नेपालमा रोग नै नलागी एकै वर्षमा १७ हजार मानिसकाे मृत्यु भएकाे तथ्यांक सार्वजनिक

24

लण्डन । बेलायत र अमेरिकाका दुईवटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले नेपालमा कुनै पनि रोग नलागी चोटपटकका कारणमात्र एक वर्षमा १६ हजार ८ सय ३१ जना व्यक्तिको मृत्युभएको विवरण सार्वजानिक गरेका छन् ।

बेलायतको ब्रिस्टलस्थित युनिभर्सिटी अफ द वेष्ट अफ इङ्ल्याण्ड र अमेरिकाको वाशिङ्गटन युनिभर्सिटीका अनुसन्धानकर्ताहरूले पहिलोपटक संयुक्तरूपमा प्रकाशन गरेको नेपालमा चोटपटकको रोगभारसम्बन्धी अध्ययनले सन् २०१७ मा सबै खालका चोटपटकको कारण नेपालमा १६,८३१ जनाको मृत्यु भएको उल्लेख छ ।

सो अध्ययनअनुसार, क्षयरोग, औलो र एड्सजस्ता खतरनाक रोगहरुले भन्दा पनि चोटपटक लागेर मर्ने नेपालीहरुको संख्या धेरै छ । चोटपटकबाट मर्नेहरुको सन् १९९० मा भन्दा सन् २०१७ मा ३५ सयले बढी देखिएको छ । विश्वव्यापी रोगभार अध्ययनको तथ्यांक प्रयोग गरिएको उक्त अध्ययनअनुसार नेपालमा एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मृत्यु हुने १५ देखि ४९ वर्षका मानिसहरूको संख्या ३,१०० छ भने सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या ३४ सय अर्थात् ९ प्रतिशतले बढेको अध्ययनको निष्कर्ष छ ।

अध्ययनको सारांशबारेको जिज्ञासामा युनिभर्सिटी अफ द वेष्ट अफ इङ्ल्याण्डका शोधकर्ता डा. पुष्पराज पन्त भन्छन्, “यस अध्ययनमार्फत हामीले पहिलोपटक नेपालमा कसैलाई क्षति पुर्‍याउने कुनै मनशाय नभए पनि हुने घटनाहरू जानीजानी घटाइने घटनाबाट हुने सबै खालका चोटपटकहरूको लेखाजोखा गरेका छौं । यसबाट सबै वर्गका पाठकहरूले चोटपटक वा इन्जरी विषयले के के बुझाउँछ र देशमा यसको रोगभार कस्तो रहेछ भन्ने कुरा थाहा पाइन्छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार चोटपटक भन्नालेशरीरको सहन क्षमताभन्दा धेरै बाह्य ऊर्जाको सम्पर्कले गर्दा मानिसको शरीरमा हुने भौतिक क्षति वा ताप र अक्सिजनजस्ता अत्यावश्यक तत्वको अकस्मात हुने कमीबाट शरीरका अंगहरूमा हुने समस्यालाई बुझिन्छ ।

नेपालमा एचआइभी एड्स, क्षयरोग र औलो रोगबाट मृत्यु हुने १५ देखि ४९ वर्षका मानिसहरूको संख्या ३,१०० छ भने सडक दुर्घटनाबाट मृत्यु हुनेको संख्या ३४ सय अर्थात् ९ प्रतिशतले बढेको अध्ययनको निष्कर्ष छ ।

चोटपटकबाट नेपालमा हुने कुल मृत्युको ४५ प्रतिशत यातायातसम्बन्धी दुर्घटनाबाट, १८ प्रतिशत लडेर १४ प्रतिशत आत्महत्याको कारण हुने गरेको पाइएको छ । तथ्यांकअनुसार एक वर्षमा सबै खालका यातायातसम्बन्धी दुर्घटनाबाट ७,५२४, अन्य अकस्मात् हुने चोटपटकको कारणबाट ६,४६५ र आत्महत्या तथा परस्पर हिंसाका घटनाबाट २,८४२ जनाको मृत्यु हुने गरेको छ । नेपालको एक लाख जनसंख्यामा चोटपटकबाट मृत्यु हुने दर ५६.३१ रहेको छ । पुरूषहरूमा त यो दर ७६ प्रतिशत रहेको छ ।

अध्ययनमा यातायातसम्बन्धी दुर्घटनाको वर्गलाई ६ उपशीर्षकमा वर्गीकरण गरिएको छ । जसअनुसार, सबैभन्दा बढी पैदलयात्री ४८ प्रतिशत, चारपाङ्ग्रे मोटरवाहन प्रयोगकर्ता १८ प्रतिशत, मोटरसाइकल प्रयोगकर्ता १७ प्रतिशत, साइकल प्रयोगकर्ता १० प्रतिशत र अन्य सबै खालका यातायात प्रयोगकर्ताहरू ११ प्रतिशत रहेका छन् ।

