विश्वकप फुटबल : दोस्रो चरणमा पुग्ने अर्जेन्टिनाको सम्भावना, पुग्ला त दोश्रो चराणमा ?

664

बीबीसी । विश्वकप अन्तर्गत शुक्रवार रातिको खेलमा नाइजेरियाले आइसल्याण्डलाई २-० गोल अन्तरले पराजित गरेपछि सोही समूहको अर्को सदस्य अर्जेन्टिनाको दोस्रो चरणमा पुग्ने सम्भावना बढेको छ।

भोग्लोगार्ड एरिनामा भएको खेलमा नाइजेरियाका लागि अहमद मुसाले मध्यान्तरपछिको खेलमा दुई गोल हानेका थिए।

मंगलवार नाइजेरिया र अर्जेन्टिनाबीच सेन्टपिटर्सवर्गमा भिडन्त हुँदैछ, जसको परिणामले उक्त समूहबाट कुन देश दोस्रो चरणमा पुग्नेछ भन्ने निर्क्योल गर्न महत्त्वपूर्ण भूमिका खेल्नेछ।

शुक्रवारका अन्य खेलमा स्विट्जरल्याण्डले सर्बियालाई २-१ ले र ब्राजिलले कोष्टारिकालाई २-० अन्तरले पारजित गरेका छन्। नाइजेरियाले पहिलो पटक विश्वकप खेलिरहेको आइसल्याण्डलाई पराजित गर्ने क्रममा खेलका नायक अहमद मुसा रहे।

उनले प्राविधिक रूपमा उत्कृष्ट कौशल देखाउँदै दोस्रो गोल गरेका थिए। अन्तिम समयमा पाएको पेनाल्टीको अवसर आइसल्याण्डले गुमाएको थियो।

उक्त परिणामले समूह चरणबाटै घर फर्कन लागेको भनेर टिप्पणी गरिँदै आएको अर्जेन्टिनालाई प्रतियोगितामा रहिरहने झिनो आशा दिलाएको छ।

समूह चरणको अन्तिम खेलमा नाइजेरियालाई हराए आर्जेन्टिना सुरक्षित रूपमा दोस्रो चरण पुग्न सक्नेछ। तर त्यसका लागि अर्को खेलमा आइसल्याण्ड हाल समूह विजेता रहेको क्रोएसियासँग पराजित हुनुपर्नेछ।

आइसल्याण्ड उक्त खेलमा विजयी भए गोल अन्तरले दोस्रो चरणमा को पुग्नेछ भन्ने निर्धारण गर्नेछ। आर्जेन्टिनालाई हराए नाइजेरिया दोस्रो चरणमा पुग्नेछ।

आइसल्याण्डले क्रोएसियालाई पराजित नगरेको अवस्थामा आर्जेन्टिनासँग बराबरी खेल्दा मात्रै पनि उक्त आफ्रिकी टोलीले विश्वकपको उत्कृष्ट १६ मा आफ्नो स्थान बनाउनेछ।

पहिलो खेलमा क्रोएसियासँग २-० ले हारेको नाइजेरिया शुक्रवारको खेलमा गर या मरको अवस्थामा थियो। खेल हारेको भए आफ्ना अफ्रिकी प्रतिस्पर्धी इजिप्ट र मोरक्को जस्तै ऊ पनि घर फर्कुनपर्ने थियो।

Comments

comments