२०२६ को विश्वकप आयोजक देशको चुनाव भोलि, यी देश छन् प्रतिस्पर्धामा

3111

एजेन्सी। विश्वकपको २१ औं संस्करण सुरु हुनुभन्दा ठिक अघिल्लो रात २०२६ को विश्वकप आयोजक देशको चुनाव हुँदैछ । बिहीबारदेखि विश्वकपका खेल सुरु हुँदैछन् । त्यसको अघिल्लो रात अर्थात भोलि साँझ २०२६ को विश्वकप आयोजक राष्ट्र चुनिनेछ ।

८ वर्षपछि हुने विश्वकपको आयोजना गर्ने अधिकारको लागि उत्तरी अमेरिका (अमेरिका, मेक्सिको र क्यानडा संयुक्त रुपमा) र मोरक्को प्रतिस्पर्धामा छन् । यी दुईमध्ये कसलाई विश्वकप आयोजना गर्न दिने भन्ने विषयमा फिफाका २०७ सदस्य राष्ट्रले मतदान गर्नेछन् । यसअघि उत्तरी अमेरिकाले ३ पटक विश्वकप आयोजना गरिसकेको छ । अफ्रिकाले भने एक पटक मात्र विश्वकप आयोजना गरेको छ । मोरक्कोले आयोजना गर्ने अधिकार विश्वकपको आतित्य गर्ने पाए दोस्रो अफ्रिकी देश बन्नेछ । यसअघि पहिलोपटक अफ्रिकामा भएको विश्वकप २०१० मा दक्षिण अफ्रिकामा भएको थियो ।

फिफाका अधिकारी कार्लोस कार्डिरोका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको लोकप्रियताका कारण जनमत संग्रहको स्थिति बन्न सक्छ जो कि सही होइन । कार्डिरोले भने ‘हामीलाई विश्वास छ कि यो निर्णय योग्यताको आधारमै लिइनेछ । यो कुनै जमिनको राजनीति होइन । हामीले फुटबलको बारेमा कुरा गर्दैछौं र फुटबलको हितमा नै कुनै निर्णय लिइनेछ ।’

अमेरिकाले विश्वकप २०२२ को विश्वकप आयोजनाको लागि पनि प्रतिस्पर्धा गरेको थियो । यो विश्वकपका लागि अमेरिकासँगै अस्ट्रेलिया, जापान, दक्षिण कोरिया र कतार प्रतिस्पर्धामा थिए । मतदानमा कतारले बहुमत प्राप्त गर्दै आयोजनाको अधिकार पाएको थियो । १४ अंकका साथ कतार पहिलो र ८ अंकका साथ अमेरिका दोस्रो स्थानमा थियो ।

उत्तर अमेरिका महादेशले पहिलोपटक १९७० मा विश्वकप आयोजना गरेको थियो । त्यतिबेला मेक्सिकोले विश्वकप आयोजना गरेको थियो । मेक्सिकोले दोस्रो पटक १९८६ मा र १९९४ मा अमेरिकाले विश्वकप आयोजना गरेका थिए । २०२२ मा कतार विश्वकप आयोजना गर्ने दोस्रो एसियाली आयोजक बन्दैछ । यसअघि एसियामा पहिलो पटक २००२ मा जापान र दक्षिण कोरियामा विश्वकप भएको थियो ।

Comments

comments