आलेख: पूर्वाधारका नाममा कुतियाकवरमा बल्ल एउटा झोलुङ्गे

34

शेरबहादुर सिंह, भीमदत्तनगर। केही साताअघि निरन्तर कटान गरेर जोगबुढा नदी बस्ती छेउमै पुगेपछि कञ्चनपुरको महाकाली नगरपालिका–१० कुतियाकवरका बासिन्दा त्रसित बने । नेपाल–भारत सीमासँगै जोडिएको यहाँका बासिन्दा जोगबुढा नदीमा आउने बाढीले मात्रै होइन, वर्षौंदेखि अभाव र सङ्घर्षका बीच सीमाको पहरेदार बनेर बस्दैआएका उनीहरु झोलुङ्गे पुल भत्किएर गन्तव्यविहीन होला कि भन्ने चिन्ताले पनि उतिकै ग्रसित छन् ।

राज्यको कुनै उपस्थिति नै रहेको देख्न नपाइने कुतियाकवरमा दुई वर्षअघि मात्रै झोलुङ्गे पुल बने पछि आफ्नै मुलुकतर्फ आउने बाटो खुलेको हो । झण्डै चार दशकअघि बसेको यस बस्तीमा हाल ३४ परिवारको मात्रै बसोबास छ ।
शिक्षा, स्वास्थ्य, खानेपानी, बिजुली र सुरक्षा जस्ता आधारभूत सुविधा अहिलेसम्म यस वस्तीमा देख्न पाइँदैन । दुई वर्षअघिसम्म जोगबुढा नदीमा डुङ्गाको सहारामा ओहोरदोहोर गर्ने कुतियाकवरवासीलाई अझै पनि भारत गएर अन्न कुटाइ÷पिसाइ गर्नुपर्ने बाध्यता छन् ।

“सरकारले दिएको भनेकै एउटा झोलुङ्गे पुल बाहेक यहाँ राज्यको कुनै लगानी छैन, स्थानीयवासी हस्त सुनार भने – “पुल छेउछाउमा तटबन्ध बनाएको भए अहिले यस्तो समस्या आउने नै थिएन ।” नदी किनारका स–साना रुख र स्याउला हालेर स्थानीयवासीले नदी नियन्त्रणको प्रयास गरेका छन् । केही दिन अघि आएको बाढीले पुलसँगै कुतियाकवरवासीलाई निकै जोखिममा पारिदिएको थियो ।

करीब ४० बिघामा फैलिएको कुतियाकवर बस्ती लामो समयदेखि भारतीय थिचोमिचो सहेर बस्दैआएको सुनारको भनाइ छ । “गहुँ पिस्न पनि भारतकै मिलमा जानुपर्ने बाध्यता अझै छ,” सुनारले रासससँग भने – “मुलुकमा जतिसुकै व्यवस्था परिर्वतन भए पनि हाम्रो बस्तीमा कुनै परिर्वतन आएन ।” दोधारा चाँदनीमा विकासको लहर देख्न पाइए पनि कुतियाकवरमा केही नभएको दुःखेसो उनले पोखे ।

अर्का स्थानीयवासी तिला टमटाले लामो समयदेखि बस्तीमा बिजुली र तटबन्धको माग गर्दै आएको भए पनि कुनै सुनुवाइ नभएको गुनासो गरिन् । “वर्षात्का बेला भेल र कटानको समस्या देखेर सहानुभूति राख्ने त छन् तर, बस्तीको अभाव टार्ने कोही भेटिएनन्,” टमटाले भनिन् – “पहिले महाकाली नदीबाट प्रताडित रह्यौं । अहिले जोगबुढाको त्रासले सताएको छ ।” दलित बाहुल्य यस बस्तीमा सुर्खेत, दैलेख र सल्यानबाट बसाइँ सरिआएका बस्दैआएका छन् ।

भारतीय बजारहरुमा मजदुरी गरेर जीविकोपार्जन गर्ने कुतियाकवरवासीलाई विभिन्न चरणका निर्वाचनहरुमा दलका नेताहरुले थुप्रै आश्वासन दिए तर, गाउँको समृद्धिका लागि कुनै पहल गरेनन् । स्थानीयवासी दानबहादुर थापामगरले भने – “स्थानीय तहको निर्वाचनपछि गाउँमै सिंहदरबार आउँछ भन्थे । हाम्रो बस्तीमा न त सिंहदरबार आयो न त समृद्धि नै ।”

स्थानीय तहमा पनि गाउँमा आधारभूत सुविधा पु¥याइदिन धेरै पटक हारगुहार गर्ने काम भयो तर, सुनुवाइ भएन । उनले भने – “बस्तीमा केही थान सोलार बाहेक अरु केही देख्नुहुन्न तपाईं ।” गरीबीका कारण भारतमा मजदुरी गरी परिवार पाल्नु पर्ने समस्याका कारण गाउँमा युवा नै भेटिँदैन ।

