाट खेल्छन् । यही कारण युरोपका टिमलाई उनीहरुको खेल्ने शैली थाहा छ र उनीहरुलाई कसरी रोक्नुपर्छ भन्ने पनि थाहा छ । ल्याटिन अमेरिकी टिम एक वा २ स्टार खेलाडीमा निर्भर छन् । यसको बलियो उदाहरण २०१४ मा नेयमार घाइते हुँदा ब्राजिलले आफ्नै जमिनमा जर्मनीबाट ७ गोल खाएको थियो । यस्तै अर्जेन्टिना मेस्सी, उरुग्वे सुआरेजजस्ता खेलाडीमा निर्भर छ । युरोपका बलिया टिम जर्मनी, फ्रान्स, स्पेनको कुरा गर्ने हो भने उनीहरुको टिमको सन्तुलन नै जीतको आधार हो ।

युरोपका खेलका क्षेत्रमा अनुसन्धान धेरै हुन्छन् । यही अनुपातमा युरोपमा खेलाडीको तथ्यांक उनीहरुको खानपान स्वास्थ्य उपचारका क्षेत्रमा ठूलो लगानी छ । युरोपमा जत्तिको लगानी ल्याटिन अमेरिकामा छैन । यही कारण पनि युरोप दक्षिण अमेरिकालाई उछिन्दै अगाडि बढिरहेको छ । पहिले ल्याटिन अमेरिकी देशको आक्रामक खेलले उनीहरुलाई जित्न सहज हुन्थ्यो । तर अहिले भने युरोपियन टिमको रक्षापंक्ति निकै बलियो भएको छ जसका कारण पहिलेजस्तो आक्रामक खेल्दैमा उनीहरुलाई हराउन सजिलो छैन । ल्याटिन अमेरिकी टिमको ‘एट्याक’को रणनीति फितलो हुन थालेपछि अहिले उनीहरु पनि ‘डिफेन्सिभ’ हुन थालेका छन् ।

Comments

comments