नेइमार विरुद्ध समर्थकको नाराबाजी, ‘गो अवे–गेट लस्ट’

88

विश्व कीर्तिमानी मूल्यमा दुई वर्षअघि आफूलाई भव्यताका साथ भित्र्याएको क्लब कुनै पनि हालतमा छोड्न चाहेका नेइमारविरुद्ध पिएसजीका समर्थकले नाराबाजी गरेका छन् ।

फ्रेन्च लिग वान फुटबलको नयाँ सिजन अन्तर्गत पेरिस सेन्ट–जर्मेन (पिएसजी) को आइतबार राति भएको निमेससँगको पहिलो खेलको क्रममा घरेलु मैदानमा जम्मा भएका पिएसजी समर्थकले नेइमारविरुद्ध नाराबाजी गरेका हुन् ।

उनीहरुले ‘नेइमार गो अवे’ लेखिएका ब्यानर तथा पोस्टर प्रदर्शन गरेका छन् । पिएसजीका समर्थकहरुले नेइमारलाई क्रस लगाएको पोस्टर पनि प्रदर्शन गरे ।

नेइमारले क्लब छोड्ने सम्भावनाका बिच उनी बिना नै मैदानमा रहेको पिएसजीले निमेसमाथि ३–० को जित दर्ता गरेको छ । उसका लागि एडिन्सन काभानी, केलियन एमबाप्पे र एन्जल डी मारियाले गोल गरे । क्लबका तीन स्टार खेलाडीले गोल गर्दा मैदान बाहिर रहेका नेइमारविरुद्ध नाराबाजी भएको हो । केही समर्थकले ‘गेट लस्ट’ लेखिएको ब्यानर पनि बोकेका थिए ।

खेलअघि पिएसजीका स्पोर्टिङ्ग डाइरेक्टर लियोनार्डोले नेइमारको बहिर्गमन सम्बन्धी वार्ता पहिले भन्दा सघन भएको बताएका छन् । तर प्रशिक्षक थोसम टुसिलले भने फ्रेन्च टेलिभिजन कार्यक्रममा नेइमार आफूहरुसँगै रहेको र उनी आफूहरुका लागि निकै महत्वपूर्ण खेलाडी रहेको बताएका थिए । उनलाई गुमाउएर उनकै स्तरको अर्को खेलाडी पाउन निकै कठिन रहेको उनको भनाई थियो ।

तर खेलको क्रममा समर्थकले गरेको नेइमारविरुद्धको नाराबाजीपछि प्रशिक्षक टुसिलले आफ्नो सहानुभूति समर्थकसँग रहेको बताएका छन् ।

विश्वका सबैभन्दा महंगा फुटबल खेलाडी नेइमार आफ्नो पुरानो क्लब बार्सिलोना फर्किन चाहन्छन्।

तर बार्सिलोनाले एन्टोनी ग्रिजम्यानसहितको स्टार खेलाडी अनुबन्धित गरेकाले उनको सम्भावना कम भएको बताइन्छ । यस्तै नेइमारको नाम बार्सिलोनाको चीरप्रतिद्वन्द्वी रियल मड्रिडसँग पनि जोडिएको छ ।

नेइमार यो सिजनको ट्रान्सफर विण्डको अन्तिम समयसम्ममा पिएसजीबाट बाहिर हुने सम्भावना बलियो देखिएको फुटबल पण्डितले बताएका छन् । उनको यात्रा स्पेनतिर हुने सम्भावना देखिए पनि कुन क्लबमा ढोका खुल्छ यकिन भएको छैन ।

नेइमार विश्व कीर्तिमानी मूल्यमा सन् २०१७ मा बार्सिलोनाबाट पिएसजी आएका हुन् । पिएसजीले अहिले पनि नेइमारका लागि कीर्तिमानी मूल्य चाहेको छ, तर उनमा चासो देखाएका क्लबले पिएसजीले मागे जति रकम तिर्न खोजिरहेका छैनन् ।

नेइमारले पिएसजीका लागि लिग वानमा दुई सिजनमा ३४ गोल गरे । दुवै सिजनमा उनले चोटका कारण धेरै खेल खेल्न पाएका थिएनन् ।

Comments

comments