काठमाडौं, २८ जेठ- प्रमुख विपक्षी दल नेपाली कांग्रेसले संविधानको व्यवस्थाअनुसार नेपाल कम्युनिस्ट पार्टीले सभामुख वा उपसभामुखमध्ये एक पद छाड्नुपर्ने दाबी दोहोर्याएको छ ।
कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पदभन्दा पनि कांग्रेस संविधान कार्यान्वयनको पक्षमा रहेको बताएका छन् । उनले भने, ‘कांग्रेसलाई पद चाहिएको होइन । संविधानको व्यवस्थाअनुसार काम होस् भन्ने चाहन्छ ।’ पौडेलले कांग्रेस यो अडानबाट कुनै पनि हालतमा पछाडि नहट्ने चेतावनी दिए ।
नेपाली रेडियो नेटवर्कमा सोमबार बिहान कुरा गर्दै वरिष्ठ नेता पौडेलले सभामुख वा उपसभामुख पद संविधानमा भएको व्यवस्थाअनुसार नेकपाले एक पद छाड्नुपर्ने बताए ।
‘संसदमा कांग्रेस बहुमत छैन’, उनले भने, ‘बहुमत छैन भन्दैमा संवैधानिक व्यवस्थालाई नेकपाले उल्लंघन गर्न पाइँदैन । बरु कांग्रेसले नपाए पनि केही छैन । अर्को फरक दलले पाउनुपर्छ ।’
संविधानमा एउटै दलको व्यक्ति सभामुख र उपसभामुख हुने व्यवस्था नरहेको बताएका कांग्रेस नेता पौडेलले संघीय संसद र प्रदेश संसदमा त्यही व्यवस्था लागू हुने बताए ।
सभामुखमा तत्कालीन माओवादीका नेता कृष्णबहादुर महरा र उपसभामुखमा माओवादी तथा राष्ट्रिय सभामा एमालेबाट अध्यक्ष र उपाध्यक्षमा माओवादीका तर्फबाट रहेका छन् ।
तत्कालीन एमाले र माओवादी केन्द्र मिलेर नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दल बनेपछि कांग्रेसले सभामुख र उपसभामुखमध्ये एक पदमा दावी पेश गर्दै आएको छ ।
यद्यपि, नेकपाले सभामुख र उपसभामुख स्वतन्त्र व्यक्ति भएका कारण कुनैपनि पद नछाड्ने अडान राख्दै आएको छ ।
कांग्रेसले अडान झन् बलियो बनाउँदै लगेपछि नेकपाले पनि सो विषयमा प्रमुख नेताहरूसँग आन्तरिक रुपमा परामर्श गर्दै आएको छ ।