ताप्लेजुङमा पहिरोले एक घर पुरियो, छ घर जोखिममा, ग्रामीण क्षेत्रमा त्रास

58

सन्तोष पुर्कुटी/ताप्लेजुङ, २ असार

ताप्लेजुङको सिरिजंघा गाउँपालिका–७ खेवाङमा पहिरोले एक घर पुरिएको छ भने छ घर उच्च जोखिममा परेका छन् ।

गएराति परेकोे अविरल वर्षाका कारण माथिबाट झरेको पहिरोले स्थानीय मानबहादुर लिम्बूको घर पुरिएको हो । प्रहरीका अनुसार रातभरको वर्षापछि आज बिहान ७ बजेको समयमा अचानक झरेको पहिरोले लिम्बूको घर पुरिएको हो ।

घटनामा मानवीय क्षति भने नभएको बताइएको छ । पहिरोले घरसहित घरभित्र रहेका सम्पूर्ण सामग्री पुर्दा रु नौ लाखभन्दा बढीको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय, ताप्लेजुङले जनाएको छ । पहिरोपीडित परिवार भने छिमेकीको शरण लिएर बसेका छन् ।

यस्तै, सोही ठाउँका छवटा घर पहिरोको उच्च जोखिममा रहेको बताइएको छ । स्थानीय चन्द्रबहादुर विक, तारावीर विक, इन्द्रप्रसाद दाहाल, ओमप्रकाश साम्यु, नैनबहादुर ताम्जोम र धनबहादुर गौतमको घर जोखिममा परेको जनसाँस्कृतिक युवा समूह खेवाङले जनाएको हो । दैनिकरुपमा भइरहेको वर्षाका कारण झरेको पहिरोले सडक, बालीनालीलगायतमा क्षति पुगेको छ भने ग्रामीण क्षेत्रमा पहिरोको त्रास बढेको छ ।

यता उत्तर–दक्षिण ओलाङ्चुङ्गोला लोकमार्ग सडकखण्डमा झरेको पहिरोले यातायात नै बन्द छ । उक्त सडकखण्डअन्तर्गत फरुम्बु खोलामा झरेको पहिरोका कारण यातायात अवरुद्ध भएको हो । उक्त सडक हुँदै फक्ताङ्लुङ गाउँपालिकाको तापेथोकलगायतका ठाउँमा यातायात चल्ने गरेको छ ।

यस्तै, सोहीखोलामा निर्माणका क्रममा रहेको मोटरेवल पुलका सामग्रीसमेत शुक्रबार राति आएको बाढीले बगाएको स्थानीय हाङ्नारायण लिम्बूले बताउनुभयो । यता बिहीबार बेलुकी हाङ्देवाको लप्सेखोलामा आएको बाढीले बगाएर बेपत्ता बनेका सनम राईको अवस्था भने अज्ञात छ । उनको खोजी कार्य अझै पनि जारी रहेको प्रहरीले जनाएको छ ।

बर्खा लागेसँगै ग्रामीण क्षेत्रमा पहिरोको त्रास

मध्य बर्खा नहुँदै मुसलधारे वर्षासहित बाढीपहिरो जान थालेपछि यस जिल्लाका ग्रामीण क्षेत्रमा भने त्रास बढेको छ । केही दिनयता निरन्तरजसो भइरहेको वर्षाका कारण विभिन्न क्षेत्रमा बाढी र पहिरो गएपछि स्थानीय त्रासमा परेका हुन् ।

रातको समयमा ठूलो वर्षा हुने गरेको छ । “रातभर वर्षा हुन्छ, भिरालो क्षेत्रमा बस्ने हामीलाई रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ”, ताप्लेजुङका प्रदीप विकले भन्नुभयो । पहिरो झर्ने डरले पहिलेको घरबाट अन्तै सरेका विकलाई भिरालो जग्गा भएकाले नै ठूलो वर्षा हुँदा ढुक्क नभएको हो । यस्तै, घरमा एक्लै बस्दै आएकी सोही ठाउँकै वसुन्धरा भट्टराई पनि ठूलो वर्षा हुन थालेपछि डेरा सरी बस्नु परेको बताउँछिन् ।

