नेविसंघद्धारा प्रधानमन्त्रीको पुत्ला दहन, अखिल र क्रान्तिकारीले पनि थाले प्रदर्शन

117

काठमाडौँ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएको छ।

सरकारले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै नेवि संघले काठमाडौँको गोंगबु चोकमा सरकार विरुद्ध प्रदर्शन र नाराबाजी गरेको हो।

गोंगबु चोँकमा ठूलो संख्यामा निस्केका विद्यार्थीहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै मुल्यवृद्धि फिर्ता गर, सुशासन कायम गर, जस्ता नारा लगाएका थिए।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै झण्डा च्यातिदिएपछि विद्यार्थी आक्रोशित भएका थिए।

सरकारले पेट्रोलियम पदार्थमा लगातार गरेको मूल्यवृद्धि गलत भएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघका केन्द्रिय सदस्य शुसिल भट्टले बताएका छन्।

नेवि संघ केन्द्रिय समितीको आयोजना र ग्रामिण आदर्श, एनआर र मनोहर क्याम्पसको समन्वयमा भएको प्रदर्शनमा नेविसंघका महामन्त्री कुन्दन काफ्लेको उपस्थिती रहेको थियो।

केपी ओली नेतृत्वको सरकार बनेपछि चौथो पटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएको छ। यसको विरोधस्वरुप नेविसंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ।

यसैबीच आज काठमाडौँको शान्ति बाटिकामा एक कार्यक्रमको आयोजना गर्दै प्रधानमन्त्रीकै पार्टी नेपाल कम्युनिष्ट पार्टीका भातृ संगठनले पेट्रोलियम पदार्थमा भएको मृल्य वृद्धि फिर्ता लिनुपर्ने भन्दै आन्दोलको घोषणा गरेका छन्।

Comments

comments