जनताको साक्षी बन्न र सत्य स्थापित गर्न पत्रकारिता गर्नुपर्नेमा जोड

55

जनकपुरधाम, २९ जेठ। आमजनताको साक्षी र सत्य स्थापित हुनेगरी पत्रकारिता गर्नु आजको आवश्यकता भएकामा जोड दिइएको छ। जनकपुरधामबाट प्रकाशित हुने ‘दूधमती साप्तहिक’को तेस्रो वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सहभागी वक्ताहरूले सो धारणा व्यक्त गर्दै पत्रकारिता समाजलाई रूपान्तरण गर्नेतर्फ अग्रसर हुनु जरूरी भएको बताए ।

पत्रकारिताले मातृभाषा, संस्कृति, सभ्यता, देश, काल र परिस्थितिको यथार्थ स्वरूप जनसमक्ष उजागर गर्नुपर्नेमा पनि उनीहरूको जोड थियो । प्रदेश नं २ का आर्थिक मामिला तथा योजना मन्त्री विजय यादवले लोकतन्त्रलाई संस्थागत गर्ने र जनतालाई सोको अनुभूति गराउने यात्रामा पत्रकारिताले गहन भूमिका निर्वाह गरेको बताउनुभयो ।

संविधानप्रति रहेको असन्तुष्टिको सम्बोधन र संशोधनको अभियानमा पत्रकारको सकारात्मक पहलको आवश्यकता भएको पनि उहाँले उल्लेख गर्नुभयो । प्रदेशसभा सदस्य रामअशीष यादवले पत्रकारिता र पत्रकारको यात्रा संघर्षमय हुने चर्चा गर्दै मातृभाषाको संरक्षण गर्नुपनि अपरिहार्य भएको बताउनुभयो ।

अर्का प्रदेशसभा सदस्य रामचन्द्र मण्डलले पत्रकारिता समाज रूपान्तरण गर्ने सबैभन्दा ठूलो हतियार हो भन्नुभयो । प्राध्यापक डा भोगेन्द्र झाले कलम सत्य र स्वतन्त्रताको पक्षमा भएमा समाजको वास्तविकता प्रष्ट हुने उल्लेख गर्नुभयो । साहित्यकार रोशन जनकपुरीले बहुभाषिक नीति र जनमुखी पत्रकारिता आजको आवश्यकता हो भन्नुभयो । युनियन प्रेसका सञ्चालक प्रमोद चौधरीलाई दूधमती व्यवसायी सम्मान र पत्रकार बटुकनाथ झालाई दूधमती पत्रकारिता सम्मान प्रदान गरिको थियो ।

Comments

comments