यता दुई वर्षअघि ठूलो जनधनको क्षति पुगेका जिल्लाका खोक्लिङ, लिवाङ, लिङ्तेप, खेजेनिमलगायतका क्षेत्रका स्थानीयवासीलाई समेत ढुक्क छैन । पहिरोले विस्थापित भई अन्यत्र सरेपनि वर्षात्को समयमा उनीहरु ढुक्कले सुत्न पाउँदैनन् ।

पहिले गएको पहिरोको झझल्को अझै ताजै रहेको र ती क्षेत्रहरु पहिरोको उच्च जोखिममा परेकाले त्यहाँका स्थानीय हरेक वर्षको बर्खाभर त्रासमा रहने गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार ताप्लेजुङका साविकका २७ वटा गाविसहरु पहिरोको उच्च जोखिममा छन् ।

यस्तै, १३ वटालाई मध्यम र नौवटालाई न्यून जोखिमको क्षेत्रमा समेटिएको छ । यता केही वर्षअघि नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) ले गरेको अध्ययनले पनि ताप्लेजुङ पहिरोको उच्च जोखिममा रहेको देखाएको थियो । उक्त अध्ययनका अनुसार यस क्षेत्रका ८० प्रतिशत नागरिकले सुरक्षित ठाउँ नभएकाले जोखिम हुँदाहुँदै पनि त्यही क्षेत्रमा बस्न बाध्य भएको बताएका थिए भने ९० प्रतिशतले खानेपानी र सिँचाइका लागि पानीको अभाव भएको बताएका थिए ।

आपत्कालीन मनसुन कार्ययोजना

यता मनसुनबाट हुनसक्ने विपद्लाई मध्यनजर गर्दै यसको प्रतिकार्यका लागि पूर्वतयारीस्वरुप २२ बुँदे आपत्कालीन मनसुन कार्ययोजना तयार गरिएको छ । मनसुनको समयमा हुनसक्ने क्षतिको सम्भाव्यता अध्ययन गर्दै यसको रोकथाम र भइहाले तत्काल उद्धार र व्यवस्थापन गर्नका लागि जिल्ला विपद् व्यवस्थापन समितिले उक्त कार्ययोजना तयार गरेको हो ।

विभिन्न संघसंस्था सम्मिलित नौवटा समूहले उक्त कार्ययोजनाअनुसारका कार्य गर्नेगरी व्यवस्था मिलाइएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले जानकारी दिनुभयो । यसका लागि खाद्य तथा पोषण समूह, खानेपानी तथा सरसफाइ, स्वास्थ्य तथा पोषण, संरक्षण, शिक्षा, खोज तथा उद्धार, आवास, गैरखाद्य र सञ्चार समूह नै बनाइएको छ । यो वर्षको मनसुन अवधिभर नै यो कार्ययोजना लागू हुने जनाइएको छ ।

विपद् व्यवस्थापन क्षमता कमजोर

यता जिल्लाको विपद् व्यवस्थापन क्षमता भने कमजोर देखिएको छ । नेपालकै तेस्रो ठूलो यस जिल्लामा विपद् व्यवस्थापन एवं उद्धारका लागि चाहिने सामग्री र जनशक्ति न्यून रहेको देखिएको हो । विपद्मा तत्काल खटाउन सक्ने जनशक्ति २४७ मात्र रहेको छ भने सवारी साधनसमेत न्यून रहेको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताउनुभयो । उहाँका अनुसार २० वटा गाडी, एउटा दमकल, तीनवटा टिपर, एउटा ट्र्याक्टर, सातवटा एम्बुलेन्स, २५ वटा मोटरसाइकल र १० वटा रेडियो सेट रहेका छन् ।

जिल्लाको भूगोल र जोखिमका हिसाबले यी सामग्री ज्यादै न्यून रहेका छन् । यता वाटरप्रुफ ज्याकेट, बाल्टी, स्ट्रेचर, औषधिको आपत्कालीन झोला, हेल्मेटलगायतका सामग्री पनि न्यून रहेको बताइएको छ ।

Comments

comments