अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको सन्यास लिने संकेत ?

737

एजेन्सी। विश्वकपको मुखैमा अर्जेन्टिनाका कप्तान तथा विश्वस्तरीय स्टार फुटबलर लियोनेल मेस्सीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने संकेत गरेका छन् । उनले रुसमा हुने विश्वकपमा आफ्नो र टिमको प्रदर्शनको आधारमा आफ्नो अन्तर्राष्ट्रिय करिअर निर्धारण हुने भताएका छन् ।

स्पेनको दैनिक पत्रिका ‘स्पोर्ट’लाई दिएको अन्तरवार्तामा मेस्सीले भनेका छन् ‘मेरो अन्तर्राष्ट्रिय करिअर यो कुरामा निर्भर गर्छ कि हामी विश्वकपमा कति अगाडिसम्म जान्छौं र अहामीले यो प्रतियोगिता कसरी अन्त्य गर्छौं ।’

यसअघि २०१४ मा भएको विश्वकपको फाइनलमा पराजित भएपछि लगत्तै अर्को वर्ष २०१५ मा भएको कोपा अमेरिकाको फाइनल र २०१६ को कोपा अमेरिकाको फाइनलमा एउटै टिम चिलीसँग अर्जेन्टिना पराजित भएका कारण मेस्सीले अन्तर्राष्ट्रिय करिअरबाट सन्यासको घोषणा गरिसकेका थिए । तर, अन्तर्राष्ट्रिय फ्यान र आफ्ना अग्रजहरुको आग्रहमा उनले सन्यास लिने घोषणा फिर्ता लिएका थिए ।

मेस्सीको भनाइअनुसार अहिलेको विश्वकपमा अर्जेन्टिनाको प्रदर्शन सन्तोषजनक हुन नसकेमा उनले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने निश्चित छ । तर यदि टिमको प्रदर्शन सन्तोषजनक रहेमा भने उनले सन्यास नलिन पनि सक्छन् । मेस्सी अहिले मात्रै ३१ वर्षका छन् र उनी अर्को विश्वकपसम्म पनि शारीरिक रुपले फिट रहने सम्भावना रहन्छ ।

यसअघि लगातार ३ अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा पुगेर पराजित भएको अर्जेन्टिनाका कप्तानले भने ‘लगातार पराजयका कारण हामीले मिडियाको अगाडि अप्ठ्यारो अवस्थाको सामाना गर्नुपरेको छ ।’ मेस्सीले थपे ‘यी तीन फाइनलसम्म पुग्नु हाम्रा लागि कत्तिको महत्वपूर्ण छ भन्ने विषयमा अर्जेन्टिनाको मिडिया र हामीबीच मतभेद छ ।’

अर्जेन्टिनाले २०१४ को विश्वकप फाइनलमा अतिरिक्त समयमा जर्मनीसँग १–० ले हारेको थियो । त्यसपछि अर्जेन्टिनाले २०१५ र २०१६ मा कोपा अमेरिकामा दुवै पटक चिलिसँग पेनाल्टी शुटआउटमा पराजित हुनुपर्यो ।

विश्वकप चलिरहँदा ३१ वर्षका हुने मेस्सीको जन्मदिन यही महिनाको २४ तारिखका दिन पर्छ । मेस्सी स्पेन, ब्राजिल, जर्मनी, फ्रान्स र बेल्जियमलाई विश्वकपको प्रबल दावेदार दावेदार मान्छन् । अर्जेन्टिनाले यो विश्वकपमा आफ्नो अभियानको सुरुवात यही शनिबार आइसल्याण्डविरुद्ध खेलेर गर्नेछ । यसपछि उसले ग्रुप डी मा क्रोएसिया र नाइजेरियासँग खेल्नुपर्नेछ ।

Comments

comments