‘रेस-३’ प्रदर्शनको बेला सलमान सहित ५ सुपरस्टार विरुद्ध मुद्दा दायर

702

एजेन्सी। बलिउड सुपरस्टार सलमान खान अभिनित रेस-३ यतिबेला प्रदर्शनरत छ। हिजो शुक्रबार बाट प्रदर्शनमा आएको निकै प्रतिक्षित चलचित्र ‘रेस-३’को बेला अभिनेता सलमान खानलाई पुन: एकपटक निकै ठुलो समस्या आइपरेको छ। फिल्म रेस–३ को रिलिजकैबेला सलमानका लागि यो दुःखद् खबर आएको हो ।

अमेरिकामा सलमानसहित ५ बलिउड सुपरस्टारविरुद्ध पैसा नतिरेको भन्दै मुद्दा दर्ता गरिएको छ । सलमानसहित कटरिना कैफ, सोनाक्षी सिन्हा, रणवीर सिंह र प्रभु देवा विरुद्ध ५ वर्ष बितिसक्दासम्म पैसा नतिरेको आरोपमा मुद्दा दर्ता भएको हो ।

अमेरिकाको भाइब्रेन्ट ग्रुपले २०१३ मा यी सुपरस्टारहरुसँग एक कन्सर्टको आयोजना गरेको थियो । तर त्यो कन्सर्ट रद्द भयो । यो कन्सर्टको लागि ५ जना सुपरस्टारलाई अग्रिम भुक्तानी दिइएको थियो । तर कन्सर्ट रद्द भएपछि त्यतिबेला दिइएको एड्भान्स रकम उनीहरुले अहिलेसम्म फिर्ता नगरेको आरोप लगाइएको छ ।

१० जूनका दिन भाइब्रेन्ट ग्रुपले पाँचैजना विरुद्ध मुद्दा दर्ता गरेको छ । यसका अलावा कम्पनीले मेट्रिक्स इण्डिया इन्टरटेनमेन्ट कन्सल्टेन्ट प्रा.लि. र यशराज फिल्मसविरुद्ध पनि मुद्दा दर्ता गराएको छ ।

भाइब्रेन्टले गरेको उजुरीमा उल्लेख भएअनुसार २०१३ मा भारतीय फिल्मको १०० वर्ष पूरा भएको उपलक्ष्यमा एक कन्सर्ट राखिएको थियो । यो कन्सर्ट १ सेप्टेम्बर २०१३ मा हुने तय भएको थियो । यसका लागि सलमान खान, कटरिना कैफ, सोनाक्षी सिन्हा, रणवीर सिंह र प्रभु देवालाई बोलाइएको थियो ।

त्यतिबेला सलमानविरुद्ध राजस्थानमा शिकारको मुद्दा चलिरहेको थियो । अदालतले उनलाई विदेश जान रोक लगाइदिएका कारण शो रद्द गर्नुपरेको थियो ।

ग्रुपले सलमान र अन्य कलाकारलाई एडभान्समा दिइएको पैसा फिर्ता गर्न पटक पटक फोन गर्दा कसैले जवाफ नदिएको बताएको छ । कन्सर्ट रद्द हुँदा कम्पनीलाई १ मिलियन डलर (१० करोड नेपाली रुपैयाँ भन्दा बढी) नोक्सानी भएको कम्पनीले दावी गरेको छ ।

कम्पनीले अर्को मितिमा कन्सर्ट गर्न तयार भएको भए पनि सबै स्टारहरुले समय नदिएको कम्पनीले बताएको छ । यो कन्सर्टको लागि कम्पनीले सलमानलाई २ लाख डलर, कटरिनालाई ४० हजार डलर र सोनाक्षीलाई ३६ हजार डलर दिएको जनाएको छ ।

Comments

comments