स्वेडेनका खेलाडीलाई झुक्याउन दक्षिण कोरियाका खेलाडीको ‘जर्सी साटासाट’

1258

एजेन्सी। विश्वकपको समूह चरणको खेलमा आज एशियाली देश दक्षिण कोरिया र युरोपियन देश स्वेडेनबीच खेल हुँदैछ । आजको खेलको तयारी चलिरहँदा दक्षिण कोरियाका खेलाडीहरुले भने विपक्षी टिमका खेलाडीहरुलाई झुक्याउन निकै रोचक रणनीति अपनाएको खुलेको छ ।

दक्षिण कोरियाका कोच स्वयंले यसको खुलासा गरेका हुन् । उनले दक्षिण कोरियाका खेलाडीहरुले अभ्यास खेलमा गलत नम्बरको जर्सी लगाएर खेलेको खुलाएका हुन् ।

खेलाडीहरुले विपक्षी टिमका खेलाडीलाई अनुहारले सजिलै चिन्न कठिन हुने तर जर्सी नम्बरको आधारमा चिन्न तुलनात्मक रुपमा सहज हुने भएकोले जर्सी नम्बरको आधारमा कुन खेलाडी कस्तो खेल्छन् भन्ने अनुमान गर्छन् ।

अभ्यास खेलको भिडियो हेरेर यति नम्बर जर्सी लगाउने खेलाडीले यस्तो खेल्छ भन्ने अनुमान लगाइ त्यही आधारमा विपक्षी टिमले रणनीति बनाउँछ । तर, अभ्यास खेलमै जर्सी नम्बर साटासाट गरेर खेलेपछि त्यो भिडियो हेरेर रणनीति बनाउने विपक्षी टिम झुक्किन्छ । दक्षिण कोरियाका खेलाडीले अहिले यही रणनीति बनाएका छन् ।

दक्षिण कोरियाका खेलाडीले अभ्यास खेलमा जुन खेलाडीले जति नम्बरको जर्सी लगाएका थिए आजको खेलमा त्यही खेलाडीले त्यही नम्बरको जर्सी लगाउने छैन ।

आजको खेलमा जर्सी नम्बर र खेलाडी फरक फरक हुने भएपछि अभ्यास खेलको भिडियो हेरेर रणनीति बनाएका विपक्षी टिमका खेलाडी पनि झुक्किनेछन् । ‘मैले सुनेको छु पश्चिमी मानिसहरुले एशियनहरुको अनुहार एकै पटकमा चिन्न सक्दैनन्, त्यसैले यो मेरो विपक्षीलाई कन्फ्युज गराउने सानो ट्रिक हो’ कोच शिन टाइ योङले प्रेस कन्फ्रेन्समा भने ।

दुवै टिमको लागि आजको खेल जित्नैपर्नेछ किनकि यी दुवैले समूह चरणका बाँकी दुई खेलमा अझ बलिया प्रतिद्वन्द्वी जर्मनी र मेक्सिकोसँग खेल्नुपर्नेछ । शिनले यो कुरा स्विडिस जासुसीको घटनाप्रति इंगित गर्दै आएको हो ।

अष्ट्रियामा यो महिनाको सुरुमा भएको दक्षिण कोरियाको विश्वकपपूर्वको ट्रेनिङ क्याम्पमा एक स्विडिस कोचिङ स्टाफले दक्षिण कोरियाको खेल अवलोकन गर्ने प्रयास गरेका थिए । उनले दक्षिण कोरियाको ट्रेनिङ क्याम्पनजिकैको घरमा बसेर उच्च क्षमताको टेलिस्कोप र भिडियो क्यामेराले दक्षिण कोरियाको अभ्यास सत्रका खेलहरु रेकर्ड गरेको बताइएको छ । यही कारण दक्षिण कोरियाले जासुसी फेल गराउन नयाँ रणनीति अपनाएको हो ।

Comments

comments