काठमाडाैँ : राप्रपाले प्रधानमन्त्री केपी ओलीको ६ दिने जारी चीन भ्रमणमा कूटनीतिक मर्यादाविपरीत गतिविधि भएको भन्दै भ्रमण विवादस्पद हुने चेतावनी दिएकाे छ।भ्रमणकाे क्रममा अाेलीले गरेकाे गतिविधीप्रति अकुंश लगाउँदै राप्रपाले आपत्ति समेत जनाएको छ ।
शुक्रबार पार्टी कार्यालय धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री विदेश भ्रमणमा गएका बेला देश समृद्ध बनाउने एजेन्डा भन्दा पार्टीगत कार्यक्रममा सहभागी भएको र पार्टी विशेषको विचारको अभिव्यक्ति दिनु कूटनीतिक मर्यादा उल्लंघन भएको निष्कर्ष निकालेको हो।
‘औपचारिक रुपमा सिंगो मुलुकको प्रतिनिधित्व गरी विदेश भ्रमणमा गएका बेला पार्टीगत कार्यक्रममा सहभागिता र पार्टी विशेषको विचारको अभिव्यक्ति कूटनैतिक मर्यादा अनुकूल नभएको राप्रपाको ठहर छ,’ बैठकपछि प्रवक्ता भुवन पाठकले जारी विज्ञप्तिमा उल्लेख छ।
प्रधानमन्त्रीको भ्रमणका क्रममा पारवहन सन्धि हुन नसकेको तथा पेट्रोलियम पदार्थ आपूर्तिको वैकल्पिक व्यवस्थाबारे अपेक्षाअनुरुप पहल नभएकोप्रति पनि राप्रपाले असन्तोष प्रकट गरेको छ। राप्रपा बैठकले यँही असार २८ देखि असोज मसान्तसम्म हिन्दूराष्ट्र पुनर्स्थापना राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्ने निर्णय पनि गरेको विज्ञप्तिमार्फत् जनाएको छ।