तेस्रो ललित स्मृति फुटबल प्रतियोगितामा त्रिभुवन आर्मीको जित

221

काठमाडौँ, ३१ जेठ। राजधानीमा जारी तेस्रो ललित स्मृति १८ वर्षमुनि (यु–१८) को फुटबल प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले लुम्बिनी फुटबल क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको एस्ट्रोटर्फ मैदानमा आज भएको खेलमा आर्मीले लुम्बिनीलाई ४–० गोलअन्तरले पारजित गर्दै प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो ।

साविक विजेता आर्मीले सरस्वती क्लबलाई पनि ४–० गोलअन्तरले पराजित गरेको थियो । आर्मीको जीतमा दिनेश हेन्जनले खेलको २७ औँ मिनेटमा पहिलो गोल गर्दै खाता खोले ।

त्यस्तै सावन लामाले खेलको ४४ औँ मिनेटमा गोल गरे भने रोशन थामसुङले खेलको ७५ औँ तथा दीपेश आलेमगरले खेलको दोस्रो हाफको इन्जुरी समय गोल गरे । जितसँगै आर्मीले ६ अंक जोडेको छ ।

आजै भएको अर्को खेलमा न्यूरोड टिम (एनआरटी)ले सरस्वती युवा क्लबलाई १–० गोलअन्तरले पराजीत गर्दै विजयी भयो । एनआरटीको लागि रुजीत पुडासैनीले खेलको ७५ औँ मिनेटमा गरेको एक गोल नै निर्णायक गोल सावित भयो ।

आगामी असार २१ गतेसम्म चल्ने उक्त प्रतियोगितामा विजेता टोलीले रु तीन लाख तथा उपविजेताले रु एक लाख ५० हजार पुरस्कर पाउनेछन् ।

Comments

comments