“भारतमा भान्सेको काम गर्दा मै बूढो भइसकें,” कुतियाकवरमै जन्मिएका ४० वर्षीय हस्त सुनारले भने – “यतिका वर्षसम्म गाउँमा विकासको नाममा सडकको सर्वेक्षणसम्म भएन ।” बस्ती भएकै कारण भारतले उक्त क्षेत्रमा अतिक्रमण गर्न नसेकेको उनको दाबी छ । “हामी गरीब भए पनि माटोप्रतिको मायालाई सम्झेर अभावसँग जुझ्दै बसेका छौं,” उनले भने – “बजारमा राष्ट्रियताका नारा घन्काएर केही हुँदैन ।” बस्तीमा रेडक्रस सोसाइटी र निड्क नामक संस्थाले जनचेतना बढाउने विभिन्न कार्यक्रम सञ्चालन गर्दैआएको स्थानीयवासी बताउँछन् ।

गाउँमा लेखपढ गर्ने सामान्य बाल कक्षा सञ्चालन नहुँदा बस्तीका बालबालिकाहरु अध्ययनका लागि टाढा जानुपर्ने बाध्यतामा छन् । “सामान्य लेखपढ सकेर यहाँका युवा मजदुरीमा होमिनु नियति नै हो,” सुनारले भने । प्रथमतः जोगबुढा नदीमाथिको पुल संरक्षणका लागि सरकारले ध्यान देओस् भन्ने उनको आग्रह छ ।

जोगबुढाको कटानले स्थानीयवासीका जमीनसमेत बगाइदिएको छ । कटानको समस्याका कारण कुतियाकवर र सुन्दरनगरका बासिन्दा त्रासमा बाँचिरहेका छन् ।

विसं २०२५ देखि बस्तीमा बस्दैआएका टमटाले नदी कटानकै कारण बस्ती साँघुरिदै गएको अनुभव सुनाए । पहिले करीब अढाई सय परिवारको यहाँ बसोबास थियो । अहिले धेरै नै खुम्चिएको छ । जोगबुढा नदीले कहिले वारि त कहिले पारि कटान गरेर बस्ती नै विस्थापन गर्ने भय सिर्जना गरिदिएको उनले बताए । आधारभूत सुविधाबाट वञ्चित कुतियाकवर गाउँमा अहिलेसम्म दुई जना मात्रै सरकारी सेवामा रहेको स्थानीयवासी बताउँछन् । स्थानीयवासी थापामगरका अनुसार केही वर्ष अघिदेखि दुई जना युवक नेपाली सेनामा कार्यरत रहिआएका छन् ।

“यो समस्याग्रस्त बस्तीबाट दुई जना जागीरमा हुनु पनि ठूलै कुरो हो,” उनले भने – “हाम्रो पनि राज्यमा पहुँच बढाउन मुलुकमा कस्तो खालको व्यवस्था आउनुपर्ने हो र ?”

जोगबुढा नदीमा डुङ्गा मात्रै चल्थ्यो । लामो समयपछि बल्लबल्ल यहाँ एउटा झोलुङ्गे पुल बन्नसक्यो । “पहिले किस्ती नचल्दा बालबालिकाहरुले स्कूल समेत जान नसक्ने अवस्था थियो,” थापामगरले भने – “अहिले बनाएको झोलुङ्गे पुल पनि धेरै दिन नचल्ला कि भन्ने डर छ ।”

महाकाली नपा वडा नं १० का वडाध्यक्ष नरबहादुर सुनारले वडाभर जोगबुढा नदी कटानको समस्या रहेको बताए । तत्काल अस्थायी तटवन्ध बनाउन यस वडाका लागि रु २ लाख बजेट विनियोजन गरिएको छ । वडा कार्यालयले नदी नियन्त्रणका लागि धेरै निकायसँग गुहार मागेको छ ।

उनका अनुसार यहाँको कतियाकवर, वडा नं १८ गाउँ र सुन्दरनगर बस्ती कटानको जोखिममा रहेका छन् । तीन वटै बस्ती भारतसँग जोडिएका छन् । सबैमा कटान सँगसँगै बिजुली र खानेपानीको पनि निकै समस्या छ ।

वडा कार्यालयले सामान्य कल्भर्ट, सडकमा ग्राभेल हाल्ने र सिलाइकटाइ तालीम जस्ता स–साना ३० वटा योजना बनाएर काम गरिरहेको छ ।

जोगबुढा नदीले मात्रै यहाँका दशौं बिघा जमीन बगाइसकेको उनी बताउँछन् । केही वर्षअघि जोगबुढा नदी नियन्त्रणका लागि बनाइएको जैविक तटबन्धसमेत बगाइसकिएको छ ।

अभाव झेलेर सीमावर्ती वडाका नागरिकहरु सीमामा पहरेदारका रुपमा बसिरहेको वडाध्यक्ष सुनार सुनाउँछन् । उनका अनुसार चालु आवमा कुतियाकवरमा सडक र मन्दिर बनाउने योजना रहेको छ ।

वडा नं १८ गाउँमा ८ र सुन्दरनगरमा ११ परिवारको बसोबास रहेको छ । यसका बासिन्दा भारतीय सीमावर्ती बजारहरुबाट दैनिक उपभोग्य सामान खरिद गरेर जीविका गर्छन् भने स्थानीयवासीको रोजगारीको प्रमुख गन्तव्य पनि भारत नै हो ।

Comments

comments