ग्लोबल टी–२०ः सन्दिपको एक विकेट, टोरन्टो ‘प्लेअफ’मा

26

काठमाडौं । क्यानडामा जारी ग्लोबल टी–ट्वान्टी क्रिकेटमा नेपाली बलर सन्दीप लामिछाने आवद्ध टिम टोरन्टो नेसनल्स प्लेअफमा प्रवेश गरेको छ ।बुधबार राति भएको दोस्रो चरणको अन्तिम खेलमा मोन्टरियल टाइगर्सलाई ३५ रनले पराजित गर्दै टोरन्टो प्ले अफमा पुगेको हो ।

सिएए क्रिकेट मैदानमा टोरन्टोले दिएको १९० रनको लक्ष्य पछ्याएको मोन्टरियलले १९ ओभर ३ बलमा अलआउट हुँदै १५४ रन मात्र बनाउन सक्यो ।मोन्टरियलका म्याथ्यु क्रसले सर्वाधिक ३९ रन जोड्दा दिनेश चण्डीमलले ३६ रन बनाए । त्यस्तै केइल कोट्जरले १८ र निखिल दत्तले १२ रन जोड्नु बाहेक मोन्टरियलका अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन् ।

मोन्टरियललाई सस्तैमा रोक्न टोरन्टोका मिचेल मेग्क्लेनघन र कृष ग्रीनले ३–३ विकेट लिए । यस्तै जेरेमी गोर्डोनले २ विकेट लिँदा सन्दीपले ३ ओभरमा २५ रन खर्चेर १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको टोरन्टोले २० ओभरमा ५ विकेट गुमाएर १८९ रन बनाएको थियो । टोरन्टोका लागि रोड्रिगो थोमसले ७० तथा हेन्रीच क्लासेनले ६४ रनको अर्धशतकीय इनिङ्स खेलेका थिए । मोन्टरियलका थिसरा परेराले २ विकेट लिए । जितसँगै टोरन्टो लिगको तेस्रो स्थानमा रहदै प्ले अफ पुगेको हो । टोरन्टोले ६ खेलमा ६ अंक जोड्यो । ६ खेलमा ५ अंक जोडेको मोन्टरियल बाहिरिएको छ ।

अब टोरन्टोले इलिमिनेटरमा अर्का नेपाली खेलाडी सोमपाल कामी रहेको वेनिपेग होक्ससँग खेल्नेछ । होक्स तालिकाको चौंथो स्थानमा रहेर प्ले अफ पुगेको हो । यस्तै पहिलो क्वालिफायरमा भने शीर्ष स्थानमा रहेको ब्रामटन वुल्भ र दोस्रो स्थानको भ्यानकुभर नाइट्सबीच खेल हुनेछ ।

Comments

comments