तर प्रहरीको तथ्यांकमा नेपालमा २०१७ मा अभिलेख भएका १०,९६५ सडक दुर्घटनामा २,५४१ जनाको मृत्यु र १२,३९१ जना घाइते भएको उल्लेख छ । तुलनात्मकरूपमा यस अध्ययनले नेपालमा उपलव्ध तथ्यांकभन्दा निकै बढी अथवा एक वर्षमा ६,७८७ वा दैनिक १८ जनाको कुनै न कुनै किसिमका यातायात दुर्घटनाबाट मृत्यु हुने देखाएको छ ।

नेपालमा निरन्तर बढिरहेका मोटरवाहनहरू, त्यसमा पनि दुई र तीनपांग्रे मोटरसाइकल मोपेडहरू, पैदलयात्रीका लागि पेटी नभएका र सडकहरूको दयनीय अवस्था, ट्राफिक नियमको फितलो कार्यान्वयन, सडक सुरक्षासम्बन्धी सचेतना र कार्यक्रमहरूको अभाव आदिलाई बढ्दो सडक दुर्घटनाको कारकको रूपमा लिन सकिन्छ ।

त्यसैगरी चालकको ध्यान विचलन गर्ने मोबाइल फोनको प्रयोग, चालकले रक्सी अथवा लागू पदार्थ सेवन गरी सवारी साधन चलाउँदा दुर्घटना हुनसक्ने जोखिमलाई बढाएको अध्ययनको निष्कर्ष छ डा.पन्त भन्छन्, “पक्कै पनि देशको सडक सुरक्षाको अवस्था सुधार गर्नु आजको टड्कारो आवश्यकता हो र सडक सुरक्षाको प्राप्तीका लागि सरकारी नेतृत्वबाट देखिने गरी प्रतिवध्दता पहिलो र मुख्य आवश्यकता हो ।“

त्यसैगरी यस अध्ययनले मनाशायविनाका चोटपटकका घटनाबाट घाइते र मृत्यु गराउने कारणहरूको पनि खोजी गरेको छ । यस वर्गमा हुने मृत्युको सबैभन्दा ठूलो हिस्सा लडेर (४५ प्रतिशत), डुबेर (१५ प्रतिशत), विषालु वा विष नभएका जनावरबाट (७ प्रतिशत), पोलेर (६ प्रतिशत), यान्त्रिक बल (५ प्रतिशत), प्राकृति विपत्ति (२ प्रतिशत) र विषको असरबाट (१ प्रतिशत) र अन्य बाँकी कारणहरूबाट १९ प्रतिशतको मृत्यु हुने पाइएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार लडेर हुने चोटपटक र मृत्युलाई पेशागत संलग्नता, औषधिलगायत रक्सी र लागू पदार्थको सेवन, विरामीपन, दृष्टि र शारिरीक संतुलन विगार्ने खालका स्वास्थ्य समस्यासँग सम्बन्धित गरिएको छ । नेपालमा बढ्दो वृध्दावस्थाको जनसंख्यालाई पनि लडेर हुने चोटपटकसँग दाजेर अनुसन्धान गरिएको छ ।

चोटपटकको तेस्रो समूहमा पर्ने मनशाययुक्त अर्थात जानीजानी हुने वा गराइने हिंसाका घटनाबाट भएका सबै मृत्युमध्ये सबैभन्दा बढी आफैलाई हानी पुर्याउने वा आत्महत्या ८२ प्रतिशत, परस्पर हिंसाजन्य कारणहरू १७ प्रतिशत र बाँकी १ प्रतिशत द्वन्द्वबाट भएको पाइएको छ । विश्वव्यापी रोगभार अध्ययनले तथ्यांक विश्लेषणका विशिष्ट पध्दति (मोडेलिङ) उपयोग गरेको भए पनि, प्रजनन उमेर समूहका महिलाहरूका लागि उपरोक्त तथ्यांक अपूर्ण भएको हुनसक्छ ।

चोटपटकबाट हुने स्वास्थ्य समस्यालाई तत्काल सम्बोधन गर्नु पर्नेतर्फ इंगित गर्दै अध्ययन प्रतिवेदनको नेतृत्वकर्ता डा. पन्त भन्छन्, “सबै खालका चोटपटकबाट भइरहेको क्षतिबाट राज्यको जनधनमा परेको नकारात्मक प्रभावले दीगो विकासका लक्ष्य हासिल गर्ने हाम्रो आकांक्षामा अवरोध गरेको छ । यस समस्यालई जनस्वास्थ्यको प्रमुख चुनौंतीका रूपमा पहिचान गरेर यसको नियन्त्रण तथा रोकथामका लागि प्रष्ट राजनैतिक प्रतिवध्दताको खाँचो रहेको छ ।“

(यो रिपोर्ट बेलायती मेडिकल जर्नल ‘इन्जरी प्रिभेन्सन’ मा हालै प्रकाशित भएको छ )

Comments

comments