पुराना नाट्यकर्मी पंकजकुमार खलनायकको भूमिका रुचाउँथे

64

राजकुमार पराजुली
काभे्रपलाञ्चोक, १५ असोज।

जाग जाग जाग लौ जाग, देशका हे वीर सन्तति
सबै मिली देश जोगाउन, मरिमेटी गरौँ उन्नति
काँधमा काँध मिलाई छातीमा छाती जोडी
देश निर्माण गर्नलाई बढ्दै जाऊँ सरासरी !

दुई दशकअघि कवितामार्फत सांसद बन्ने चाहना राख्नुभएका काभे्रपलाञ्चोकका पुराना नाट्यकर्मीद्वारा संगृहीत त्रिकोण नामक कविता सङ्ग्रहको ‘जाग जाग जाग, लौ जाग’ कविताको एउटा अंश हो यो । नाट्यकला, गायन, गीत सृजना तथा अभियनमा लामो समय बिताउनुभएका काभे्रपलाञ्चोकको धुलिखेलका साँस्कृतिककर्मी पंकजकुमार चित्रकार राष्ट्रियस्तरमा समेत छवि बनाइसकेका ब्यक्तित्व हुनुहुन्छ ।

विसं २००९ मा नाट्यकला शुरु गर्नुभएका चित्रकारलाई काठमाडौँमा धुलिखेलकै युवाले सघाएका पनि थिए । विशेष गरी शोषणविरुद्ध चेतनामूलक नाटक देखाउने उहाँको त्यतिबेलाको काम थियो । नाटकमा खलनायकको भूमिका उहाँलाई साह्रै मनपथ्र्यो । खलनायकमा गरीबलाई शोषण गर्ने र चर्को स्वरमा संवाद गर्न उहाँको रुची थियो ।
चित्रकारले नाट्यकला छाडेको पनि वर्षौं भैसक्यो । अहिले उहाँको बूढ्यौली जीवनशैली छोराको होटलमा बसिबियाँलो गर्दै पत्रिका पढेर बितिरहेको छ । अडसठ्ठी वसन्त पार गरिसक्नुभएका उहाँ आफ्नो कला र सृजना सम्झेर होटलमा टोलाइरहेको अवस्थामा पनि भेटिनुहुन्छ । । उहाँ नाटक रच्ने, निर्देशन गर्ने अनि, अरुलाई अभिनय गराउँदै आफैं पनि अभिनय गर्ने गर्नुहुन्थ्यो ।

विसं २०१० मा वासुपासाको किसान कथालाई नाटकको रुप दिएपछि चित्रकार धुलिखेलवासीको स्याबासीका पात्र हुनुभयो । विसं २०४२ जेठमा धुलिखेलमै तीन दिन ‘ओइलिएर झरेका फूलहरू’ नामक नाटक प्रदर्शन गरेपछि भने उहाँले नाट्यकला चटक्कै छाड्नुभयो । चोक, डबली र गल्लीमा विकृति, अन्याय–अत्याचार र शोषणविरुद्धका चेतनामूलक नाटक मञ्चन गर्दै ३३ वर्षपछि नाट्यकलाको जीवन समाप्त गर्नुभयो उहाँ आफैंले । उहाँ तत्कालीन कम्युनिष्ट आन्दोलनका अगुवासेमत हुनुहुन्छ ।

नाट्यकलामा राष्ट्रियस्तरमै ख्याति कमाउनुभएका उहाँले आफ्नो कलालाई चटक्कै छाड्नुका कारण भने बताउनुभएन । विसं २००८ मा युगल नृत्य कलामण्डलको स्थापना गरी साँस्कृतिक क्षेत्रको उत्थानमा लाग्दै २०३१ देखि २०५३ सालसम्म हिमाली कला मन्दिरको संस्थापक अध्यक्ष हुनुभयो चित्रकार । कुराकानीका क्रममा उहाँले सम्मानपत्र र पुरस्कारले भरिएका कोठाका भित्ता देखाउँदै भन्नुभयो – “अब त बूढेसकालले झ्याप्पै ढाक्यो । पुराना आफ्ना नाट्यकला र अभिनयहरु मानपटलमा स्मृति बनिरहेछन् ।”

विसं २०३६ मा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानबाट नाटक महोत्सवमा चेतनाको चित्कार नामक नाटकमा सर्वश्रेष्ठ अभिनेताको पुरस्कार थापेपछि उहाँले ठिमी कला परिषद्बाट प्रतिभालगायत थुपै पुरस्कार पनि पाउनुभयो । उहाँले २०१५ सालमा वेदना गीत संग्रह र २०५५ सालमा २६ वटा नेपाली र १२ वटा नेपाल भाषाका कविता समेटेर त्रिकोण कविता संग्रह प्रकाशित गर्नुभयो । संगृहीतबाहेक पत्रपत्रिकामा छापिएका क्रान्तिका गीत र कविता गनेर साध्य छैन उहाँको ।

प्रारम्भिक शिक्षा घरमै लिएर २०३० सालमा स्थानीय नेपाल राष्ट्रिय विद्यापीठबाट प्रवेशिका गर्नुभएका चित्रकारले नाट्यकलासँगै जिल्ला सहकारीमा २०३२ देखि २०५२ सालसम्म जागीरे जीवन पनि बिताउनुभयो । विसं २०१५ मा ग्राम विकास कार्यकर्ता भएपछि उहाँको जागीर २०१७ सालमै तत्कालीन विश्वेश्वर कोइरालाको सरकारले खोसिदियो । मासिक ६० रुपैयाँ पारिश्रमिक आउने उहाँको जागीर थियो । जीवनसङ्गिनी बेतिमाया पनि चित्रकारलाई २०५६ सालमा एक्लै छाडेर स्वर्गे हुनुभयो ।

आफूले लेखेको मात्र नभई अन्य साहित्यकारले लेखेका कथालाई नाटकको रुप दिएर प्रदर्शन गर्नुहुन्थ्यो चित्रकारले । उहाँले शिशिर–वसन्त, नासो, परिबन्द, किसानलगायत कथालाई नाटकको रुप दिनुभएको छ । शिशिर–वसन्तलाई नाटकीय रुप दिन काँटछाँट गरी विदेशीले नेपाल हडप्न गरेको षड्यन्त्रको कथा उनेर नाटकमा प्रदर्शन गरेको उहाँले सुनाउनुभयो । उहाँ भन्नुहुन्छ – “महाभारतको दानवीर, कर्ण, सत्यहरिश्चन्द्रका भूमिका तथा चीरहरणको कथालाई समेत नाटकीय रुप दिएको छु ।”

वरिष्ठ साहित्यकार कृष्णप्रसाद पराजुलीले उहाँलाई ठूलो गुन लगाएको चित्रकार सम्झनुहुन्छ । सुनकोशी साहित्यिक प्रतिष्ठान, हिमाली कला मन्दिर र मौलिक साहित्यिक समाजले गरेको सम्मान कहिल्यै भुल्न नसक्ने उहाँले सुनाउनुभयो । जीवनकालको उत्तरार्धमा आफूलाई ‘डाँडामाथिको घाम’ सम्झने चित्रकारलाई बाँकी जीवन आफ्ना सन्ततिलाई असल बाटोतर्फ जाने पे्ररणा दिएर बिताउने रहर छ ।

Comments

comments