प्रधानमन्त्री कप क्रिकेटको उपाधि एपीएफलाई

96

काठमाडौँ। राजधानीमा सोमबार सम्पन्न प्रदेशस्तरीय प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटको उपाधि विभागीय टोली सशस्त्र प्रहरी बलको एपीएफले जित्न सफल भएको छ ।

उपाधि जित्ने क्रममा एपीएफले फाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ६ विकेटले पराजित गर्न सफल भयो । कीर्तिपुर क्रिकेट मैदानमा २१० रनको लक्ष्य पछ्याएको एपीएफलाई उपाधि दिलाउने क्रममा ओपनर अनिलकुमार शाहले ६३ रनको योगदान दिए ।

अर्का ओपनर ओपनर सुबास खकुरेल १२ रनको अवस्थामा घाइते भएर रिटायर्ड हट भएपछि क्रिजमा आएका प्रदीप ऐरीले पनि समान ६३ रनको गतिलो पारी खेले । प्रदीप र अनिलकुमारले जितको आधार खडा गर्दै पहिलो विकेटका लागि ११९ रनको साझेदारी गरे। शाहले ७२ बलमा ४ चौका र ३ छक्का र ऐरीले ९९ बलमा २ चौका र ३ छक्का हानेका थिए ।

एपीएफलाई मजबुत अवस्थामा पुर्‍याएलगत्तै एक ओभरबीचमा दुवै ब्याट्सम्यान आउट भएपछि आएका पृथु बास्कोटा र रोहितकुमार पौडेलले टिमको पारी सम्हाल्ने कोशिशसहित २९ रनको साझेदारी गरे।

पौडेल १५ रनको अवस्थामा तेस्रो विकेटको रुपमा पेभेलियन फर्किने क्रममा बिनोद भण्डारीबाट क्याच आउट भए । चौथो विकेटका रुपमा पृथु बास्कोटा सोमपाल कामीको तेस्रो सिकार बने । उनले ३२ रनमा बिनोद भण्डारीलाई क्याच दिए ।

त्यसपछि अन्तिम क्रमका सुबास खकुरेलले अविजित रहँदै १४ र करण केसीले पनि अविजित रहँदै २१ रनको योगदान दिए ।

कीर्तिपुर मैदानमा यसअघि टस जित्दै पहिले ब्याटिङमा उत्रेको त्रिभुवन आर्मी क्लबले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउँदै २०९ रन बनाएको थियो । आर्मीका लागि भिम सार्कीले आफ्नो गतिलो प्रदर्शनलाई कायम राख्दै ४५ रनको पारी खेले। ४८ बलको सामना गरेका उनले २ चौका र २ छक्का पनि हाने । सार्कीले पाचौँ विकेटका लागि २७ रन बनाएका राजेश पुलामी मगरसँग मिलेर ६८ रनको साझेदारी गरे

पुलामी र सार्की आउट भएपछि आएका सोमपाल कामी र बिनोद भण्डारीले सातौँ विकेटका लागि ३९ बलमा गतिलो ६७ रनको साझेदारी गरे। कामीले ३६ रन बनाए । उनले त्यसक्रममा ३३ बलको सामना गर्दै एक चौका र दुई छक्का पनि हाने । भण्डारीले ३५ रन बनाउने क्रममा २५ बलको सामना गर्दै ४ चौका र १ छक्का हाने ।

एपीएफको तर्फबाट कसिलो बलिङ गर्दै करण केसीले ३ विकेट लिए । उनले १० ओभर बलिङ गर्दै ३८ रन खर्चिए । भुवन कार्कीले २ विकेट लिए । उनले २४ रन खर्चिए । सबैभन्दा महंगो साबित बसन्त रेग्मीले समान २ विकेट लिँदै ६५ रन दिए ।

Comments

comments